मनपरी भाडा असुल्दै यातायात व्यवसायी

कालिकोट, ९ असार ।
कालीकोटमा यातायात व्यवसायीले मनपरी भाडा असुलिरहेको पाइएको छ । कालीकोट सदरमुकाम मान्मबाट देशका विभिन्न क्षेत्रमा चल्ने यातायातका साधनमा मनपरी भाडा लिएको पाइएको हो । कालीकोटको जितेबाट सुर्खेत जाँदै गरेका सान्नीत्रिवेणी– ६, का मुक्तिप्रसाद सज्यालले विभिन्न यातायात समितिको भाडा दर फरक–फरक रहेको बताए ।
उनले आफूले तीनवटा समितिसँग कुरा गर्दा सबैले फरक–फरक भाडा दर सुनाएको भन्दै कम भाडा लिने बसमा आफू सुर्खेत गएको बताए । जितेबाट सुर्खेत जाँदा भाडा वृद्धिसहित जोड्दा एक हजार एक सय हुनुपर्ने हो तर व्यवसायीले एक हजार तीन सयसम्म लिने गरेको पाइएको छ ।

रास्कोट नगरपालिका–२ का शान्ताकुमारी रोका मगरले सुर्खेत जाँदा एक हजार तिरेको सुनाउँदै फर्किंदा सुर्खेतबाट एक हजार एक सयको टिकट काटेको बताइन । भाडा फरक भएका बारेमा काउन्टरका कर्मचारी देविन्द्रबहादुर शाहीले अझै यो भाडा सस्तो भएको सुनाए ।
समितिले सुर्खेतसम्मको भाडा एक हजार सात सय तोकेको बताउँदै यात्रुलाई धेरै मार नपारौँ भनेर सस्तोमा टिकट काट्ने गरेको दाबी गरे । पुरानो भाडादर आफूसँग भएको र नयाँ वृद्धि भएको भाडादर आफूसँग नभएकाले डीएसपीसँग कुरा गरेर नयाँ सूची मगाउने ट्राफिक प्रहरीहरूको भनाइ छ ।
जिते बजारदेखि रास्कोटको सेराचौरसम्म ३३ किलोमिटर सडक छ । यो सडकमा प्रतिव्यक्ति एक हजार रुपियाँ भाडा नागरिकले तिर्नु परिरहेको यात्रुको गुनासो छ । रास्कोटदेखि सुर्खेतसम्म १७० किलोमिटर छ । तर, भाडा दर प्रतिव्यक्ति तीन हजार रुपियाँ लिने गरिएको छ ।
तेलको मूल्य दिन प्रतिदिन बढिरहेकाले यातायात व्यवस्था विभागले पनि भाडादर कायम गर्न नसकेकाले नियमन गर्न समस्या भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख सिद्दराज न्यौपानेले आधिकारिक सूचना नआएकाले भाडा दर वृद्धिको समाचार मात्र सुनेको बताउनुभयो । तेलको मूल्य बढिरहेकाले भाडा पनि बढाउने काम जारी रहेको जानकारि दिएका छन् ।
स्रोत : गोरखापत्र






