कर्णालीमा सहजै भित्रन्छन् ‘क्याल्सियम कार्बाइड’ हालेका आँप

सुर्खेत । वीरेन्द्रनगर लगायत कर्णालीको बजारमा अहिले प्रशस्त रुपमा आँप बिक्रिवितरणका लागि राखिएका छन् । यहाँको स्थानीय मौसम भन्दा पहिले नै बजारमा उपलब्ध यी आँपहरु खादा सजकता अपनाउँनु पर्ने भने देखिन्छ ।

बजारमा ‘क्याल्सियम कार्बाइड’ हालिएका आँप खायौँ भने मानव स्वास्थ्यमा गम्भिर असर पर्छ । तर कर्णालीको बजारमा भने भारत लगायत तेस्रो मुलुकबाट आउने यस्ता आँपहरु निर्वाध रुपमा भित्रिरहेका छन् ।

विहिवार मात्र वीरेन्द्रनगर बजारमा कर्णालीको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले क्याल्सियम कार्बाइड राखेको आँप नष्ट गरेको छ । वीरेन्द्रनगर क्षेत्रमा सञ्चालित तरकारी तथा फलफूलको एक थोक बिक्रेताको पसलमा अनुगमन गर्दा कार्यालयले क्याल्सियम कार्बाइड हालेको आँप फेला पारेको हो ।

‘क्याल्सियम कार्बाइड हालेको तीन क्यारेट आँप फेला पारेका थियौँ । वरामद भएका आँपहरु नष्ट गरिएको छ’, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले भने । केहि समय यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुमगनमा विशेष ध्यान दिएको छ ।

बिहिवार मात्र थोरै परिमाणमा क्याल्सियम कार्बाइड राखिएको आँप फेला परेपनि बजार क्षेत्रमा मात्र यस्ता आँप कति वितरण भएको भन्ने विषयमा कुनै तथ्यांक छैन । खुल्ला नाका तथा कर्णाली प्रदेशको सीमा क्षेत्रमा चेकजाँचको अभावका कारण यहाँको बजारमा अखाद्य वस्तु मिसाइएका फलफूल तथा तरकारी निर्वाध रुपमा प्रदेश पाउँछन् ।

‘हरेक वर्ष कर्णालीमा निर्वाध रुपमा अखाद्य वस्तुले प्रवेश पाउँछन् । कर्णालीका जनताले विषादी मिसिएका तरकारी र फलफूल खान वाध्य भएका छन्’, राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश अध्यक्ष आकाशतारा वयकले भने, ‘राज्यले नै कुन खाद्य वस्तु हो, कुन होइन ?, छुट्टाइदिनु पर्छ । तर त्यसका लागि संरचना नै छैन ।’

यसअघि कर्णाली भित्रने फलफूल तथा तरकारीमा विषादी परिक्षणका लागि दुई स्थानमा प्रयोगशाला निर्माण प्रक्रिया अघि बढाइएको थियो । कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेपनि सो प्रक्रियाले भने अन्तिम रुप नै लिएन ।

‘प्रदेश सरकारले क्वारेन्टाइन बनाउँने प्रक्रिया अघि बढाएको थियो । तर अन्त्यमा काम नै भएन । यो विषय त्यसै सेलायो’, अध्यक्ष वयक भन्छन्, ‘क्वारेन्टाइन नभएर कर्णालीमा कस्ता खाले तरकारी तथा फलफूल आउँछन् भन्ने कुनै ठोश तथ्यांक नै छैन । उपभोक्ताले आफ्ना आँखाले हेरेरै तरकारीको पहिचान गर्नुपर्ने अवस्था छ ।’

नागरिकमा यस विषयमा चेतनाको समेत अभाव छ । राज्य पक्षले नै खाद्य र अखाद्य वस्तु विषयमा नाकामा नियमित परिक्षण गर्नुपर्ने अध्यक्ष वयकको धारणा छ । यसका साथै कर्णालीमा तरकारी तथा फलफूलमा प्रयोग भएको विषादीको मात्रा परिक्षण गर्ने सरकारको दायित्व हो । यस विषयमा कर्णालीको प्रदेश सरकार तथा यहाँका स्थानयि निकाय गम्भिर हुनुपर्ने उनले बताए ।

उनले भने, ‘कर्णालीमा भित्रने तरकारी तथा फलफूललाई विषादी परिक्षण गरेरै मात्र यहाँ भित्रन दिनुपर्छ । यो नागरिक स्वास्थ्यसँग जोडिएको गम्भिर विषय हो ।’

स्मरण शक्तिमा असर गर्छ : चिकित्सक

क्याल्सियम कार्बाइड मिसाइएका आँपको सेवन स्वास्थ्यका लागि निकै हानिकारक छ । हाल वीरेन्द्रनगरका बालबालिकाहरु उल्टी गर्ने, टाउको दुख्ने लगायतको समस्या लिएर चिकित्सक कहाँ आईरहेका पनि छन् । वालरोग विशेषज्ञ डा. नवराज केसीले भने, ‘अहिले बालबालिकाहरुमा यि लक्षण पनि देखिएका छन् । यो क्याल्सियम कार्बाइडको असरले पनि हुन सक्छ ।’

मुख्यतः यसले शरिरको नशामा असर गर्ने चिकित्सकहरुको भनाई छ । तत्काल देखिने लक्षण वाहेक शरिरको नशामा असर गर्ने भएकाले क्याल्सियम कार्बाइडले मानिसको स्मरण शक्तिमा समेत असर गर्ने उनले बताए । उनले भने, ‘क्याल्सियम कार्बाइडमा आर्सनिक र फस्फोरस मिसिएको हुन्छ । शरिरमा नियमित यसले प्रवेश पायो भने यो निकै हानिकारक हो ।’ आँप तथा केरा पकाउन क्याल्सियम कार्बाइडको प्रयोग गर्दा यसले मानव स्वास्थ्यमा निकै असर गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया