सम्पादकीयः सवारी दुर्घटना नियन्त्रणमा ध्यान देऊ !

२०७९-०८० मा मात्र कर्णालीमा पाँच सय ४६ वटा सवारी दुर्घटनाहरु भए । यि दुर्घटनामा एक सय ३१ जनाको मृत्यु र एक हजार ९० जना घाइते भएको प्रहरीको तथ्यांक छ । दुर्घटनाका कारक तत्वहरु चालकको लापरबाही, अत्यधिक भार, तीव्र गति, कमजोर पूर्वाधार, मापदण्डविपरीतका सवारीसाधन र ट्राफिक लाइट तथा संकेतको अभाव लगायतका पक्षहरु रहेका छन् ।

सवारी दुर्घटना हुने सबैभन्दा ठूलो कारण चालकको लापरबाही तथा कमजोरी देखिन्छ । सवारी हाँक्दै गर्दा मोबाइल चलाउने, आफ्ना नजिकै यात्रु राखेर गफिने, मदिरा सेवन गरेर चलाउने, ठाउँ नभई ओभरटेक गर्नेलगायत चालकका लापरबाही हुन् । यसरी हुने दुर्घटना न्यूनीकरणका लागि चालक स्वयम् नै सचेत हुनुपर्छ । सवारीसाधनमा अत्यधिक भार पनि दुर्घटनाको मुख्य कारण देखिन्छ । बढी कमाउने नाममा क्षमताभन्दा बढी भार बोक्दा सवारीसाधन ‘कण्डिशन’मा चल्न सक्दैन, जसले गर्दा जुनसुकै ठाउँ र समयमा सवारी दुर्घटनामा पर्ने गर्छ । कर्णालीमा हुने गरेका धेरै दुर्घटनामा यो कारण मुख्य पनि हो । यस्तो दुर्घटनामा विशेषगरी बस, ट्रकलगायत साधन बढी पर्ने गरेका छन् । सडक तथा सवारीको क्षमताभन्दा बढी गतिमा सवारी चलाउनु पनि दुर्घटना हुनुको अर्को कारण हो । विशेषगरी मोटरसाइकलहरू अधिक गतिका कारण दुर्घटनामा पर्ने गर्छन् । यस्ता सवारी चलाउनेहरूमा अधिकांश युवा हुनु र उनीहरूले तीव्र गतिमा हाँक्नु पनि यसको कारण हो ।

सवारी सञ्चालनका लागि पर्याप्त र भरपर्दा भौतिक पूर्वाधार नहुँदा पनि दुर्घटना बढिरहेको छ । कर्णालीका विभिन्न दुर्गम गाउँ र कुनाकाप्चासम्म सडक सञ्जाल पुगे पनि अधिकांश मापदण्डविपरीत छन् । साँघुरा र कठिन सडकमा सवारी चलाउनुपर्ने बाध्यता छ । कच्ची र धुले सडकमा वर्षायाममा सवारी चलाउनु निकै जोखीमपूर्ण हुन्छ । अन्य धेरै सडक ग्राभेल र कालोपत्र हुन नसक्दा सवारी सञ्चालनमा बाधा उत्पन्न हुँदै आएको छ । सवारी साधनको अनुपातमा सडकको निर्माण हुन सकेको छैन । निर्माण गरिएका सडकहरूको स्तर पनि राम्रो छैन । सडकमा अत्यावश्यक मानिने ट्राफिक सिग्नलसमेत व्यवस्थित रूपमा र पर्याप्त छैनन् । अन्तरराष्ट्रिय नियमअनुसार यस्ता पूर्वाधार नभएका सडक मापदण्ड विपरीत मानिन्छन् । सडक बत्ती तथा ट्राफिक संकेत नभएका सडकमा सवारी दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ । यस्ता सडकमा चालकले आकस्मिक निर्णय गर्न नसक्दा दुर्घटनामा पर्छन् । त्यसैले, सबै सडकमा यो सुविधा हुनु आवश्यक छ । प्रयोगविहीन सडक बत्ती मर्मतसम्भार गरेर वा फेरेर र नभएका स्थानमा नयाँ राखेर सडक सुरक्षित बनाउन सकिन्छ । त्यसैगरी, सडकको अवस्था बुझाउने संकेतसहितका बोर्डको व्यवस्था गर्नाले पनि सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । यसतर्फ सरोकारवाहरु सबैको ध्यान जान जरुरी छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *