४३९ मेवाको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणमा ७४ अरब १५ करोड लाग्ने

सुर्खेत, २ असार ।
पश्चिम सुर्खेतको समृद्धिसँग जोडिएको अर्को महत्वपूर्ण बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण अघिका कामले तीव्रता पाएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिएसँगै आयोजना निर्माण अघिको कामले तीव्रता पाएको हो ।

४३९ मेगावाट (मेवा) क्षमताको यो जलविद्युत् आयोजनाको निर्माण अबको ५ वर्षमा सक्ने लक्ष्य छ । सुर्खेत र अछाम जिल्लाको सीमानामा बन्ने अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम अन्तिम चरणमा पुगेको वेतन कर्णााली सञ्चयकर्ता हाईड्रोपावर कम्पनी लिमिटेड परियोजनाका प्रबन्धक उपेन्द्र न्यौपानेले जानकारी दिए ।

आयोजना सम्पन्न गर्नका लागि ७४ अर्ब १५ करोड रुपैयाँ ब्याज बाहेक लाग्ने र यसबाट वार्षिक रुपमा १४ अर्ब ५० करोड रुपैयाँ आम्दानी हुनेछ । आयोजनाबाट दैनिक ४ करोडको विद्युत् विक्री वितरण गर्ने लक्ष्य छ ।

उनले अछामतर्फको ढुङ्गाचाल्नादेखि आयोजनाको हेडवक्र्स पावर हाउससम्मको १८ किलोमिटर पहुँच मार्ग निर्माणसँगै सुर्खेततर्फको १४ किलोमिटरमध्ये हालसम्म ७ किलोमिटर बाटो निर्माण भइसकेको बताए । उनका अनुसार सुर्खेततर्फको बाँकी ७ किलोमिटर बाटोसमेत अबको दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजना निर्माण स्थलमा क्याम्प हाउस निर्माण सम्पन्न भएसँगै वेतन कर्णाली सञ्चयकर्ता हाईड्रोपावर कम्पनी लिमिटेडको शाखा कार्यालय समेत सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

‘अछामतर्फको जग्गाको मुआब्जा निर्धारणको काम सकिएसँगै अब रकम बाँड्ने तयारी गरिएको छ’, उनले भने, ‘सुर्खेततर्फको जग्गाको मुआब्जा निर्धारणका लागि अबको दुई महिनाभित्र प्रमुख जिल्ला अधिकारी, मालपोत, नापी र स्थानीय जनप्रतिनिधिसँगै सरोकारवालासँग बसेर काम टुङ्ग्याउने योजना छ ।’ उनले अछामको ढकारी र तुर्माखाँदका बासिन्दाको जग्गालाई वर्गीकरण गरेर कृषियोग्य जग्गालाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ श्रेणीमा वर्गीकरण गरिएको बताए । उनका अनुसार ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका जग्गालाई प्रतिरोपनी ७ लाख ३० हजार ९०४ रुपैयाँको दरले मुआब्जा दिइने छ ।

यसैगरी ‘घ’ र ‘ङ’ श्रेणीका जग्गाधनीले प्रतिरोपनी ५ लाख ४६ हजार ३३२ रुपैयाँको दरले मुआब्जा पाउने छन् । अछाम क्षेत्रमा मात्रै १ हजार ८४४ रोपनी जग्गाको मुआब्जा वितरण गर्नुपर्ने आयोजनाका प्रवन्धक न्यौपानेले जानकारी दिए । उनका अनुसार सुर्खेततर्फको जग्गाको मूल्य निर्धारण कार्य सकिनासाथ अछामतर्फका लागि समेत मुआब्जा बाँड्न शुरु गरिनेछ ।

यता वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) कार्यको जिम्मेवारी पाएको परामर्शदाता एनईए इञ्जिनीयरीङ्ग कम्पनी लिमिटेडका वातावरण विद् सरोज घिमिरेले आउँदो असोज महीनाभित्र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको काम सम्पन्न गरी सम्बन्धित निकायमा रिपोर्ट बुझाउने लक्ष्य रहेको बताए । उनका अनुसार वातावरणीय प्रभाव मूल्यांकन कार्य हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ ।

