कर्णाली राजमार्गमा यात्रुलाई सधैं सास्ती

गाेल्डेन बुढा

जुम्ला,१८ असार।
अहिले पनि कर्णाली राजमार्गमा यात्रुहरूले सास्ती खेप्नुपरेको छ। राजमार्ग साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका वर्षायाममा यात्रुले थप सास्ती खेप्नु परेको हो।कर्णाली राजमार्गमा वर्षा र पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ। तर, राजमार्ग स्तरोन्नति तर्फ राज्य उदासीन देखिएको कर्णालीवासीको गुनासो छ।जुम्लाको चन्दननाथ नगरपालिका-५ अमृत बुढाथोकी मगरले कालोपत्रे गरिएको सडक भए पनि साँघुरो र खाल्डा खुल्डीले गर्दा दुर्घटनाको जोखिम उच्च देखिएको बताए। राज्यले छिट्टै ध्यान दिनुपर्ने उनी बताउँछन्। अमृत मंगलबार बिहान ५ बजे पहिलो गाडीमा सुर्खेतसम्म यात्रा गरेका थिए।

समयमै पुगिन्छ होला भन्ने उनलाई लागेको थियो। तर, उनी राति १० बजे मात्र सुर्खेत पुगे। उनले,भने, सेर घाटबाट अर्को गाडीमा मेल गरेर पुग्यौँ। हिलाम्मे सडकले गाडी पुरै डुब्छ। यात्रुले धकेल्ने र तान्ने गर्नुपर्छ।सामान्यतया एक दिनको यो बाटो पार गर्न वर्षातको बेला सुर्खेत पुग्नै तीन दिन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरूको भनाइ छ । वर्षातमा दैलेख र कालिकोट क्षेत्रका दर्जनौँ स्थानमा सडक अवरुद्ध भई सवारी जाममा पर्छन्।कनकासुन्दरी-३ का धनबहादुर रावतले भने,’कर्णाली राजमार्ग र कर्णाली करिडोरमा यात्रुहरू कष्टपूर्ण यात्रा गर्न बाध्य छौँ। सडक गुणस्तरीय र दिगो रूपमा स्तरोन्नति गर्नुपर्दछ। घरबाट निश्चित रुपैयाँ बोकिन्छ। बाटोमै भोकभोकै रातदिन कटाउनु पर्ने अवस्था आउँछ।’गगने खोला, सेरीघाट, कर्णाली करिडोर सुरु हुने खुलालु जिरो पोइन्ट सडकको अवस्था नाजुक छ। कर्णाली विकासको मेरुदण्डका रुपमा हेरिरहेको कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकको कालोपत्रे वर्ष दिनसम्म पनि टिक्दैन।जुम्ला गुठिचौर गाउँपालिका-४ का विश्वराज खत्रीले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि कसैको ध्यान नपुगेको बताए। ‘हाम्रा नेताहरू यही बाटो हिँड्छन्। तर, सडकको बेहाल देख्दैनन्,’ खत्री सोमबार जुम्ला बिहान ५ बजे सुर्खेतबाट जिपमा हिँडे, राति १० बजे कष्टकर अवस्थामा पुगे।जुम्लाको हिमा गाउँपालिका-३ का गोपाल रोकाया स्याउ किसान हुन्। रोकाया भन्छन्, कर्णाली राजमार्गले यो वर्ष पनि स्याउ बाहिर पठाउन नसकिने चिन्ता छ। झन्डै १० रोपनी जग्गामा स्याउ खेती छ। गत वर्ष सुर्खेत पठाउन लागेको एक ट्रक स्याउ कर्णाली राजमार्ग बन्द हुँदा खेर गयो । यो वर्ष पनि झन्डै १० हजार कार्टुन स्याउ बाहिर पठाउने तयारी छु। स्याउ फलाएर मात्र के गर्ने, बर्सेनि स्याउ बाहिर पठाउने बेला कर्णाली राजमार्ग बन्द हुन्छ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दैलेखको दहीखोलादेखि जुम्ला सदरमुकाम खलङ्गासम्मको १ सय ६८ किलोमिटरमा १५ स्थानमा पहिरोको जोखिम छ । यो वर्ष पनि दहीखोला, गगनेखोला, एसमोड, हुल्म, सेरीघाट, सुनारखोला, गल्ली, मोल्फा, सेराबाडा, टाकुल्ला, भैसींगौडा, टिमुरे, गाल्जे, राँचुली र धनाडामा पहिरोको बढी जोखिम रहेको डिभिजन प्रमुख दीपेन्द्रकुमार चौधरीले बताए ।‘पहिरो पन्छाएर सवारी पठायो, घण्टामै फेरि पहिरो आयो भन्ने खबर आउँछ,’ उनले भने, ‘भिरालो जमिन, कमजोर माटो र सडक निर्माणको क्रममा गरिएको अत्यधिक विस्फोटनले बढी पहिरो जाने गरेको हो।’ बजेट अभावका कारण पहिरो आउने ठाउँमा सामान्य मर्मतबाहेक अन्य संरचना निर्माण गर्न नसकिने उनी बताउँछन्।

