किसानलाई क्रेडिट कार्ड

सुर्खेत, २८ मंसिर ।
वीरेन्द्रनगर नगरपालिका–१० की पम्फा थापाले १० कट्टा जमिनमा तरकारी खेती लगाएकी छन् । उनको परिवारका ५ जना सदस्य नै बिहान सबेरैदेखि साँझ अबेरसम्म कृषि व्यवसायमै व्यस्त रहन्छन् ।
आलु, काउली, टमाटर, धनिया, साग, मुलालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका उनीहरूले दैनिक ५० किलोसम्म तरकारी बिक्री गर्छन् ।
अहिले वीरेन्द्रनगरमा एक सय रुपैयाँ घटी कुनै पनि तरकारी छैन् । थापा परिवारले तरकारी बिक्रीबाट दैनिक ५ हजारदेखि १० हजार रुपैयाँसम्मको तरकारी बिक्री गरिरहेको छ । ‘घरखर्च कटाएर मासिक १ लाखदेखि १ लाख ५० हजारसम्म बचत हुने गरेको छ,’ उनले भनिन्, ‘सबै परिवारले रोजगारी पनि पाएका छौं, आम्दानी पनि महिनैपिच्छे बढिरहेको छ ।’
वीरेन्द्रनगर–९ की शान्ति चौधरीले पनि ७ कट्ठामा तरकारी खेती गरिरहेकी छिन् । उनले पनि दैनिक ५० किलोसम्म तरकारी बिक्री गरी सिजनमा ५ हजार रुपैयाँसम्म कमाइरहेकी छिन् । ‘कुनै बेला तरकारी किन्न हामी आफै बजार आउँथ्यौं, अहिले तरकारी बेचेरै मनग्गे आम्दानी भइरहेको छ,’ उनले भनिन्, ‘५ जनाको परिवारको खर्च सजिलै टरेको छ, महिनामा कम्तीमा १ लाख रुपैयाँसम्म बचत गरिरहेका छौं ।’
घुस्राकै बालकुमारी चौधरीले ५ कट्ठामा तरकारी खेती गरिरहेकी छिन् । उनको बारीमा अहिले काउली, आलु, लसुन, धनिया, साग, मुला, टमाटरलगायत तरकारी उत्पादन भइरहेको छ । उनले पनि दैनिक ४० किलोसम्म तरकारी बिक्री गरिरहेकी छन् ।
व्यावसायिक तरकारी खेती गरिरहेका किसानलाई यूएसएड नेपालको सहयोगमा सञ्चालित सिसा परियोजनाले ‘क्रेडिट कार्ड’ सहितको परिचयपत्र दिएको छ । कार्डबाट किसानहरूले ५० हजार रुपैयाँ बराबरका विभिन्न सामग्री किनमेल गर्न पाउँछन् ।
कार्ड पाएपछि आवश्यक बीउबिजन, विषादी, कृषि उपकारणलगायत सामग्री किन्न सजिलो भएको चौधरीले बताइन् । ‘घरमा पैसा नभए पनि समस्या छैन,’ उनले भनिन्, ‘कार्ड पाएपछि कृषि व्यवसायमा ठूलो राहत मिलेको छ ।’
परियोजनाले मेघा बैंकसँग सहकार्य गरी चिप्ससहितको कार्ड बनाएको हो । सुर्खेतमा पहिलो चरणमा ५० जनाले कार्ड पाएका छन् । जिल्लाभरि २ सय जनालाई यो वर्ष परिचय पत्र वितरण गरिने सिसा परियोजनाका अधिकृत अष्ट प्रजापतिले बताए ।
उनका अनुसार परियोजनामार्फत किसानहरूलाई खाताबुकसमेत दिएको छ । जसमा किसानहरूले हरेक दिन बेच्ने तरकारी नाम, बिक्री भएको परिणाम, खर्च र जम्मा भएको रकम खातामा टिपेर राख्ने गरेका छन् । किसानले कति आम्दानी र खर्च भयो भन्नेबारे दैनिक लेखाजोखा गरेका छन् ।
क्रेडिट कार्डसहितको परिचयपत्रले रहरपुर, गुस्रा र प्रसेनीका किसान अहिले कृषि पेसामा मोहित भएको परियोजना अधिकृत प्रजापतिले बताए । उनका अनुसार किसानलाई ५÷५ जनाको समूहमा संगठित गरी कृषि सिपहरू र आत्मनिर्भर बन्ने तरिकाबारे सिकाउन थालिएको छ ।
महिलाहरूले सञ्चालन गरेको व्यावसायिक तरकारी खेतीको नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनलगायतको टोलीले पनि सोमबार अवलोकन गरेको छ । थम्पसनले महिला उद्यमीहरूले गरेको व्यावसायिक तरकारी खेती लोभलाग्दो भएको बताए ।
‘महिलाहरू आफैं सक्षम भएर काम गरेको देख्दा निकै खुसी लाग्यो,’ उनले भने, ‘उनीहरूको मेहनत बुझेर परियोजनाले थप सहयोगसमेत गर्नेछ ।’ उनले महिलाहरू आर्थिक रूपले सक्षम भए हिंसाका घटनाहरूमा पनि कमी आउने बताए ।
कान्तिपुर






