कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

बाँके, ११ असार ।
नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरूको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ । कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकोमा हाल ७७६ कैदीबन्दी रहेका छन् ।

कैदीबन्दीलाई कोचाकोच गरी राखिएको छ । कारागारमा दुई आश्रित नाबालकसमेत रहेको जेलर रामकुमार सुन्दरले बताए । बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ । कैदीबन्दीलाई विभिन्न रोगको जोखिम छ’ उनले भने, उनीहरूलाई उपचारका लागि भेरी अस्पताल लैजाने गरिएको छ ।
कारागारको भौतिक संरचना पनि जीर्ण हुँदै गएको छ। स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन् । कारागार वरिपरिको वातावरण एकदमै दुर्गन्धित छ। कारागारबाट निस्केको फोहर त्यही वरपर फाल्ने गरिएको छ । ढल निकासको व्यवस्था छैन । फोहर बढी भएकाले कैदी पनि अधिक सङ्ख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ ।
फोहरकै कारण कैदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो भएको छ । बिरामीमा रोग सङ्क्रमणको त्रास बढेको कारागार प्रशासनले जनाएको छ ।
स्रोत : सेतोपाटी






