सुर्खेतमा २२ हजार मतदाता थपिए, मतदाता नामावली वडामा पठाइदै

सुर्खेत, ९ फागुन ।
पछिल्लो चार बर्षमा सुर्खेतमा २२ हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले संकलन गरेको प्रारम्भिक तथ्याङ्कले २२ हजार चारसय ८२ जना नयाँ मतदाता थपिएको देखाएको हो ।
गएको माघ २५ गतेसम्म आयोगले गाउँगाउँमा पुगेर फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो । यद्यपि यो अन्तिम भने होइन । मृत्युदाबी, बसाइसराइ र बाह्य जिल्लाबाट मतदाता टिपाएका मतदाताको रुजु भएपछि मात्रै नयाँ मतदाताको संख्या एकीन हुनेछ ।
प्रारम्भिक तथ्याङ्कअनुसार आयोगले आगामी निर्वाचनमा जिल्लाको मतदाता संख्या दुई लाख ४७ हजार पुग्ने अनुमान गरिएको छ । अघिल्लो निर्वाचनमा एकलाख ६ हजार तीनसय २५ पुरुष र एकलाख ११ हजार सातसय १८ महिला गरेर कुल दुई लाख १८ हजार ४३ जना मतदाता थिए ।
फागुन १९ गते मतदाताको विवरण वडामा पुग्ने
निर्वाचन आयोगले फागुन १९ गते मतदाताको विवरण वडा कार्यालयसम्म पु¥याउने भएको छ । सोहीदिन स्थानीय तह र वडा कार्यालयमा मतदाताहरुको नामावली टाँस गरिने छ । मतदाताको विवरण एकीन मतदाताहरुको नामवली सार्वजनिक गर्न लागिएको हो ।
सार्वजनिक नामावलीमा मृत्यु भएका व्यक्तिको नामावली समावेश भए हटाउन र मतदाता नामावली कुनै त्रुटी भए सच्याउन अवसर दिइने छ । मतदाताको नामावली एकीन भएपछि चैत १३ गते अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन अधिकारी चालिसेको भनाइ छ । आयोगले मतदाता नामावली सार्वजनिक गरेपछि मात्रै मतदाताको एकीन हुनेछ ।
परिचयपत्र हराएकालाई निवेदन दिन आग्रह
निर्वाचन आयोगले मतदाता परिचयपत्र (कार्ड) हराएका व्यक्तिलाई निवेदन दिन आग्रह गरेको छ । वडा कार्यालयको सिफारिससहित यही फागुन २० गतेभित्र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन आयोगले आग्रह गरेको हो ।
अघिल्लो निर्वाचनदेखि कार्यालयले मतदानका लागि मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरेको छ । यसअघि कार्ड बुझिसकेको तर कुनै कारणवस र मतदाताकार्ड पहिचान गर्न मुस्कील हुने मतदाताहरुले आयोगमा निवेदन दिन सक्नेछन् । निवेदनका आधारमा आयोगले नयाँ मतदाता कार्ड उपलब्ध गराउने छ ।






