हवाई मार्ग भन्दा पैदल मार्गको भाडा महँगो तिर्नु पर्ने बाध्यता


माथिल्लो हुम्लाका स्थानीयवासीहरूले हवाई मार्ग भन्दा पैदल मार्गको भाडा महँगो तिर्नु पर्ने बाध्यता रहेको पाइएको छ । पैदल मार्गबाट यातायात व्यवसायीहरूले मनोमानी भाडा असुल्ने भएको कारण सस्तो पर्नु पर्ने पैदल मार्गको भाडा महँगो गर्ने गरेको हो ।

नेपालगन्ज झर्नु पर्ने लोकसेवा आयोगको परीक्षाको तयारी गरी रहनु भएका परीक्षार्थी दीपक शाहीले छ दिनसम्म हवाई सेवा बन्द हुँदा सिमकोटबाट पैदल मार्ग हुँदै नेपालगन्जसम्म पुग्न हवाई भन्दा पैदल मार्गको भाडा महँगो परेको बताए । उनले सिमकोटबाट नेपालगन्जसम्म पुग्न एघार हजार आठ सय रुपियाँ तिर्नु परेको बताए । यो नेपालगन्जसम्म पुग्नका लागि यातायात खर्च मात्र हो । जब कि सिमकोटबाट नेपालगन्ज हवाई मार्गबाट जान पाएको भए नौ हजार दुई सयमा पुगिन्थ्यो ।

यति मात्र होइन हवाई मार्गबाट जान पाएको भए पैसा बचतका साथै समय पनि बच्थ्यो । उनले पैदल मार्गबाट भाडा पनि बढी र समय पनि धेरै लाग्ने गरेको बताए । उनले सिमकोटबाट नेपालगन्ज पुग्न २८ घण्टा लगाउनु परेको थियो । उनले सिमकोटबाट नेपालगन्ज पुग्न तीन वटा गाडी समेत परिवर्तन गर्नु परेको थियो । उनले जस्तै माथिल्लो हुम्ला ४२ जना यात्रुहरूले यो सामूहिक रूपमा भोगेको समस्या हो । उनले यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने भएको कारण पैदल मार्गका यात्रुहरू मर्काको पर्ने गरेको बताए । उनीसँगै यात्रु गरेका सात वर्षका बालकले पनि तीन हजार पाँच सय रुपियाँ तिर्नु परेको थियो ।

यसरी भाडा महँगो तिर्ने गैरसरकारी संस्थामा काम गर्ने अर्का यात्रु राजन शाहले भाडा बढी मात्र नभएर जिपमा बसाई पनि कष्टकर भएको बताए । उनले तीन जना बस्ने सिटमा पाँच जना बस्नु परेको कारण पनि यात्रा अट्यास लाग्दो रहेको बताए । जिपको अगाडीको सिटमा चार जना यात्रुलाई कोचेर राखिएको थियो ।

सिमकोटबाट सुर्खेतसम्म एउटा जिपले एकतर्फी एकाउन्न हजार रुपियाँसम्म भाडा असुल्ने गरेको पाइएको छ । प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले पैदल मार्गको भाडा चर्को भएको बताउँदै त्यसलाई व्यवस्थित गर्ने प्रयास गरिएको बताए ।

हवाई मार्ग भन्दा पैदल मार्गको भाडा महँगो तिर्नु पर्ने बाध्यता

कुहिएर जान्थ्यो स्याउ, कर्णाली राजमार्ग वरदान भयो