कर्णालीमा बर्सेनि कुहिन्छ करोडौंको स्याउ

जुम्ला,१ माघ ।
यस वर्ष जुम्ला सिंजा–५ का रामसिंह रावलको ५० प्रतिशत स्याउ बगैंचामै कुहियो । उनले सस्तो मूल्यमा पनि स्याउ बेच्न नपाउँदा मन दुखाइरहेका छन् । हरेक वर्ष पाँच टन स्याउ उत्पादन गरेका रामसिंहले तीन टन स्याउ कुहिएर खेर गएको बताए । ‘हामी किसान स्याउ फलाउँछौं । सरकारले स्याउ लैजाने पक्की सडक बनाइदिँदैन । जसले गर्दा हरेक वर्ष जुम्लाका किसान स्याउ कुहिएको टुलुटुलु हेर्न बाध्य छन्,’ उनले भने ।
बगैंचामा २ हजार बिरुवा छन् । एक हजारभन्दा बढी बिरुवाले फल दिए । बचेको ४० प्रतिशत स्याउ अहिले रावलले प्रतिकिलो सय रुपैयाँमा बेचिरहेका छन् । स्याउ ग्रेडिङ गरेर ठूला सहरमा लैजाने उनको तयारी थियो । तर अविरल वर्षासँगैको बाढीले सडक नै बगाएपछि उनको स्याउ थन्किएको थियो । जुम्लाको पातारासी, गुठीचौर, तिला, तातोपानी, सिँजा र कनकासुन्दरी क्षेत्रको स्याउ यस पटक सहरसम्म पुग्न सकेन ।
‘जुम्ली स्याउको महत्त्व किसानले ठानेर मात्रै पुग्दो रहेनछ,’ रावलले भने, ‘किसानको उत्पादनमा राज्यले अपनत्व नलिएसम्म स्याउ थन्किरहन्छ । कुहिरहन्छ ।’ जुम्ला कर्णाली राजमार्गसँग जोडिएको छ । सडक नहुँदा हवाईमार्गबाट समेत महँगो तिरेर स्याउ बाहिरी जिल्ला पठाइरहेको हुम्लाको पीडा झनै कहालीलाग्दो छ ।

सडक सञ्जाल नजोडिएको हुम्ला, मुगु, डोल्पा र कालीकोटमा स्याउ कुहिने समस्या झनै विकराल छ । जुम्लामा ४ हजार २ सय ५० हेक्टरमा स्याउ खेती हुन्छ । यसमा तीन हजार हेक्टरको स्याउले फल दिन्छ । यहाँ १८ हजार टन स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए ।
तर ९ हजार टन स्याउ मात्र बाहिर सहरमा निर्यात भयो । अधिकांश स्याउ जुम्लामै थन्कियो । ‘सानो आकारको स्याउ जुम्लामै विभिन्न परिकार बनाउन काम लाग्ने गर्छ । केही स्याउ बाढीपहिरोले निर्यात हुन नसक्दा जुम्लामै कुहिएर खेर गयो,’ उनले भने ।
रोगकिराको संक्रमणका कारण उत्पादन घटिरहेको छ । कतैकतै स्याउ फुल्ने तर फल नलाग्ने समस्या देखिएको छ । कृषि मन्त्रालयमा यही विषयमा कुरा राखिसकेको प्रमुख अधिकारीले बताए । ‘मन्त्रालयले टोली खटाउने भनेको छ,’ उनले भने, ‘टोली कहिले आउने हो, थाहा छैन ।’ जुम्लामा प्रतिहेक्टर ६ टन स्याउ फल्ने गरेको तथ्यांक छ ।
स्याउ निर्यात गर्न पक्की सडक र कोल्डस्टोर अनिवार्य बनाइदिन किसानको माग छ । नेपालगन्ज र सुर्खेतमा कोल्डस्टोर बनाइदिनुप¥यो । जिल्लालाई खपत हुने गरी हरेक जिल्लामा एक÷एक कोल्डस्टोर बनाइदिनुप¥यो । अनि मात्र कर्णाली स्याउले समृद्ध हुन सक्छ । नत्र जुम्ली स्याउ हरेक वर्ष कुहिएर खेर जाने किसान बताउँछन् ।
स्थानीय सरकारले गाउँमा सडक पु¥याएको छ । जमिन चिरेर बनाएका सडक पुल नहुँदा सञ्चालनमा छैनन् । किसानले डोकोमा बोकेको स्याउ सडकसम्म ल्याउन निकै कठिन हुने गरेको छ । राज्यले कर्णालीको स्याउबारे न नीति बनाउँछ, न स्याउको भण्डारण मानिएको कर्णालीका किसानको व्यथा नै बुझ्दछ । ‘नेपालमा विदेशी स्याउले बजार कब्जा गरिरहँदा कर्णालीको स्याउ कुहिएर मल बनिसक्छ,’ चन्दननाथ–८ का स्याउ किसान रतन रावतले भने, ‘हामी किसान मुटुमाथि ढुंगा राखेर मुस्कुराइरहनुपर्ने बाध्यता छ ।’
