मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहायक डिन डिसि र सहप्रध्यापक दासविरुद्ध भ्रष्टचारको मुद्धा दायर

सुर्खेत,२९ कात्तिक ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध प्रश्नपत्रको गोप्पनीयता भंग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अंक थपघट गरिएको आरोपमा उनीहरुविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
कसुर पुष्टी भएमा के छ कानूनी व्यवस्था ?
भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद–२ मा भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्थाअनुसार प्रश्नपत्रको गोपनीयता भंग गर्ने वा परीक्षाको परिणाम फेरबदल गर्नेलाई सजायः सरकारी निकाय वा सार्वजनिक संस्थाबाट सञ्चालन गरिने परीक्षाको प्रश्नपत्र निर्धारित समयभन्दा अगावै अधिकार प्राप्त अधिकारीले विशेष परिस्थिति परेको कारण जनाई खोलेमा वा खोल्न लगाएमा बाहेक कुनै राष्ट्रसेवकले आफू वा अरू कुनै व्यक्तिलाई गैरकानुनी लाभ पुर्याउने बदनियतले कुनै पनि प्रकारले त्यस्तो प्रश्नपत्रको गोपनियता भंग गरेमा वा गर्न लगाएमा वा परीक्षाको परिणाममा फेरबदल गरेमा वा गर्न लगाएमा त्यस्तो राष्ट्रसेवकलाई तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।






