कालिमाटी गाउँपालिका अध्यक्ष केसीले गरे सरकारी मोटरसाइकल फिर्ता

दिलिप ढकाल
गुर्भाकोट, ६ बैशाख ।
सल्यान जिल्लाको दुर्गम भेगको रुममा चिनिएको कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले आफु चड्दै आएको मोटरसाईकल गाउँपालिकालाई फिर्ता गरेका छन् ।
२०७४ सालको स्थानीय तहको चुनाबमा नेकपा एमालेको तर्फबाट कालिमाटी गाउँपालिकाको अध्यक्षको उमेद्वार बनेका केसीले दुई हजार नौ सय बाह्र (२९१२) मत ल्याएर गाउँपालिका अध्यक्ष पदमा बिजयी भएका थिए ।
उनका प्रतिद्वन्द्धी नेकपा माओबादी केन्द्रका पुरुषोत्तम भट्टराईले दुई हजार तीन सय त्रिसठ्ठी (२३६३) मत ल्याएका थिए भने नेपाली कांग्रेसका भारत पुनले एक हजार नौ सय उनान्तीस (१९२९) मत पाएका थिए ।
गाउँपालिका अध्यक्ष केसीले पालिकाको कार्यालयमै पुगेर प्रमुख प्रसासकिय अधिकृत हरि बहादुर खत्रीलाई मोटरसाईकलको चाबी हस्तान्तरण गरेका हुन् । यस पालिकामा रहेका ७ वटा वडा मध्य वडा नं. १ देखि ५ सम्म एमाले ले जितेको थियो ।
वडा नंं. ६ मा माओवादी र वडा नं. ७ मा नेपाली कांग्रेसले जितेको थियो । कालिमाटी गाउँपालिका भित्रका जनप्रतिनिधि मध्ये सरकारी सवारी साधन फिर्ता गर्ने पालिका अध्यक्ष केसी चौथो व्यक्ति हुन् । पालिका अध्यक्ष केसीले रा १ ब ११७० नम्बर को मोटरसाईकल प्रयोग गर्दै आएका थिए ।
यस अघि कालिमाटी गाउँपालिकाका वडा नं. २ का वडा अध्यक्ष ईन्द्र बहादुर ओली, वडा नं. ३ का वडा अध्यक्ष बिर बहादुर ओली र वडा नं. ४ का वडा अध्यक्ष बेल बहादुर चन्दले पनि सरकारी सवारी साधन फिर्ता गरेका छन् ।