यो वर्ष सडक बोर्डबाट निकासा भएको ९० लाख रुपैयाँको आकस्मिक बजेटबाट जोखिमपूर्ण ठाउँमा पर्खाल लगाउने, तार जाली भर्ने, सडक सुधार गर्नेलगायत काम गरिएको उनले जानकारी दिए । सडक डिभिजन कार्यालयका अनुसार गत वर्ष गगनेखोलाले ६० लाख रुपैयाँमा बनेको ग्याबिन बगाएको थियो । अहिले पहिरो पन्छाउनका लागि पिली, हुल्म र गाल्जेमा ह्विललोड र ब्याकहो लोडरलगायतका उपकरण तयारी अवस्थामा राखिएको छ।कर्णाली राजमार्गमा २४ करोड रुपैयाँ बजेटबाट यो वर्ष दहीखोलादेखि खुलालु, सेरीघाटदेखि मान्म, बिहानी खोलादेखि नाग्म, रारालिहीदेखि श्रीढुस्कासम्मको सडक खण्डमा चौडा र कालोपत्रे गर्ने काम पनि भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। २०६३ चैत ३० देखि सञ्चालनमा आएको २ सय ३२ किलोमिटर दुरीको यो राजमार्गमा सडक विभागले विभिन्न १४ वटा पुल निर्माणमा १ अर्ब १३ करोड रुपैयाँ खर्च गरेको छ ।भने ओटासिल प्रविधिको कालोपत्रे र सेफ्टी बारसहित पर्खाल निर्माणका लागि विश्व बैङ्कको करिब २ अर्ब रुपैयाँ खर्च भइसकेको छ।विश्व बैङ्कको सहयोगमा २०७२ सालमा संघीय सरकारको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टमार्फत १ अर्ब रुपैयाँमा राजमार्गमा कालोपत्रे गरिएको थियो।

राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको बसचालकहरु सुनाउँछन्।राजमार्गमा दुर्घटनाको जोखिम पनि उस्तै छ । एक दशकको अवधिमा राजमार्गमा ९ सय १ जनाको दुर्घटनामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले तथ्यांक निकालेको छ । ती दुर्घटनामा १ हजार ५ सय २७ जना घाइते भएका छन्। ३ वर्षको अवधिमा मात्रै यही सडकमा ३ सय १ जनाले ज्यान गुमाएका छन् भने झन्डै ८ सय घाइते भएका छन् । साघुँरो र अप्ठेरो सडक, क्षमताभन्दा बढी यात्रु राखिनु, पुराना गाडी, ट्राफिक नियमको बेवास्तालगायत कारण राजमार्गमा दुर्घटना बढिरहेको प्रहरीको तथ्यांकले देखाउँछ । ‘अत्यधिक गतिका कारण पनि दुर्घटना बढिरहेका छन्, ‘कर्णालीको कठिन भूगोल त्यसैमा पनि जीर्ण सडक हुँदा दुर्घटना रोक्न चुनौती छ ।’ जुम्लाका संघीय सांसदहरले पटकपटक कर्णाली राजमार्गमा पहिरो हटाउने र सडक स्तरोन्नतिको लागि आग्रह गरे पनि सरकार उदासीन देखिन्छ।

‘सरकार कर्णालीका जनप्रतिनिधिलाई जनप्रतिनिधि नै ठान्दैन, कर्णालीका मानिसलाई नागरिक सम्झँदैन,’ सांसद विनिता कठायतले भनिन् , ‘जसको परिणाम हामी बर्सेनि भोगिरहेका छौं।’यस्तै सांसद कठायतले अहिले सरकारकाे नेतृत्व गरेका सांसदहरूले पनि कर्णाली राजमार्गको विषयलाई उठाउन नसकेको आराेप लगाइन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *