पानी सदुपयोग गर्ने तयारीमा बराहताल

सुर्खेत, ९ भदौ ।
बराहताल गाउँपालिकामा पाँच सय ४४ वटा जलस्रोतहरु छन् । पालिकाभर तीन सय ६० वटाको संख्यामा पानीका मुहान मात्र छन् । ८८ वटा खोल्सा, ७४ वटा खोला, १४ वटा कुवा र आठ वटा भूमिगत पानीको स्रोत पालिकाभित्र रहेका छन् ।

जलस्रोतहरुको क्षमतागत रुपमा पालिकामा प्रति सेकेण्ड १० लिटर स्रोत क्षमता भएको ३१ वटा जलस्रोत छन् । उक्त क्षमताका एक सय नौं जलस्रोत पालिकामा छन् । पालिकामै जलस्रोतको आवश्यक क्षमता पुष्टि भएपछि भने बराहताल गाउँपालिका जल उपयोग गुरुयोजनाका साथ अघि बढ्ने भएको छ ।

बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी भन्छन्, ‘जल उपयोग सँगै यससँग जोडिएका अन्य क्षेत्रको समेत विकास गर्दै जाने स्वरुप गुरुयोजना तयार भएको छ ।’ जल उपयोग सँगै यससँग जोडिएका सिँचाई, ऊर्जा पर्यावरण संरक्षण तथा आयआर्जन/जिविकोपार्जन कार्यक्रमहरु पालिकाले क्रमैसँग लैजाने योजना छ । पालिकाका लागि जल उपयोग गुरुयोजना निर्माणमा वातावरण र जनस्वास्थ्य स्वास्थ्य संस्थाले सहयोग गरेको हो ।

बराहताल गाउँपालिकाका लागि जलस्रोत सम्वन्धित पञ्चवर्र्षीय योजना तर्जुमा गर्न सघाउका लागि गुरुयोजना निर्माण गरिएको संस्थाका परियोजना संयोजक अनिल मर्हजनले जानकारी दिए । गुरुयोजनाले योजन तर्जुमा, दियो मर्मत सम्भार तथा सञ्चालन व्यवस्थापन कार्ययोजना, पूर्ण सरसफाईयुक्त क्षेत्र निर्माण, दक्ष जनशक्तिको विकासलगायत सरोकारवाला पक्षहरुको समान बुझाई एवं प्रतिवद्वताका लागि गुरुयोजनाले मद्दत गर्ने उनको भनाई छ ।

पालिकामा हाल दुई सय चार वटा खानेपानी योजनाहरु छन् । यी योजनाहरुमध्ये ४५ पुनःनिर्माण, ३९ वटामा सामान्य मर्मत र ८० वटा योजनाहरुमा ठूलो मर्मतको आवश्यकता छ । कुल खानेपानी योजनाहरुमध्ये ४० वटा योजना मात्र राम्रोसँग सञ्चालनमा रहेको मर्हजनले बताए ।

यसैगरी पालिकामा एक वटा लघु सिंचाई र एक सय ५१ वटा कुलो सिँचाई योजना छन् । जसबाट पालिकाको १९ हजार दुई सय १७ रोपनी क्षेत्रफलमा सिँचाई सुविधा पुग्दछ । यी योजनाहरुमध्ये हाल १५ वटा मात्र राम्रोसँग सञ्चालनमा रहेका छन् । ६२ वटा योजनालाई पुनःनिर्माणको आवश्यकता छ ।

जलउर्जाका क्षेत्रमा परम्परागत/सुधारिएको पानी घट्ट योजना अन्र्तगत पालिकाभर ४७ योजना छन् । जसबाट कुल तीन हजार ६ सय ४७ घरधुरी लाभान्वित हुन्छन् । तर यी योजना मध्ये १४ वटा योजना मात्र सञ्चालनमा रहेको देखिन्छ ।

