हिमपातले कर्णालीको हवाई सेवा प्रभावित
मुगु,१० माघ ।
कर्णालीका हिमाली जिल्लामा भारी हिमपातका कारण हवाई सेवा प्रभावित बनेको छ । सोमबार रातिदेखि मुगु, हुम्ला, जुम्ला, डोल्पामा हिमपात भएपछि नेपालगञ्ज सुर्खेतदेखि उडान भर्ने सीता, समिट, तारा, नेपाल एयरलाइन्ट लगायत हवाई सेवा अवरुद्ध भएका छन् ।
एक्कासि हिमपात भइ हवाई सेवा बन्द हुदा जिल्लादेखि तराई झर्ने सुर्खेत नेपालगञ्जबाट माथि जिल्लातिर जाने यात्रुहरु अलपत्र परेका छन् ।हुम्ला सिमकोट विमानस्थलमा एक फिटभन्दा बढी हिउँ जमेको अझै आउने क्रम जारी रहेको हुँदा मंगलबार सुर्खेत नेपालगञ्जदेखि कुनै पनि हवाई उडान नभएको निमित्त विमानस्थल प्रमुख चेतराज भट्टले जनाए । मौसम सफा भएपछि एयरपोर्टमा जमेको बाक्लो हिउँ पन्छाएर अनि मात्र जहाज चल्ने उनको भनाइ छ ।
मुगुको रारा विमानस्थलमा पनि आधा फिट हिउँ जमेपछि सुर्खेत नेपालगञ्जदेखि नियमित उडान नभएको नागरिक उड्डयन प्राधिकरण ताल्च राराले जनाएको छ । सुर्खेत नेपालगञ्जतिर जान एयरपोर्टमा आएका यात्रुहरु घर फर्किन बाध्य भएका छ । यता जुम्ला विमानस्थलमा पनि ५ इन्च भन्दा बढी हिउँ जमेपछि हवाई सेवा प्रभावित भएको छ ।
डोल्पामा पनि हिमपातले गर्दा हवाई सेवा प्रभावित भएको छ । अघिल्लो पटकको हिमपातले हुम्लामा एक दिन हवाई सेवा बन्द भएको थियो भने मुगु, जुम्ला, डोल्पामा यो वर्षकै पहिलो पटक हिमपातले गर्दा हवाई सेवा बन्द भएको छ ।
कान्तिपुर