मेरो पौरख, मेरो गौरव : सियोधागोले खुशी सिउँदै सपना र टीका

सिर्जना बुढाथोकी/सुर्खेत
चितवन जिल्लामा जन्मिएर सुर्खेतलाई कर्म घर बनाएकी सपना चौधरी एक छोरीकी आमा हुन् । उनकी ४ वर्षकी छोरी छिन् । उनका श्रीमान रोजगारीको शिलशिलामा साउदीमा छन् । सासूससुरा, नन्द र छोरीको साथमा बस्ने उनलाई कहिल्यै फुर्सद हँुदैन । घरधन्दा, छोरीको स्याहारसुसारबाट बचेको समय उनले कपडा सिलाउने काम गर्छिन् । उनका श्रीमान घरका एकमात्रै छोरा भएकाले पनि उनको काँधमा परिवार सबैको जिम्मेवारी परेको छ ।
बुढा बाआमा, बहिनी, छोरी सबैको खर्चका लागि उनी कपडा सिलाउने काम गर्छिन । शुरु शुरुमा एकदुई जनाले विश्वास मानेर कपडा सिलाउन दिएका उनलाई अहिले कपडा सिलाउन भ्याई नभ्याई हुने गरेको छ । ‘शुरुमा म यहाँको लागि नयाँपनि थिएँ फेरि कस्तो पो सिलाउने हो भन्दै विश्वास मान्दैन थिए’, उनले भनिन्, ‘मैले चितवनमै सिलाउन सिकेकी हुँ, अहिले मोबाइलमा आएका डिजाइन लिएर सिलाउँन आउँछन्’ ।

लाटीकोइलीमा रहेको आप्mनै घरमा सियोधागो र सिलाई मशिन चलाउँदै आएकी सपनाले दैनिकजसो ५ जोरसम्म कपडा सिलाउने गरेको बताइन् । ‘सिजनमा त २५—३० हजारसम्मनै कमाई हुन्छ, अझ सिलाउने समयनै मिल्दैन’, उनले भनिन्, ‘सिजन नभएको बेलापनि लगभग १५ हजार बढिकै कमाई हुन्छ’ ।
आपूmले यो सीप सिकेर धेरै राम्रो काम गरेको उनको अनुभव छ । ‘काम नजानेको भए घरधन्दा अनि श्रीमानले विदेशमा दुःख गरेर कमाएको पैसा केहि बच्ने थिएन सायद’, उनले भनिन्, ‘म आफूले गरेको कमाईबाट मात्रै घरव्यवहार, छोरीको पढाई हरेक यहिबाट टरेको छ’ ।
अहिले छोरीलाई राम्रै प्राइभेट स्कुलमा पढाएको, नन्दको पढाईदेखि सबै खर्च, सासूससुरालाई आवश्यक सम्पूर्ण खर्च आफ्नै कमाईबाट चलाएर श्रीमानको कमाई बचाएर घर बनाएको उनले खुशीका साथ सुनाईन । पौरख गरे कोहिकसैको पनि भनाई केहि सुन्न नपर्ने र आपूm व्यस्त हुँदा आम्दानीसंगै आत्मसन्तुष्टि मिल्ने उनको अनुभव छ ।

आफ्नो यहि सिलाई पेशामा खुशी मिलेको भन्दै उनले खाली समय यत्तिकै बसेर बिताउनु भन्दा केहि सीप सिकेर काम गर्न सके आत्मनिर्भर बन्न सकिने र सानातिना खर्चको लागी कोहिकसैको भर पर्नुनपर्ने सुझाव दिईन ।
यस्तै, टीकाकुमारी श्रेष्ठ पनि सिलाई कटाईबाटै आत्मनिर्भर बनेकी छिन् । नेपाल आर्मीमा रहेका उनका श्रीमानको कमाईमा मात्रै परिवार सीमित भएपछि सघाउन विगत १८ वर्षदेखि उनी कपडा सिलाउने काम गर्छिन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ मंगलगढी चोक नजिकैको पसलबाट हुने कमाईकाजबाट उनले आप्mना एक छोरा र एक छोरी बोर्डिङ्ग स्कुलमा पढाएकी मात्र छैनन् अरु तीन जनालाई आप्mनै पसलमा रोजगारी पनि दिएकी छन ।
३८ वर्षिय टीका बिहे गरेपछि घरमा खाली बस्नु भन्दा केहि सीप सिक्छु र आत्मनिर्भर बन्छु भन्दै यो पेशामा संलग्न बनिन् । अहिले सिजनमा उनले ४० हजार भन्दा बढि र बिना सिजनमा पनि २० हजारभन्दा बढि आम्दानी गर्ने गरेको बताईन् । ‘खाली समय फालेर के गर्नु व्यस्त पनि भइन्छ अनि आम्दानी पनि हुन्छ’, उनले भनिन्, ‘छोराछोरीको सामान्य खर्चपनि कति हुन्छ, श्रीमानसंग कति माग्नु ? आफै कमाउँछु आफै रमाउछु’ ।
आफैले कमाउने भएपछि घरखर्चदेखि हरेक खर्चसम्म आफैले गर्न पाउँदा निकै खुशी लाग्छ । छोराछोरीले केहि खान मन लाग्यो भन्दा पनि आफ्नै पकेटबाट दिन पाउँदा जिम्मेवार आमा भएको महशुस हुने उनको भनाई छ । महिलाले केहि गर्न सक्दैनन् भन्ने सोचलाई परिवर्तन गर्न यसरीनै सबै आत्मनिर्भर बन्न सके कोहि दुःखी हुनु नपर्ने उनको भनाई छ ।