साझेदार संस्थासँग सहकार्यको योजना
जलउपयोग गुरुयोजना प्रक्रिया माफृत पहिचान र प्राथमिकतामा पेका अन्य योजनाहरुलाई तत्पश्चात आवश्यकता र स्रोतको उपलब्धताको आधारमा दीर्घकालिन योजनाका रुपमा गुरुयोजनामा समावेश छ । पाँच वर्षीय योजनामा परेका खानेपानी, सिँचाई, वातावरण पर्यावरण तथा जलऊर्जा सम्बन्धी कुल एक सय ९२ योजनाहरुको कुल अनुमानित लागत ६१ करोड ११ लाख ४३ हजार नौँ सय २० रुपैयाँ छ ।

पञ्चवर्षीय योजना अवधिमा ५० वटा खानेपानी योजना तथा सरसफाइ स्वच्छता कार्यहरु समेतका लागि ३६ करोड १६ लाख २२ हजार चार सय २० रुपैयाँ लागत अनुमान छ । यी योजनाहरुबाट पालिकामा कुल चार हजार दुई सय ७२ घरधुरी लाभान्वित हुने अपेक्षा छ । यसका साथै सिँचाई अन्र्तगतका ६० सिँचाई कुलो र ४० वटा थोपा सिंचाई निर्माणका लागि २० करोड ९७ लाख ९५ हजार पाँच सय रुपैयाँ लागत लाग्ने र यी योजनाहरुबाट २७ हजार नौँ सय ७५ रोपनी जग्गा सिंचित हुने अनुमान गरिएको छ ।

आ.व २०८३/०८४ सम्ममा पालिकाले खानेपानीका ५०, कुलो सिंचाइका ६०, थोपा सिंचाईका ४०, जलउर्जाका १७ र वातावरण पर्यावरणका २५ गरी कुल एक सय ९२ योजनाहरु कार्यान्वयनमा ल्याउने योजना छ । वार्षिक बजेटमा गुरुयोजना बमोजिमका योजनाहरुमा लगानी गरेपनि पालिकाको आर्थिक अवस्थाले भने यी सबै योजनाहरुमा लगानीको सामथ्र्य राख्दैन ।

यसका लागि पालिकाले विकास साझेदार संस्थाहरुसँग सहकार्य गर्ने योजना गरेको बराहताल गाउँपालिकाका अध्यक्ष भण्डारी बताउँछन् । ‘गुरुयोजना अनुरुप हामी मात्रैले त्यत्रो लगानी गर्न सक्ने अवस्था छैन । उनले भने, तर पालिकामा विकास साझेदार संस्थासँगको सहकार्यमा भने सम्भव छ । यसका लागि विभिन्न संघसंस्थासँग साझेदारीमा काम गर्ने योजना छ ।’

पालिकामा वडास्तरीय योजना तर्जुमा गोष्ठी गरी यसैका आधारमा गुरुयोजनामा योजनाहरु प्राथमिकतामा परेका छन् । खानेपानी तथा सरसफाई योजनाहरुमा ३२ वटा नयाँ र १८ वटा मर्मतका योजना छन् । यसबाट कुल ३० हजार ६ सय २२ जनसंख्या लाभान्वित हुने अनुमान छ । सिंचाई कुलोमा ६० योजना प्राथमिकतामा छन् । जसमध्ये ६१ वटा नयाँ र नौँ वटा पुराना मर्मतका योजना हुन् । यी योजनाहरुले १२ हजार नौँ सय ३५ जनसंख्या लाभान्वित हुने अनुमान छ ।

थोपा सिंचाईतर्फ ४० योजना प्राथमिकतामा छन्, जसमा ६ हजार तीन सय १० जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ । पर्यावरणीयतर्फका प्राथमिकिकरणका २५ योजनाबाट सात हजार तीन सय ९३ जनसंख्या लाभान्वित हुनेछन् । यसैगरी जलउर्जालगातका क्षेत्रमा प्राथमिकताका १७ योजनाबाट कुल पाँच हजार आठ सय ४५ जनसंख्या लाभान्वित हुने अनुमान छ ।

पानी सदुपयोग गर्ने तयारीमा बराहताल

हस्तकलाले भरिएको सुर्खेतमा उत्पादित ‘वेनामी’ सारी

Leave a comment

Your email address will not be published. Required fields are marked *