‘संधै प्रचण्डको अन्याय कति सहने’ भन्दै माओवादी सचेतक एमाले प्रवेश गर्दै

सुर्खेत, ६ चैत्र ।
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सभा सदस्य तथा प्रदेश सभामा दलका प्रमुख सचेतक ठम्मर विष्ट नेकपा एमाले प्रवेश गर्ने भएका छन् । पार्टीभित्र अन्याय भएको भन्दै प्रदेश सभा सदस्य, पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिएका सांसद विष्टले एमाले रोज्ने भएका छन् ।
आइतबार बिहान ११ बजे वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको वृहत भेला कार्यक्रममा उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले सुर्खेतका एक नेताले जानकारी दिए । उनलाई नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ,’ ती नेताले भने ।
विष्टले फागुन २७ गते इमेलमार्फत प्रदेशसभा सचिवालयलाई राजीनामा पत्र पठाएका थिए । शुक्रबार कर्णाली प्रदेश सभाका सभामुख समक्ष प्रदेश सभा सदस्य छोडेको सनाखत गरेका बिष्ट त्यसको ठिक दुई दिन पछाडीनै एमाले प्रवेश गर्ने भएका हुन् ।
बिहीबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले बिष्टलाई राजीनामा फिर्ता लिन र पार्टी काममा फर्कन निर्देशन दिए पनि उनले उक्त निर्देशन दिएपनि उनी माओवादीमा एकवद्ध हुन चाहेनन् । आइतबार बिहान कुरा गर्दै विष्टले व्यङ्ग्यात्मक तरिकाले भने, ‘पार्टी प्रवेश होइन एकता गर्ने हो । संधै प्रचण्डको अन्याय कति सहिरहने ।’
उनले आफूमात्र नभई सुर्खेत निर्वाचन क्षेत्र नं.–१ मा रहेका माओवादी नेता, कार्यकर्तालाई पनि एमालेमा प्रवेश गराउने संकेत गरे । यदि उनले त्यसको गरेको खण्डमा उक्त क्षेत्रमा कमजोर रहेको माओवादी अझ कमजोर बन्ने देखिन्छ ।







