कोल्डस्टोर छैन, खाल्डोमा भण्डारण

सल्यान,१० पाैष ।

दुई साताअघि शारदा नगरपालिका–१४ माल्नेटाका किसान सुकलाल पुरीले घर नजिकैको बारीको डिलमा खाल्डो खनेर अदुवा गाडे । खाल्डोमा झन्डै ४ क्विन्टल अदुवा गाडेका उनले अर्को वर्ष अदुवा लगाउने बेलामा खाल्डोबाट निकाल्छन् ।

‘यसरी नराखे बीउ बाहिरबाट ल्याउनुपर्छ,’ उनले भने, ‘जिल्लामा कोल्डस्टोर नहुँदा बर्सेनि यसरी नै अदुवा गाड्न बाध्य छौं ।’माल्नेटाकै अर्का किसान ज्ञानबहादुर घर्तीले पनि ३ दशकदेखि नै यसरी नै अदुवा भण्डारण गरिरहेका छन् । उनी माल्नेटामा सबैभन्दा बढी अदुवा उत्पादन गर्ने किसान हुन । उनले वर्षमा एक मेट्रिक टन अदुवा उत्पादन गरिरहेका छन् । उनको १० रोपनी जग्गामा अदुवा उत्पादन हुन्छ ।

‘२० क्विन्टल त बीउका लागि छुट्याउनैपर्छ, बीउ भनेर छुट्याएको सबै अदुवा खाल्डो खनेर गाडिसकेको छु,’ उनले भने, ‘अदुवा भित्र्याएको एक महिनाभित्र बीउ खाल्डो खनेर नगाडे अर्को वर्ष उत्पादन राम्रो हुँदैन, जति पुरानो भयो उति उत्पादकत्व घट्ने भएकाले खाल्डोमा गाड्ने गरेका हौं ।’ देशभरिमै बोसे अदुवाको लागि प्रख्यात मानिएको माल्नेटाका सबै परिवारले अदुवा खाल्डो खनेर गाड्नुपर्ने बाध्यता छ ।

भण्डारण कक्ष निर्माण गरिदिन आग्रह गर्दै विभिन्न निकायमा पुगे पनि बेवास्ता भएपछि परम्परागत शैलीमा अदुवाको बीउ भण्डारण गर्नुपरेको अर्का किसान बेदबहादुर डाँगीले बताए । ‘खाल्डो खनेर राख्दा बढी पानी परेमा कुहिने डर हुन्छ,’ उनले भने, ‘तर अर्को विकल्प पनि छैन, रिस्क मोलेरै खाल्डोमै गाड्छौं ।’

जिल्लाबाट बर्सेनि झन्डै २० करोड रुपैयाँको अदुवा उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । माल्नेटामा मात्रै ५ सय ८ परिवारले अदुवा खेती गरिरहेका छन् । जिल्लाभरि झन्डै १० हजार परिवारले अदुवा खेती गर्ने गरेको कार्यालयले जनाएको छ ।

कपुरकोटस्थित अदुवाबाली अनुसन्धान कार्यक्रम, कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अदुवा जोन) ले अदुवाको खेती, उत्पादन, बजारीकरणमा बर्सेनि ठूलो बजेट खर्च गर्ने गरेका छन् । तर, अहिलेसम्म कसैले अदुवा भण्डारणका लागि भवन निर्माण नगरेको कोटमौलाका किसान अमृतबहादुर डाँगीले बताए ।

कान्तिपुर 

कोल्डस्टोर छैन, खाल्डोमा भण्डारण

बालकोट बैठकमा सिके राउत पनि मिसिए

कोल्डस्टोर छैन, खाल्डोमा भण्डारण

सल्यानमा बस दुर्घटना हुँदा चालक र सहचालक

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!