वीरेन्द्रनगरका पाँच मन्टेश्वरी बन्द गर्न निर्देशन

पुनम वि.सी.
सुर्खेत, ८ भदौ ।
वीरेन्द्रनगर नगरपालिकाले अनुमतिबिना सञ्चालनमा ल्याइएका वीरेन्द्रनगरका पाँच वटा मन्टेश्वरी बन्द गर्न निर्देशन दिएको छ । संस्थागत विद्यालयहरुको अवस्था अध्ययन गर्ने क्रममा नगरपालिकाले अनुमति नलिएर सञ्चालनमा रहेका विद्यालय, ट्युसन सेन्टरलगायत कक्षागत अनुमति समेत नभएका शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको हो ।

अनुगमनकै क्रममा वीरेन्द्रनगरमा अनुमति बेगर सञ्चालनमा रहेका पाँच वटा मन्टेश्वरीहरुलाई सञ्चालनमा रोक लगाइएको नगर शिक्षा प्रमुख धिरेन्द्रप्रसाद शर्माले जानकारी दिए । जसमा वीरेन्द्रनगर–६ को ह्याप्पी किण्डरगार्टेन, पुष्पाञ्जली मन्टेश्वरी, वडा नं.–५ को मर्निङ्ग स्टार, वडा नं.–८ को ब्राइट फ्युचर र वडा नं.–७ को किड्सल्याण्ड मन्टेश्वरीलाई सञ्चालनमा रोक लगाइएको हो ।

सञ्चालनमा रोक लगाइएका मन्टेश्वरीमध्ये किड्सल्याण्डरीले वडा कार्यालयबाट सञ्चालन अनुमति लिएपनि नगर शिक्षा शाखाको स्वीकृति अनिवार्य हुने नगर शिक्षा प्रमुख शर्माले बताए । ‘नगरबाट नै अनुमति लिनुपर्नेमा वडाबाट लिइएको अनुमतिले सञ्चालन गर्न मिल्दैन । यसबारेमा नगरको बैठक बसी हामी निर्णय गर्नेछौँ ।’ उनले भने,‘सञ्चालन अनुमति नलिएका बाँकी सबै मन्टेश्वरीलाई भन बन्द गर्न भनेका छौं ।’

विद्यालय तथा शैक्षिक संस्थानहरुलाई अनुमति लिनका लागि गत वर्ष २०७८ को माघ महिनामै सूचना जारी गरेको नगरपालिकाले यो वर्ष जेठमापनि सूचना जारी गरी साउन २५ गतेका लागि अन्तिम म्याद दिएको थियो । यता, मन्टेश्वरी सञ्चालकहरुले भने नगरपालिकाको सूचनाबारे जानकारी नपाएका कारण ढिलाई भएको प्रतिक्रिया दिएका छन् ।

वीरेन्द्रनगरमा मन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरका रुपमा ३६ वटा मन्टेश्वरी नगरसँग अनुमति लिएर कक्षा सञ्चालन गरिरहेका छन् । जसमध्ये १६ वटा मन्टेश्वरीले विद्यालयको पूर्व प्राथमिक कक्षा सञ्चालन गरिरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

सामुदायिक विद्यालय वा संस्थागत विद्यालय खोल्न तोकिएको विवरण खुलाई वडा शिक्षा समितिको सिफारिशसहित नगर शिक्षा प्रमुख समक्ष अनुमतिका लागि निवेदन दिनुपर्ने नगर शिक्षा ऐनमा उल्लेख छ ।

विद्यालय खोल्न अनुमतिका लागि शैक्षिक सत्र शुरु हुनुभन्दा तीन महिना अगावै निवेदन दिनुपर्छ । पूर्वप्राथमिक विद्यालय तथा कक्षा थप गर्न चाहने विद्यालयहरुले भने शैक्षिक सत्र शुरु हुनुभन्दा दुई महिना अगावै नगरपालिकाको शिक्षा प्रमुख समक्ष निवेदन दिनुपर्ने ऐनमा व्यवस्था छ । विद्यालय खोल्ने अनुमति लिदा तहगत रुपमा तीन लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने ऐनमा उल्लेख छ ।

अनुमति नलिई विद्यालय तथा कक्षा सञ्चालन गरेमा वीरेन्द्रनगर नगरपालिका शिक्षा ऐन, २०७४ मा दण्डसजायको समेत व्यवस्था गरिएको छ । ऐनको दफा ६१ को उपदफा (२) मा ‘अनुमति नलिई मन्टेश्वरी कक्षा, कुनै शैक्षिक कार्यक्रम, शैक्षिक परामर्श सेवा, ब्रिज कोर्स, ट्युसन वा कोचिङ्ग सेन्टर, कम्प्युटर, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गरेमा’ दण्ड सजायको समेत व्यवस्था गरिएको छ ।

वीरेन्द्रनगरमा सामुदायिकतर्फ ६६ र संस्थागत तर्फ ८८ वटा विद्यालय सञ्चालनमा रहेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । संस्थागत विद्यालयतर्फ आधारभूत तह सञ्चालन गरिरहेका विद्यालयहरुमा १–३ कक्षा सम्मका ११ वटा, १–५ कक्षा सम्मका १३ वटा, र १–८ कक्षा सम्मका १८ वटा विद्यालय सञ्चालनमा छन् ।  माध्यमिक तह अन्र्तगत वीरेन्द्रनगर १–१० कक्षासम्म अध्यापन गराईरहेका २० वटा र १–१२ कक्षासम्म अध्यापन गराईरहेका २६ वटा विद्यालय वीरेन्द्रनगर भित्र सञ्चालनमा रहेको नगरको तथ्यांक छ ।

वीरेन्द्रनगरका पाँच मन्टेश्वरी बन्द गर्न निर्देशन

मेरो पौरख, मेरो गौरव : सियोधागोले खुशी

वीरेन्द्रनगरका पाँच मन्टेश्वरी बन्द गर्न निर्देशन

दुर्घटना कम गर्न ट्राफिक प्रहरीको अग्रसरता

Leave a comment

Your email address will not be published. Required fields are marked *