बालबालिकालाई विशेष ध्यानमा राखौँ

गर्मीको मौसम भएकाले अहिले सुर्खेत स्थित निजि तथा सामुदायीक विद्यालयहरुले पठन-पाठन क्रियाकलाप रोकेका छन् । बालबालिकाहरु घरमै छन् । स्वास्थ्य समस्याको जोखिम बढेपछि विद्यालयहरुले गर्मी विदा दिएपनि बालबालिका घरमा सुरक्षित नै छन् भन्ने पनि छैन । घरमा अभिभावकहरुले बालबालिकाका गतिविधिमा विशेष ध्यान दिन नसक्दा बालबालिकाहरु जोखिममा देखिएका हुन् । केहि साता यता सुर्खेत लगायत आसपासका जिल्लाबाट बालबालिकाको मृत्यु भएको खबर नआएपनि होइनन् । विद्यालय विदा भएपछि घरमा बसेका बालबालिकाहरु नदि, पोखरी तथा तलाउँमा पुगिरहेका छन् । गर्मीको मौसममा पौडिन पुगेका उनीहरु पानीमा डुबेर ज्यानै समेत गुमाएका छन् । यस्ता घटनाहरुका कारण घरमा अभिभावकले आफ्ना बालबालिकालाई विशेष ध्यान नदिनुको नतिजा समेत हो । आफ्ना बालबालिका के गरिरहेका छन् ?, कहाँ-कोसँग गईरहेका छन् ? लगायतका विषयमा अभिभावकले जानकारी लिनुपर्छ । गर्मीको समयमा बालबालिकालाई चौरमा खेल्न जानबाट समेत रोक लगाउनुपर्ने हुन्छ । खेलकुद लगायतका गतिविधिमा बढी रुचाउँने बालबालिकाहरुका क्रियाकलापले उनीहरुको शरिरि तात्तिएको हुन्छ । यस्तो अवस्थामा उनीहरुमा स्वास सम्बन्धी समस्या, बेहोस हुने लगायतका स्वास्थ्य जोखिम बढेर पनि जान्छ ।

हालको मौसममा ‘लू’ लाग्ने जोखिम बढेको छ । यसबाट बालबालिकालाई जोगाउन उनीहरुलाई प्रशस्त मात्रामा पानी पिउन दिनुपर्छ । उनीहरुका साथमा सधैँभरि पानीको बोतल राखिदिनुपर्छ । कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रूपमा सेवन गराउनु पर्छ । लत्ताकपडाका विषयमा हल्का रङको सुतीको कपडा लगाइदिनुपर्छ । टाउको ढाकेर राखिरहन अह्रराउनुपर्छ । त्यसका लागि कपडा, टोपी, छाताको प्रयोग गर्न लगाउनुपर्छ । गर्मीको समय भएकाले खासगरी घरमै तयार भएका खानेकुरा खान दिनुपर्छ । बाहिरका जंक फुड भन्दा ताजा फल, सलाद र घरमै बनाएको खानेकुरा खान दिनुपर्छ । खासगरी दिउँसो १२ देखि अपराह्न ४ बजेसम्म धेरै गर्मी हुन्छ । यस समयमा बालबालिकालाई घरबाट वाहिर जान रोक लगाउनुपर्छ । हालको समयमा बालबालिकालाई बिहान वा साँझको समयमा मात्र खेल्न लगाउनुपर्छ ।
केही दिनदेखि बढेको गर्मीका कारण तातो हावा ‘लू’ हावाको जोखिम छ । यसबाट सर्तकता अपनाउन सकने मानिसको ज्यानै समेत जान सक्छ । तातो हावा ‘लू’बाट थकाई लाग्ने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि समस्या देखापर्दछन् । यदि, बालबालिकालाई रिँगटा लागेमा, बान्ता भएमा, धेरै टाउको दुखेमा वा सास फेर्न अप्ठ्यारो भएमा तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्यचौकीमा लैजानुपर्छ ।






