जब स्वास्थ्य शिविरमा हुम्लाका पाँच वर्षीया बालककाे सफल अप्रेशन भयो

हुम्ला । हुम्ला वरगाउँ– ३ का उज्ज्वलको लिङ्गको टुप्पोमा कहिलेकाहीँ स–साना खटिरा देखिन्थे । कहिलेकाहीँ लिङ्ग सुन्निन्थ्यो तर आफैँ कम हुन्थ्यो । १ वर्षअघिदेखि लिङ्गमा समस्या देखिन थालेको थियो । १८/१९ दिनअगाडि फेरि उज्ज्वललाई खटिरा मात्र देखिएन, धेरै गाह्रो महसुस भयो । परिवारले सुरुमा कीराले टोकेको हुन सक्ने आशंका गर्दै वास्ता गरेनन् ।

तर झन् समस्या बढ्दै गयो, घाउ नै बन्यो । ‘छोरालाई पिसाब फेर्नसमेत गाह्रो हुन थाल्यो,’ आमा नन्दरूपाले भनिन् । अनि उनीहरूले छोरालाई हुम्ला जिल्ला अस्पताल सिमकाेट पुर्‍याए । चिकित्सकले भिडियो एक्सरे गरेर हेरे । उनको उपचार जिल्ला अस्पतालमा सम्भव नहुने भयो । चिकित्सकले नेपालगञ्ज, सुर्खेत वा काठमाडौं लैजान सुझाए । तर, उनीहरूसँग पैसा थिएन, कसरी बाहिर लैजाने ? डाक्टरले एउटा मल्हम दिए, त्यही बोकेर उनीहरू घर फर्किए ।

‘घाउ भएको ठाउँमा मल्हम लगाउँदा केही कम भएजस्तो भयो । तर, निको भएन,’ नन्दरूपाले भनिन् । जिल्ला अस्पतालका चिकित्सकले केही दिनपछि स्वास्थ्य शिविर हुने भएकाले शिविरमा देखाउन सल्लाह दिएका थिए । उनी छोराको उपचारका लागि २५ जेठसम्म शिविर कुरेर बसिरहिन् ।

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनिएको छ । तर, पाँच वर्षीय बालक स्वास्थ्य सेवाको पहुँचमा अझै जोडिन सकेनन् । रोगसँग लडिरहेका उनले समयमा उपचार पाउन सकेनन्, शिविर कुरेर बस्न विवश भए उनी ।

प्रारम्भ सामाजिक संस्था र सिंगापुर रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा सिमकोट, खार्पुनाथ, नाम्खा गाउँपालिका र स्वास्थ्य सेवा कार्यालय हुम्लाले तीनदिने स्वास्थ्य शिविरको आयोजना गरे । त्यही शिविरमा तीन घण्टा हिँडेर नन्दरूपा छोराको उपचारका लागि २६ गते जिल्ला अस्पताल हुम्ला आइपुगिन् ।

एक वर्षदेखि रोगसँग लडिरहेका उज्ज्वलको रोगको पहिचान शिविरमा भयो । उनलाई ‘ब्यालेनाइटिस’ (लिङ्गको टुप्पोमा संक्रमण) भएको रहेछ । डा. सिलवालले शल्यक्रिया गर्नुपर्ने बताउँदै शनिबार अस्पताल आउन आग्रह गरे ।

यसरी शिविरमा रोगको पहिचान भएपछि २७ जेठमा उनको शल्यक्रिया भयो । ‘घाउ आफैँ भया हो कि केई चोटपटक लागिकिन भया हो ?,’ नन्दरूपाले डा. सिलवाललाई सोधिन् । जन्मिएपछि बच्चाको पिसाब फेर्ने ठाउँको छालालाई पछाडि नलगेका कारण संक्रमण भएको डा. सिलवालले जवाफ दिए । ‘बच्चा एक वर्ष भएपछि पिसाब फेर्ने ठाउँको छालालाई पछाडि गर्नुपर्छ । तेल लगाउने बेला सफा गर्दिनुपर्छ,’ डा. सिलवालले भने ।

डा. सिलवालको टोलीले उज्ज्वलको अप्रेसन गरेर फोहोर निकाल्यो । ‘सबै फोहोर सफा गरेर छाला काटेर जोडिदिएको छ’, डा. सिलवालले नन्दरूपालाई भने, ‘बेलुका वा भोलि बिहान ‘गज’ निकालेर मलम लगाउनुपर्छ है ।’

स्वास्थ्य शिविरमा नै छोराको नि:शुल्क उपचार भएपछि नन्दरूपा र हीराबहादुर खुसी छन् । तर, यो घटनाले जिल्ला अस्पतालमा दक्ष जनशक्ति, स्रोत र साधनको अभाव भएको देखाउँछ । यदि स्वास्थ्य शिविर नभएको भए उनीहरूले ऋण काढेर छोराको उपचार गर्न बाहिर जान बाध्य हुने थिए ।

संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हक मानेको छ । संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा १ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने’ भनिएको छ ।

तर, हुम्लाका नागरिक स्वास्थ्य सेवाको पहुँचमा अझै जोडिन सकेको छैन । पूरै एक दिन हिँडेर स्वास्थ्य कार्यालयको ढोकामा पुग्छन् तर शल्यक्रिया गर्नुपरेमा बाहिर जान विवश छन् । ‘हामी अरुको ढुंगा फुटाएर खाने मान्छे हजुर, उपचारका लागि तल जान सक्ने थिएनौँ । छाक टार्नै गाह्रो छ । अब त छोराको रोग बिसेक होला नि है,’ हीराबहादुर आशावादी सुनिन्छन् ।

जब स्वास्थ्य शिविरमा हुम्लाका पाँच वर्षीया बालककाे सफल अप्रेशन भयो

बालबालिकालाई विशेष ध्यानमा राखौँ

जब स्वास्थ्य शिविरमा हुम्लाका पाँच वर्षीया बालककाे सफल अप्रेशन भयो

तिला नदीमा खसेर जुम्लामा एक युवक बेपत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *