ऋण लिएर कर्णालीका ग्रामीण बस्तीमा विद्युतीकरण गर्दै प्राधिकरण

सुर्खेत, ८ चैत्र ।
कर्णालीमा झण्डै ४५ प्रतिशत क्षेत्रमा मात्रै विद्युतीकरण भएको छ । प्रदेशका २२ नगरपालिका र २१ गाउँपालिकामा मात्र विद्युतको पहुँच छ । सात सय १८ वडा मध्ये तीन सय ९३ वडामा विद्युतीकरणले छोएको छ ।
नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार हाल प्रदेशका तीन वटा नगरपालिका र ३३ वटा गाउँपालिका विद्युतको पहुँचभन्दा बाहिर छन् । मुगु, हुम्ला र डोल्पामा विद्युतको राष्ट्रिय प्रशारण लाइन नै पुगेको छैन ।
यही समस्यालाई मध्यनजर गर्दै सरकारले ऋण लिएर कर्णालीमा विद्युतिकरण गर्ने योजना अगाडि सारेको छ । कर्णालीमा विद्युतीकरणका लागि सरकारले एसियाली पूर्वाधार लगानी बैंक (एआइआईबी) र युरोपेली लगानी बैक (इआईबी) बाट करिब २५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाए ।
केही दिनअघि सुर्खेतमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एआइआईबी र इआईबीसँग लिएको ऋणबाट कर्णालीसहित, लुम्बिनी र सुदुरपश्चिमका ग्रामीण बस्तीमा विद्युतीकरण गरिने बताए । चालू आर्थिक बर्ष २०७८/७९ मा मात्रै कर्णाली प्रदेशमा विद्युतीकरणका लागि ६४ करोड रुपैयाँ बजेट छ ।
यो बजेटबाट विद्युतीकरणका लागि सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम, जाजरकोट, कालिकोट र जुल्लामा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रिड) र हुम्ला, मुगु र डोल्पामा लघुजलविद्युतमार्फत विद्युत् आपूर्तिका लागि दीर्घकालीन योजनाहरु सञ्चालन गरिएका छन् । केही योजनाहरु सञ्चालनको क्रममा छन् भने केही योजनाहरु कार्यान्वयनको चरणमा पुगि सकेका छन् ।
प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन नपुगेका जिल्लामा ग्रिडलाइन र प्रसारण लाइन नपुगेका क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धधन केन्द्रमार्फत सौर्य, लघुजलविद्युत (माइक्रोहाइड्रो) जस्ता योजनाबाट विद्युतीकरण गर्ने रणनीति बनाएको छ ।
राष्ट्रिय प्रसारणलाइन पुगेका जिल्लाहरुमा चालु आर्थिक बर्षमा ३३/११ केभी वितरण सवस्टेसनहरु निर्माण भइरहेका छन् । भरपर्दाे विद्युतीकरणका लागि कोहलपुर–सुर्खेत–दैलेख एकसय ३२ केभी प्रसारण लाइन र सुर्खेत तथा दैलेखमा एकसय ३२/३३/११ केभी सबस्टेसन निर्माण भइरहेका हुन् ।
कालिकोटमा पुग्यो ३३ केभीए प्रसारण लाइन
कालिकोटमा ३३ केभीए विद्युत प्रसारण लाइन पुगेको छ । गएको शुक्रबार दुल्लुदेखि कालिकोट ३३ केभीए प्रसारण लाइन संचालनमा आएको हो ।
योसँगै कालिकोटमा ३३ केभीए विद्युत प्रसारण लाइन सुरु भएको हो । यसअघि कालिकोटमा ११ केभीमा विद्युत प्रवाह हुँदै आएको थियो । दैलेखको दुल्लुदेखि कालिकोटको मान्मसम्म ३३ केभीए लाइन सञ्चालनमा आएको प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए ।
यो कार्यसँगै कालिकोटको सदरमुकाम मान्मबाट जिल्लाका सबै पालिकाको केन्द्रसम्म विद्युत प्रसारण लाइन विस्तारको काम अगाडि बढाइने छ ।
अहिलेसम्म जिल्लाको नौ स्थानीय तहमध्ये तीन पालिकामा मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ । प्रसारण लाइन ३३ केभीमा सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत वितरण प्रणालीको गुणस्तरमा सुधार हुनेछ ।
सल्यानमा चार हजार ग्राहक थपिँदै
सल्यानमा चार हजार ग्राहक थपिन थालेका छन् । विद्युत प्राधिकरणको सल्यान वितरण केन्द्रले चैतभित्रै चार हजार ग्राहक थपिने जनाएको छ । हाल जिल्लाभर १६ हजार सातसय ग्राहक छन् ।
वितरण केन्द्रका प्रमुख अशोक लोहनीका अनुसार छत्रेश्वरी र त्रिवेणी गाउँपालिका, वनगाड कुपिण्डे र शारदा नगरपालिकामा ७० देखि ८० प्रतिशत विद्युतीकरण गरिएको छ ।
कालीमाटी, कपुरकोट, कुमाख, सिद्वकुमाख गाउँपालिकामा करिब ४५/५० प्रतिशत विद्युतीकरण विस्तार भएको छ । प्राधिकरणले चालु आर्थिक बर्षको बजेटबाट सबै स्थानीय तहमा विद्युतीकरण विस्तार गरिरहेको छ । जिल्लालाई पूर्णरुपमा विद्युतीकरण गर्न अझै तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।
रुकुममा सवस्टेसन सञ्चालन
सोमबारदेखि रुकुमपश्चिममा दुई वटा सवस्टेसन सञ्चालनमा आएका छन् । मुसिकोटमा निर्माण सम्पन्न भएको ३३÷११ केभीए सवस्टेसन सञ्चालनमा आएका हुन् ।
सवस्टेसन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले औपचारिक उद्घाटन गरेको नेपाल विद्युत प्राधिकरण रुकुमपश्चिम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए ।
२०७५ सालमा निर्माण सुरु भएको सवस्टेसन गत फागुनमा निर्माण सम्पन्न भएको हो । आठ करोड ८७ लाख रुपैयाँ सवस्टेसन निर्माण भएको हुन् ।
सवस्टेसबाट रुकुमपश्चिम र रुकुमपूर्वमा गुणस्तर विद्युत वितरण गरिने छ । यस्तै भोल्टेजमा सुधार, ट्रिपिङमा कमी, चुहावट नियन्त्रण हुने अपेक्षा छ । मुसिकोटमा मात्रै प्राधिकरणका एक हजार पाँच सय ग्राहक छन् ।





