चन्दननाथ र जनसेवा पुगे: फाइनलमा

गाेल्डेन बुढा
जुम्ला,१६ कार्तिक ।
जुम्लामा जारी खुला पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि अब आयोजक क्लब चन्दननाथ–३ र जनसेवा यूवा क्लब (बी) आमने–सामने हुने भएका छन्। चन्दननाथ नगरपालिका–३ ले आयोजना गरेको प्रतियोगिताको दुवै सेमिफाइनल खेल शनिबार सम्पन्न भएका हुन्।पहिलो सेमिफाइनलमा चन्दननाथ–३ ले फोईकालिका एफसीलाई ०–१ गोलले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गर्यो। खेलको दोस्रो हाफमा निर्णायक गोल गर्दै चन्दननाथ–३ का जर्सी नम्बर १५ ले टोलीलाई जित दिलाए। खेलभर फोईकालिका एफसीका जर्सी नम्बर ७७ ले उत्कृष्ट प्रदर्शन गरे पनि गोल फर्काउन नसक्दा टोली सेमिफाइनलमै रोकियो।

यस्तै दोस्रो सेमिफाइनलमा जनसेवा यूवा क्लब (बी) ले घोघेसिम एफसी लाई ०–२ गोलले हराउँदै उपाधि यात्रामा अघि बढ्यो। खेल सुरु भएको मात्र दुई मिनेटमै पाएको पेनाल्टीलाई जर्सी नम्बर ७ ले गोलमा परिणत गर्दै जनसेवालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा थप गोल गर्दै जनसेवाले जित पक्का गरेको हो। घोघेसिमले खेलभर बराबरी गर्ने प्रयास गरे पनि गोल फर्काउन सकेन।प्रतियोगितामा जिल्लाभरका ४४ टिमको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।फाइनल खेल आइतबार दिउँसो १२ बजे हुने कार्यक्रम संयोजक राज बहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ,भने उपविजेताले ५० हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछ।स्थानीय युवा र खेलप्रेमीहरूको सहभागिता तथा उत्साहले पछिल्ला वर्षहरूमा जुम्लामा फुटबलप्रतिको आकर्षण झनै बढेको आयोजकको भनाइ छ।






