भेरीगंगामा एक महिने होमस्टे तथा सिङ्गारु नाच तालिम

दिलिप ढकाल
गुर्भाकोट (सुर्खेत), १७ चैत्र ।
कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा रहेको भेरीगंगा नगरपालिका वडा नं. ४ मा बुधवारदेखी १ महिने होमस्टे तथा मौलिक सिङ्गारु नाच तालिम सुरु भएको छ ।
भेरीगंगा नगरपालिका उद्योग विकास शाखा छिन्चु सुर्खेतको आयोजनामा उक्त कार्यक्रम सुरु भएको उद्योग विकास शाखा भेरीगंगाका फोकल पर्सन चित्रा डाँङ्गीले जानकारी दिनुभयोे ।
उक्त तालिमको उद्घाटनमा प्रमुख अतिथि नगर उपप्रमुख रेणु आचार्य ढकाल, विशेष अतिथि भेरीगंगा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महाबिर खत्रीको उपस्थितिमा उद्घाटन गरिएको थियो ।
उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेल, उद्योग विकास शाखा फोकल पर्सन चित्रा डाँँङ्गी, बर्दिया राष्ट्रिय निकुञ्ज गेमस्काउट हरि बहादुर रावल, उद्यम विकास सहजकर्ता लाल बहादुर कार्की र सुनिता जैसी लगायत अन्य ७० जनाको सहभागिता रहेको थियो ।
भेरीगंगा नगरपालिका वडा ४ का बेरोजगार नागरिकलाई स्वरोजार बनाउने र त्यसैगरी पश्चिम नेपालकै पुरानो एवंम मौलिक नाचको रुपमा नाचिने सिङ्गारु नाच लोप हुन नदिन उक्त होमस्टे तथा मौलिक सिङ्गारु नाच तालिमको आयोजना गरिएकोे हो ।
कार्यक्रममा उपस्थितिहरुले आफ्नो भनाई राख्ने क्रममा विकास तथा प्रर्वद्धन बजारीकरण, ग्रामीण क्षेत्रमा यसको महत्व धेरै हुने भएको हँुदा भेरीगंगा नगरपालिका ४ का नागरिकलाई आर्थिक विकासमा सहयोग हुने धारणा राखेको थिए ।








