‘आमाबुवाकै इच्छा बमोजिम सरकारी जागिरमा जोडिएँ’


आमाबुवा जन्मदाता मात्रै होइनन्, जीवनका मार्गनिर्देशक पनि हुन् । अपवाद बाहेक प्रायः व्यक्तिहरु अभिभावकले देखाएकै बाटोमा हिँड्छन् । ठिक त्यस्तै गरे विनोद रेग्मीले पनि । निजामति क्षेत्रमा आउने न उनको चाहना थियो, न त लक्ष्य नै । तर समय परिस्थितिले यही क्षेत्रमा डोहोरयायो ।
कारण, आमाबुवा सरकारी क्षेत्रमा जोडिएका थिए । आमा शिक्षिका र बुवा निजामति क्षेत्रमा कार्यरत थिए । दुबैको इच्छा विनोदलाई सरकारी जागिरे बनाउने थियो । आमाबुवाकै प्रेरणाका कारण उनी २०७४ सालदेखि निजामति क्षेत्रमा जोडिएका छन् । प्रस्तुत छ, हाल कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उनै रेग्मीको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंशः
मेलापात गर्नु परेन
बुवा नवराज र आमा रेवताकुमारी रेग्मीका एक मात्र छोरा हुन् विनोद । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरामा वि.सं. २०५० साल असोज १६ गते उनको जन्म भएको हो ।
बुवाआमाको पहिलो सन्तानको रुपमा जन्म लिएका विनोदको बाल्यकाल भने सुखद् रह्यो । मध्यम वर्गीय परिवारमा हुर्किएका उनले अभावहरू झेल्नु परेन । बुवा निजामती र आमा शिक्षण पेशामा सक्रिय थिए । यही कारण आर्थिक अभावहरु भोग्नु परेन । शहरी क्षेत्रमा हुर्किएका उनले मेलापात गर्नु परेन ।
क्रिकेटका पारखी
विनोद सानैदेखि खेलकुद र साहित्यमा विशेष रुचि राख्थे । क्रिकेटका उनी पारखी नै थिए । ‘क्रिकेट खेलेरै बाल्यकाल बिताएँ’ उनी भन्छन्, ‘सानैदेखि खेल र साहित्यमा मेरो विशेष रुची थियो ।’ भ्याएसम्म विद्यालयस्तरीय क्रेकेट प्रतियोगितामा पनि भाग लिन्थे ।
साहित्य क्षेत्रमा पनि उत्तिकै रुची थियो । अंग्रेजी पत्रिका द हिमालयन टाइम्सका लेख रचना हेरिरहन्थे । लेखरचना पढ्नको लागि पत्रिकाको वार्षिक ग्राहक नै बनेका थिए ।
पढाइमा अब्बल
विनोद पढाइमा सानैदेखि अब्बल थिए । राम्रा–राम्रा शिक्षण संस्थाहरूमा पढ्ने अवसर समेत पाएका थिए । घोराही उपमहानगरपालिकाको गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलबाट उनले कखरा सिके । त्यहाँ नर्सरीदेखि कक्षा १ सम्म मात्रै अध्ययन गरे । त्यस पश्चात तुलसीपुरको आइडीएल इङ्लिस बोर्डिङ स्कूलबाट कक्षा २ देखि ८ सम्म र तुलसी आवासीय उच्च माध्यमिक विद्यालयबाट कक्षा ९ र १० अध्ययन गरे ।
२०६५ सालमा विशिष्ट श्रेणीमा एस.एल.सी. पास गरेका उनले त्यसपछि भने राम्रो गर्न सकेनन् । ‘एसएलसीपछि पढाइमा ध्यानै गएन’ उनी भन्छन्, ‘दुई वर्षे प्लसटु पार गर्न झण्डै आठ बर्ष कुर्नुपर्यो ।’ हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज, काठमाडौंबाट विज्ञान संकायमा प्सलटु पास गरेका उनले धेरै हन्डर ठक्कर खाए । साथीभाइको संगत र पढाइप्रति रुचि नहुँदा आठ बर्षपछि मात्रै प्लसटु पास गरे । त्यसपछि दाङमै फर्किएका उनले त्यहीबाट स्नातक तह पास गरे ।
पहिलो प्रयासमै सरकारी जागिर
उच्च शिक्षा सोचेजस्तो नभएपछि विनोद दाङ फर्किए । त्यसपछि व्यापार गर्ने योजना बनाए । तर आमाबुवाले सरकारी जागिर मै लाग्न सुझाव दिए । अभिभावककै सल्लाहमा २०७३ सालको मध्य देखि निजामतिको तयारीमा जुटे । सोही बर्ष नायव सुब्बा र खरिदारको फर्म भरे । तर तयारी नपुगेको भन्दै खरिदारको मात्रै परीक्षा दिए ।
‘खरिदारमा पनि सफल हुन्छु भन्ने लागेको थिएन’ उनी भन्छन, ‘भाग्यले साथ दियो, पहिलो प्रयासमै पास भएँ ।’ खरिदारमा पास हुन्छु भन्ने विश्वास नलागेकै कारण उनी नजिता आउनुअघिसम्म खरिदारकै तयारी कक्षा लिइरहेका थिए । नजिता आएपछि २०७४ चैत १३ गतेदेखि निजामती क्षेत्रमा प्रवेश गरे । तुलसीपुरकै उच्च सरकारी वकील कार्यालयलाई कर्मथलोको रुपमा रोजे ।
करिब ६ महिनापछि पुनः नायव सुब्बामा नाम निकाल्न सफल भए । त्यसपछि रुकुमपश्चिको बाँफीकोट गाउँपालिकालाई कार्यक्षेत्र रोजे । त्यहाँ पनि करिब ६ महिना सेवा गरे । संघीयतासँगै कर्मचारी समायोजन भयो । समायोजनपछि २०७६ साल असोज ६ गतेदेखि कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भई कार्यरत छन् ।
निजामतिमा अब्बल व्यक्ति खाँचो
समय र प्रविधि अनुसार निजामती सेवा पनि परिस्कृत छ । निजामती क्षेत्रलाई अब्बल बनाउन उच्च प्रविधिको प्रयोग अनिवार्य छ । त्यसका लागि निजामती क्षेत्रमा अब्बल जनशक्तिको खाँचो आवश्यक छ ।
‘अब्बल व्यक्तिहरु आएपछि निजामति क्षेत्र आफै अब्बल बन्छ’ विनोद भन्छन्, ‘अब्बल व्यक्तिबाट मात्रै अब्बल सेवा प्रवाह गर्न सकिन्छ ।’ दक्ष जनशक्ति भए थोरै व्यक्तिबाट पनि अब्बल सेवा प्रवाह गर्न सकिने उनको अनुमान छ । आकर्षक सेवा सुविधा दिनसके निजामती क्षेत्र अब्बल व्यक्तिहरुको गन्तव्य बन्न सक्ने उनको सुझाव छ ।







