मुगुका ३ हजार घर ३ सातादेखि बिजुलीविहीन

कार्तिक १३, मुगु ।

जिल्ला सदरमुकामभित्र रहेका करिब ३ हजार घरधुरी तीन सातादेखि अन्धकारमा बसिरहेका छन् । गत असोज १९ देखि २३ गतेसम्मको भीषण वर्षाले गमगाढ साना जलविद्युत् आयोजना तहसनहस पारेपछि जिल्ला सदरमुकाम गमगढी बजारदेखि कार्कीबाडा, भामबाडा, श्रीनगर, ढुम, पिना, रुगा, सायाखोला, निगाले, थार्प, कोटिला, तलितुम, हेन्रीकाँधलगायत दर्जनौं बस्तीका कूल तीन हजार घरधुरी तीन सातादेखि अन्धकारमा बस्न विवश भएका हुन् ।

जिल्ला सदरमुकाममा लामो समयदेखि विद्युत् नहुँदा सरकारी तथा गैरसरकारी निकायका प्रशासनिक कामकाज प्रभावित बनेका छन् । वित्तीय संस्थाहरूमा पनि बत्तीको समस्याले दैनिक रुपमा आर्थिक कारोबार सञ्चालन गर्न मुस्किल भएको छ । पेट्रोल प्रतिलिटर २ सय २० रुपैयाँमा किनेर जेनेरेटर चलाउनुपर्ने अवस्था आएकाले कार्यालयलाई आर्थिक भार खेप्नुपर्ने अवस्था आएको छ ।

सोलार, जेनेरेटरमा एक घण्टा मोबाइल चार्ज गर्न ५० रुपैयाँ तिर्नुपर्ने अवस्था सिर्जना भएकाले सरमुकामवासीलाई सास्ती भएको स्थानीयले जनाएका छन्  तीन सातादेखि विद्युत् नहुँदा अस्पतालमा बिरामीलाई उपचार गर्न सास्ती भएको जिल्ला स्वास्थ्य सेवा प्रमुख उमेश गौतमले बताए । विद्युत्को अभावले २५ शय्या क्षमताको अस्पतालमा अक्सिजन उत्पादन गर्न‚ ल्याब सेवा‚ एक्सरे सेवा सञ्चालन गर्न गाह्रो परेको गौतमको भनाइ छ ।

वर्षात्ले तहसनहस पारेको गमगाढ साना जलविद्युत् आयोजना मर्मतका लागि प्रहरी प्रशासन स्थानीय र सम्बन्धित निकाय जुटे पनि अझै धेरै समय लाग्ने अनुमान गरिएको छ । वर्षाले भत्किएको क्यानल मर्मत गर्ने कार्य सुरु गरिसकेको बताउँदै गमगाढ साना जलविद्युत् आयोजना प्रमुख दिनेश पौडेलले भने‚ ‘मर्मत कार्यलाई तीव्रता दिएर एक महिनाभित्र विद्युत् बाल्ने सोचमा छौं ।’

विद्युत् मर्मत कार्य पूरा नहुँदासम्म जुम्लाबाट जेनेरेटर ल्याएर सदरमुकाममा वैकल्पिक बत्तीको व्यवस्था गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । विद्युत् आयोजना छिटो मर्मतका लागि कामलाई तीव्रता दिइएको उनको भनाइ छ ।

कान्तिपुर

फलामको पाइपमा बारुद भर्नेक्रममा पड्किएर दम्पति घाइते

मुगुका ३ हजार घर ३ सातादेखि बिजुलीविहीन

YUGAAWHAN NATIONAL DAILY (2079-07-14)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!