आयोजना प्रभावित क्षेत्रका गाउँपालिकामा आउँदो महिनाको अन्त्यतिर स्थानीय बासिन्दा र जनप्रतिनिधिको रोहवरमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने तय भइसकेको उनको भनाइ छ ।

उनका अनुसार घरधुरी सर्वेक्षण, रुख घर संरचना तथा रुख विरुवाको गणना, आयोजना क्षेत्र भित्रको हावापानी, माटोको गुणस्तर मापन एवं कर्णाली नदीमा पाईने जलचरहरुको अध्ययनलगायतका कार्य सम्पन्न भएका छन् ।

आयोजना संरचना र लागत आयोजनाले अछामको ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाको क्षेत्र ओगट्छ । पूर्वाधार निर्माण गर्ने क्रममा पहुँच मार्ग निर्माण कार्य सकिने वित्तिकै भोक्रे खोला नजिक करीब ७० मिटर लामो बेलिब्रिज बनाइने छ ।

आयोजनाको ड्याम (बाँध) ८९ मिटर अग्लो हुने छ । ड्याम चौकुने र ढकारीका वडा नं. ६ अन्तर्गत मालुमेलातर्फ बन्दैछ । त्यसबाट ८÷ ८ मिटर डायमिटरका तीन ओटा सुरुङ बनाइनेछ । यी सुरुङ दुई किलोमिटर लामा हुने छन् । ५७० मिटरमध्ये हालसम्म ४९० मिटर लामो टनेल खनिसकिएको छ । यसको पावर हाउस अन्डरग्राउन्ड हुनेछ । ‘पावर हाउसमा ६ ओटा जेनेरेटर हुने छन् ।

त्यसबाट ४३९ मेगावाट बिजुली उत्पादन हुन्छ,’ उनले भने, ‘गिगावाटको हिसाबमा यो तामाकोशी जलविद्युत् आयोजनाभन्दा पनि ठूलो हो । यसले २ हजार ४०६ गिगावाट प्रतिघण्टा इनर्जी दिन्छ ।’ उनले यसबाट उत्पादित बिजुली पाँच किलोमिटर लामो प्रसारण लाइन बनाएर सुर्खेतको चौकुनेस्थित बेतन हब भन्ने सबस्टेशनमा जोडिने बताए ।

उनका अनुसार सुर्खेत जिल्लाको बेतन गाउँमा सब स्टेशनमा निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । त्यहाँबाट ३० किलोमिटर टाढा पर्ने दुदुधाराको पूर्वपश्चिम ट्रान्समिसन लाइन र बोर्डर लाइनमा बिजुली जोडिनेछ ।

‘वित्तीय व्यवस्थापन अन्तर्गत लगानी सुनिश्चितताका लागि (फाइनेन्सियल क्लोजर) बैंकसँग छलफलसँगै विद्युत् खरीदको प्रक्रिया अघि बढाईएको छ’, उनले भने, ‘विद्युत खरीदविक्री सम्झौंता (पीपीए) गर्नका लागि विद्युत् प्राधिकरणसँग प्रक्रिया अघि बढाएका छौं ।’ उक्त आयोजनामा सञ्चय कोषका सञ्चयकर्ताको ४० प्रतिशत, सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनी लिमिटेडको १०/१० प्रतिशत लगानी हुनेछ । यसमा सर्वसाधारणको २५ प्रतिशत लगानी हुने छ ।

आयोजना सम्पन्न गर्नका लागि ७४ अर्ब १५ करोड रुपैयाँ ब्याज बाहेक लाग्ने र यसबाट वार्षिक रुपमा १४ अर्ब ५० करोड रुपैयाँ आम्दानी हुनेछ । उनका अनुसार आयोजनाबाट दैनिक ४ करोडको विद्युत् विक्री वितरण गर्ने लक्ष्य छ ।

४३९ मेवाको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणमा ७४ अरब १५ करोड लाग्ने

गुर्भाकोट मा नेपाली कांग्रेसको सम्मान तथा प्रशिक्षण

४३९ मेवाको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणमा ७४ अरब १५ करोड लाग्ने

राष्ट्रिय परिचय पत्र लिनेको भीड

Leave a comment

Your email address will not be published. Required fields are marked *