कर्णालीको हुम्लामा २ हजार ८ सय ५० हेक्टरमा स्याउ खेती गरिन्छ । यस वर्ष ४ हजार १५ टन स्याउ फलेको छ । तर किसान प्रतिदाना ५ रुपैयाँमा स्याउ बेच्न बाध्य छन् । सडक सञ्जालले छुन नसकेको हुम्लामा हवाईजहाजबाट स्याउ बाहिरी जिल्लामा पठाउनुपर्ने बाध्यता छ । जहाजले प्रतिकिलो ८५ रुपैयाँ ढुवानी भाडा लैजान्छ । ‘किसानले यति महँगो भाडा तिरेर बजार लैजान सक्ने अवस्था छैन । अनि स्याउ रूखमै झरेर कुहिने अवस्था आउँछ,’ रतनले भने ।
हुम्लाको सबै क्षेत्रमा स्याउ फल्छ । उच्च घनत्व भएको स्थानमा झनै राम्रो स्याउ फलिरहेको छ । स्याउ फले पनि बजारसम्म सहजै लैजान नसक्दा समस्या हुने गरेको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख निर्मल लामाले जनाए । ‘स्याउ बर्सेनि कुहिन्छ । सरकारी कर्मचारीले अलिअलि लैजान्छन् । जहाजमा मान्छेले त लैजान पाउँदैनन् । स्याउ ढुवानी गर्ने सम्भावना नै रहेन ।’
यस वर्ष एक हजार किलोसम्म मात्र स्याउ जिल्ला बाहिर गएको कृषि कार्यालयको तथ्यांक छ । अब हुम्ला सडक जोडिन थालेको छ । किसानले उत्पादन गरेको स्याउ सडक जोडिएर लिने अवस्था आए मात्र स्याउ फलाएको सार्थकता होला । नत्र हुम्लाका किसानको स्याउ बगैंचामै फल्छ । बगैंचामै कुहिन्छ ।
हुम्लाको तल्लो भेगमा फलेको स्याउ बोकेर भए पनि सडक जोडिएको स्थानसम्म लगेर सुर्खेत, नेपालगन्ज पु¥याउने गरेको पाइन्छ । १ हजार २ सय ३८ हेक्टरमा स्याउ रोपिएको जिल्ला कृषि विकास कार्यालय डोल्पाले जनाएको छ । ४ सय १२ हेक्टरमा रोपिएको स्याउले फल दिन्छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन पनि बढेको छ । तर किसानको स्याउ बजारसम्म पुग्न सकेको छैन । सडक भरपर्दो छैन । जहाजमा प्रतिकिलो ५० रुपैयाँ ढुवानी भाडा छ । त्यसैले यस वर्ष फलेको ४ हजार ८४ टन स्याउ डोल्पा थन्किएको छ ।
डोल्पामा उत्पादित स्याउ निकै सस्तोमा बिक्री हुने गरेको कार्यालय प्रमुख शरद लामाले बताए । बगैंचामै किसानले १५ देखि २० रुपैयाँ किलोमा स्याउ बेचिरहेका छन् । ‘डोल्पाको एक सय टन जति स्याउ जिल्ला बाहिर गएको भएको होला । अरू सबै स्याउ जिल्लामै थन्किएको देखिन्छ । गाईबस्तुलाई दाना दिनेदेखि बारीमै कुहिने गरेको भेटिन्छ,’ उनले भने ।
यस वर्ष कालीकोटमा मनग्गे स्याउ उत्पादन भएन । चालु आर्थिक वर्षमा कालीकोटको एक हजार तीन सय हेक्टर क्षेत्रफल ओगटेको स्याउको बगैंचामध्ये नौ सय हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ ।
नौ सय हेक्टर क्षेत्रफलमा सात हजार दुई सय टन स्याउ फलेको थियो । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, रास्कोट नगरपालिकामा स्याउ उत्पादन हुने गरेको छ । यहाँका धेरैजसो किसानको स्याउ बगैंचा छ । सिजनमा प्रत्येक परिवारले ४० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्छन् ।
७० प्रतिशत कृषि विकास कार्यालयको अनुदान र ३० प्रतिशत किसानको लगानीमा स्याउका बिरुवा वितरण गर्ने गरिरहेको कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालाराम देवकोटाले बताए । तर भौगोलिक विकटताले स्याउ बजार लैजान निकै कठिन छ ।
मुगु जिल्लामा १ हजार २ सय ४३ हेक्टरमा स्याउ खेती गरिएको छ । ४ सय हेक्टरमा रोपिएको स्याउले फल दिन्छ । यस वर्ष ३ हजार ५ सय ७० टन स्याउ फल्यो । यसमध्ये ६० प्रतिशत स्याउ बाहिरी जिल्लामा गयो । तर स्याउले मूल्य पाएन । प्रतिकिलो ३० देखि ४० रुपैयाँमा स्याउ बेच्नुपरेको किसानको गुनासो छ । स्याउको उत्पादनअनुसार बाहिरी जिल्लामा पठाउन समस्या देखिएको जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख खेमराज शाहीको भनाइ छ ।
कान्तिपुर




