जुम्लामा आँखा शिविर घर आगनमै आँखा देखिन् अमृताले

गोल्डेन बुढा
जुम्ला ,१५ कार्तिक ।
तीन वर्षअघि आँखामा अन्धकार छायो। लठ्ठीको सहारामा हिँड्न थालिन् श्रीनगर गाउँकी ६१ वर्षीया अमृता रोकाया। बिहान–साँझ घर वरिपरि आफ्नै छायाँ पनि देख्न नसक्ने उनी शनिबार बिहान नयाँ आँखाबाट उज्यालो संसार हेर्दै मुस्कुराइरहेकी थिइन्।“तीन वर्ष अन्धकारमा बिताएँ। आज फेरि उज्यालो देखेँ,” अमृताको आवाज कम्पित थियो, “डाक्टर बाबुहरूको माया र गाउँमै आएको शिविरले मेरो जीवन फर्काइदियो।”नेपाल नेत्र ज्योति संघ, चन्दननाथ आँखा अस्पतालले जुम्लाको सदरमुकाम खलंगामा सञ्चालन गरेको तीन दिने निःशुल्क आँखा शिविरमा शल्यक्रिया गरेपछि अमृताको दृष्टि फर्किएको हो।

गत भदौमा उनले बायाँ आँखाको शल्यक्रिया गरेकी थिइन्, यसपटक दायाँ आँखाको पनि सफल उपचार भयो।त्यो शिविरमा जुम्लाका ६ सय ३४ जनाले आँखा जाँच गराए, भने १ सय २७ जनाले शल्यक्रिया गरे। जुम्लाको तिलाबाट १८ जना, तातोपानीबाट २० जना र पातारासीबाट २१ जना बिरामी उपचारका लागि आएका थिए।शिविर नेपाल नेत्र ज्योति संघ जुम्लाको आयोजनामा, रिडले आई फाउन्डेसन (युके) को आर्थिक सहयोग र हिमालय आँखा अस्पताल, पोखराको प्राविधिक सहयोगमा सकिएको थियो। नेत्र विशेषज्ञ डा. हरिविक्रम अधिकारीको नेतृत्वमा नौ जनाको टोलीले शल्यक्रिया सञ्चालन गरेको नेत्र ज्याेती संघ जुम्लाका आई वर्कर सुपरभाइजर दलबहादुर महताराले जानकारी दिए।यस्तै जुम्लाको तातोपानी गाउँपालिका –६ हियाखोला गाउँकी ८१ वर्षीया हाँसु कामी पनि उपचारपछि उज्यालो फर्किएकामध्ये एक हुन्। “धेरै वर्षदेखि आँखामा धुम्म देखिन्थ्यो। आर्थिक अवस्था कमजोर भएकाले बाहिर उपचार गर्न सकिनँ। अब नजिकै उपचार पाएँ, नातिनातिनी स्याहार्न सजिलो भयो,” उनले हाँसेर भनिन्।

त्यसैगरी, चन्दननाथ नगरपालिका–१ आचार्यबाडा गाउँकी ६९ वर्षीया धनलक्ष्मी खत्रीले दायाँ आँखाको शल्यक्रिया केही वर्षअघि नेपालगन्जमा गर्दा करिब ४० हजार रुपैयाँ खर्च भएको अनुभव सुनाइन्। “त्यो बेला आवतजावत, बसाइ, खानपिन सबै खर्च थियो। अहिले आफ्नै गाउँमा शल्यक्रिया भयो, पाँच रुपैयाँ पनि लागेन। डाक्टरहरूलाई आभारी छु,” उनले भनिन्।नेपाल नेत्र ज्योति संघ जुम्लाका प्रमुख कालीबहादुर रावतका अनुसार, जुम्ला र आसपासका गाउँमा आँखा उपचारका स्थायी सुविधा नहुँदा नागरिक वर्षौँदेखि अन्धकारसँग लड्दै आएका छन्। “यस्ता शिविरले दुर्गम गाउँमा बस्ने विपन्न, अशक्त, र वृद्ध नागरिकलाई ठूलो राहत पुर्याएको छ,” उनले भने।दुर्गम पातारासी गाउँपालिकाका ८६ वर्षीय विर्खबहादुर रावत पनि अब स्पष्ट देख्न पाउँदा अत्यन्त उत्साहित छन्। “अस्पताल जान पैसा थिएन, बाटो टाढा थियो।अब, घरमै आँखा देख्ने भएँ,” उनले खुशी व्यक्त गरे।हाल जुम्लाको कनाकासुन्दरी, सिंजा, हिमा, र पातारासी गाउँपालिकामा आँखा उपचार उपकेन्द्र सञ्चालनमा छन्। तिला र तातोपानी गाउँपालिकामा पनि स्थायी सेवा केन्द्र खोल्ने तयारी भइरहेको महताराले बताए।

तीन दिनको शिविरले जुम्लाका सयौँ घरमा उज्यालो मात्र होइन, आत्मविश्वास पनि फर्काइदिएको छ।अमृताको आँखामा फर्किएको त्यो उज्यालो अब जुम्लाका दुर्गम वन पाखा पँधेरामा पनि फैलँदैछ।उज्यालो देख्ने आँखा मात्र होइन, उज्यालो जीवनको आशा पनि साथमा लिएर।






