‘महिला भएकै कारण हेपिएको महशुस हुन्थ्यो’

सुर्खेत । कर्णाली प्रदेशसभाका निर्वतमान सदस्य पदमा खड्काले आफू सांसद रहदा महिला भएकै कारण पुरुष सांसदबाट हेपिने गरेको बताएकी छन् । बिहीबार युएनडीपीको संसद सयोग परियोजनाको प्राविधिक सहयोग र पूर्व प्रदेशसभा सदस्य मञ्चको आयोजनामा भएको कर्णाली प्रदेशसभा सदस्य र पूर्व सदस्य बिच अनुभव आदान प्रदान कार्यक्रममा महिलाहरुका सवालहरु उठान गर्दा पुरुष सांसदहरुबाट खासै सहयोग नपाएको गुनासो व्यक्त गरिन ।

‘हामीले छोरी सुरक्षा कार्यक्रम अन्तर्गत बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रम पस्ताव गर्दा पुरुष सांसदहरुले लैङ्गिक तथा वर्गिय नारा लाग्यो, हामीसँग पैसा छैन, कर्णालीले यसलाई सञ्चालनमा ल्याउन सक्दैन भन्नुभयो ।’ उनले भनिन् ।
प्रदेशसभाका विषयगत समितिहरुको भूमिकाका बारेमा आफ्नो भनाई राख्दै निर्वतमान सांसद देवी वलीले कानूनको प्रभावकारी ज्ञान नहुँदा काम गर्न अप्ठ्यारो हुने गरेको बताइन् । कानून निर्माण, सरकारका कामकावाहीमा निगरानी, बजेट निर्माण तथा कार्यान्वयनका विषयमा सांसदहरू चनाखो हुनुपर्ने वलीको भनाई थियो ।
सांसद सन्तोषी शाहीले प्रदेशसभामा महिलालाई ठुलो चुनौती रहेको भनाई राखकी थिइन । संसदमा आफ्ना विचारहरुलाई दवाउन खोज्ने प्रयास हुने गरेको शाहीको भनाई थियो ।






