दुर्घटना कम गर्न ट्राफिक प्रहरीको अग्रसरता

सुर्खेत, ८ भदौं ।
कर्णाली प्रदेश र खासगरी राजधानी सुर्खेतमा सवारी दुर्घटनाको संख्या बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न प्रदेश ट्राफिक प्रहरी अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले सक्रियता बढाएको छ ।
पहाडी सडकमा रहेका गम्भिरखालका मोडहरुमा विपरित दिशाबाट आएको गाडि नदेख्दा हुनसक्ने दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरीले सुर्खेतका १६ ठाउँमा कन्भेक्स मिरर जडान गरेको छ । ‘पहिलो चरणमा हर्रेदेखि बड्डीचौर र सुर्खेतका विभिन्न ठाउँ हँुदै छेडासम्म कन्भेक्स मिरर जडान गरिएको कार्यालयका प्रमुख प्रदेश ट्राफिक प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
‘सर्लक्कै घुमेका घुमाउरा मोडहरुमा एकअर्को गाडी नदेखिने हुँदा दुर्घटनाको बढि सम्भावना हुने भएकाले अगाडिबाट आएको सवारी साधनहरु कन्भेक्स मिररमा टाढैबाटपनि सजिलै देख्न सकिनले उनको भनाई छ । ट्राफिक प्रहरीले कर्णाली प्रदेशलाई सडक सुरक्षाका दृष्टिले सुरक्षित क्षेत्र बनाउन प्रदेश, जिल्ला र पालिकास्तरीय सडक सुरक्षा सम्मेलनमार्फत कार्ययोजना तयार पार्ने र लागू गर्ने योजना बनाएको उनले उल्लेख गरे ।

सडक डिभिजनहरुसँग मिलेर ट्राफिक प्रहरीले धेरै कामहरु गरेको जानकारी दिदै उनले केहि कामहरु पाईपलाईनमा भएका र केही नयाँ योजनाहरु पनि बनाइएकोे जानकारी दिए । नयाँ योजना अन्तर्गत चेक प्वाईण्टहरुलाई आधुनिकीकरण गर्ने, फोरलेनमा फुटपाथ बनाउने, क्रयास व्यारियर र क्याटआई राख्ने, रोड मार्किङ, जेब्रा क्रसिङ मार्किङ गर्ने लगायतका कामहरु पनि क्रमश गर्दै जाने उनको योजना छ ।
सेल्फ एक्सप्लेनिङ्ग एण्ड फर्गिभिङ्ग रोडको अवधारणामा आफुहरुले काम गरिरहेको प्रहरी उपरीक्षक तिवारीको भनाई छ । अघिल्लो वर्षको तुलनामा सडक दुर्घटनाबाट हुने मृ्त्युलाई आधामा सीमित गर्ने आफ्नो लक्ष्य रहेको पनि प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए ।
सुर्खेतको बाङ्गेसिमलदेखि दैलेखको दहीखोलासम्म, हर्रे–छिञ्चुदेखि जाजरकोटको छेडासम्मको सडक खण्ड तथा सुर्खेत कपासेदेखि दैलेख सदरमुकामसम्मको सडक खण्डमा सडक सुरक्षाको लागि आवश्यक पर्ने ट्राफिक चिन्हहरु राख्न थालिएका छन ।
कुन ठाउँमा कस्ता सचेतनात्मक चिन्ह राख्दा उपयुक्त हुन्छ भनेर सडक डिभिजन कार्यालय सुर्खेतको प्राविधिक समूहसहितको टोलीसंग संयुक्त स्थलगत अनुगमन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
अहिले वीरेन्द्रनगरभित्रका राजमार्ग र मूलसडकहरुमा ट्राफिक चिन्ह तथा सडक संकेतहरु राख्ने, सडक मार्किङ्ग गर्ने काम सडक डिभिजन कार्यालयबाट भईरहेको छ । दुई पटकको लकडाउनको अवधि छाडेर पछिल्ला तीन आर्थिक वर्षमा कर्णालीमा भएका सवारी दुर्घटनामा ३ सय ९२ जनाको मृत्यु भएको थियो ।






