चार्ल्स शोभराज शुक्रबारमात्रै कैदमुक्त हुने

काठमाडौँ ,७ पाैष ।

हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार रिहा हुने भएका छन् । सर्वोच्च अदालतको बुधबार र काठमाडौं र भक्तपुर अदालतको बिहीबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुने भएका हुन् ।

केन्द्रीय कारागार प्रशासनले शोभराजलाई फ्रान्स फिर्ता पठाउने गरी शुक्रबार अध्यागमन विभागको जिम्मा लगाउने भएको हो । कारागारले बिहीबार साँझ नै शोभराजलाई अध्यागमन विभाग पठाउने तयारी गरेको थियो । छुट्टै ‘डिटेन्सन रुम’को व्यवस्था गर्नुपर्ने कारण देखाउँदै विभागले उनलाई शुक्रबार ल्याउन कारागारलाई भनेको हो ।

सर्वोच्च अदालतले उमेर र स्वास्थ्य अवस्था अनि कारागार नियमावलीबमोजिम शोभराजलाई कैद बस्नु पर्ने बाँकी समय अगावै रिहा गरेर १५ दिनभित्र फ्रान्स फिर्ता गर्न आदेश दिएको थियो । त्यसकै आधारमा शोभराजविरुद्ध मुद्दा चलेको भक्तपुर अदालतले सर्वोच्चको फैसला कार्यान्वयनका लागि कारागारलाई पत्र पठाएको थियो ।

तर, शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि ज्यान मार्ने उद्योग र जाली राहदानीको कसुरका दुई मुद्दा देखिएपछि कारागार व्यवस्थापन विभागले यसबारे आवश्यक निर्णय गरिदिन काठमाडौं अदालतलाई अनुरोध गरेकोमा अदालतले सर्वोच्चको आदेशबमोजिम गर्न भनेपछि रिहाई प्रक्रिया अघि बढेको थियो । त्यसपछि केन्द्रीय कारागारले जेलमुक्त गरेर शोभराजलाई अध्यागमन विभाग पठाउने तयारी गरेपनि प्राविधिक कारण रिहाई शुक्रबारमात्र हुने भएकाे  हो ।

शोभराजको रिहाइका लागि कानुनी प्रक्रियामा संलग्न गोपाल शिवाकोटीले बिहीबार नै कैदमुक्त हुने भनिए पनि प्राविधिक कारण शुक्रबारलाई सरेको बताए ।

‘वृद्ध मान्छे, अध्यागमन विभागमा पनि छुट्टै डिटेन्सन रुमको व्यवस्था गर्नुपर्ने भएर शुक्रबार त्यसको प्रबन्ध मिलाएपछि मात्रै ल्याउन भनेपछि आज उहाँ (शोभराज) रिहा हुनु भएन,’ शिवाकोटीले कान्तिपुरसँग भने, ‘अब शुक्रबार कैदमुक्त भएर अध्यागमनमा जानु हुने छ । त्यसपछि कहिले आफ्नै देश फिर्ता हुने भन्ने विषय अध्यागमनको निर्णयमा भर पर्छ ।’

चार्ल्स शोभराज शुक्रबारमात्रै कैदमुक्त हुने

YUGAAWHAN NATIONAL DAILY (2079-09-07)

Leave a comment

Your email address will not be published. Required fields are marked *