निर्वाचन नजिकिँदै गर्दा दल त्याग्ने र प्रवेश गर्ने होडबाजी

सुर्खेत, २९ फागुन ।
स्थानीय तहको निर्वाचन हुने मिति नजिकिदै गर्दा दल त्याग गर्ने र अर्को पार्टीमा प्रवेश गर्ने लहर चल्न थालेको छ । नेता तथा कार्यकर्ताहरुले आफ्नो स्वार्थ अनुसार दल परित्याग गर्ने र अर्को दल रोज्न थालेका हुन् । कर्णालीमा पनि दल छाड्ने र नयाँ पार्टीमा प्रवेश गर्ने होडबाजी नै चलेको छ ।
गत कार्तिकमा मात्र डोल्पामा दुईजना गाउँपालिकाका अध्यक्षले एमाले छोडे । एमाले परित्याग गरेका उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जिल्लाको छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङसहित दुई जना वडा अध्यक्ष र डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्वा गुरुङ पनि माओवादीमा प्रवेश गरे ।
दुबै जना अध्यक्षलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फुलमाला लगाएर स्वागत गरे । जनप्रतिनिधिलाई आफ्नो पार्टीमा प्रवेश गराउन अध्यक्ष प्रचण्ड, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत लगायतका नेताहरु डोल्पा नै पुगे ।
त्यस्तै गत पुसमा हुम्लाका छिमी दोर्ची लामाले माओवादी पार्टी त्यागे । २०६४ सालको संविधानसभा सदस्य एवम् केन्द्रीय सदस्य उनले माओवादीको राष्ट्रिय महाधिवेशनकै समयमा पार्टी छोडे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर उनीलाइ एमालेमा प्रवेश गरे । शुक्रबार मात्रै जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख ज्ञानीप्रसाद आचार्यले काँग्रेस परित्याग गरे ।
आचार्यले आफूसहित नौं जना कार्यकर्ताहरुलाई माओवादीमा प्रवेश गराए । पार्टी प्रवेश गर्न जाजरकोटबाट उनीहरु सुर्खेत झरेका थिए । माओवादी अध्यक्ष प्रचण्डले सुर्खेत आएको मौकामा पार्टी प्रवेश गराए ।
यही फागुनको दोस्रो हप्ता नेकपा एमाले सल्यानका पूर्वअध्यक्ष लोकबहादुर डाँगीले एमाले परित्याग गरे । एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले डाँगीलाई आफ्नो पार्टीमा प्रवेश गराए ।
डाँगीले आधा दर्जन जिल्ला कमिटी सदस्यहरु आफूसँगै समाजवादीमा लिए । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दल बदल्नेको संख्या पनि बढेको छ ।
पछिल्लो एक महिनायता जनप्रतिनिधिदेखि पूर्वसांसदहरुले पुरानो पार्टी छोड्ने क्रम बढेको छ । स्थानीय निर्वाचन नजिकिदै गर्दा सबै दलले पार्टी प्रवेश अभियानलाई तीब्र बनाएका छन् ।
अन्य दलका कार्यकर्ताहरु आफ्नो पार्टीमा तान्नका लागि आगामी निर्वाचनका लागि टिकट दिने, अन्य लाभको पदमा अवसर दिने र पार्टीमा सम्मानजक पद दिने रणनीति अपनाएका छन् ।
दलहरुले पनि पार्टी प्रवेश गरेका नेताहरुलाई जिम्मेवार दिएका छन् । केही दिनअघि मात्र एमाले छोडेका सल्यानका डाँगीलाई समाजवादीले केन्द्रीय सदस्य बनाइ सकेको छ ।
केही महिनाअघि माओवादीबाट एमालेमा प्रवेश गरेका सुर्खेत चिङ्गाडका बोदविक्रम जिसी गाउँपालिकाको अध्यक्षमा टिकटको लागि लविङमा लागेका छन् ।
बिष्ट एमालेमा प्रवेश गर्न लागेकै हुन् ?
शुक्रबार मात्र कर्णाली प्रदेशसभाका सांसद ठम्मरबहादुर विष्टले माओवादी र सांसद र सचेतक पद छोडेको घोषणा गरेका छन् । माओवादी पार्टीसँगै सांसद पदबाटसमेत राजीनामा दिनुलाई चासोको रुपमा हेरिएको छ ।
धेरैले उनलाई एमालेमा प्रवेश गर्न लागेको अनुमान गरिरहेका छन् । ‘उहाँ (विष्ट) हाम्रो पार्टीमा आइसक्नुभयो, अध्यक्ष कमरेड काठमाडौँ आउनेवितिकै पार्टीमा प्रवेश गर्नुहुन्छ’ एमालेका एक नेताले भने, ‘अध्यक्ष काठमाडौंँ बाहिर भएका कारण पार्टी प्रवेश गर्न ढिलाइ भएको हो ।’
विष्टले माओवादी परित्याग गरेको घोषणा गर्दा शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली पोखरामा थिए । शनिबार ओली विरगञ्जमा थिए । उसो त विष्ट एमाले र माआवादीको एकतापछि बनेको नेकपाकालिन अवस्थामा एमालेका नेताहरुसँग बढी निकट थिए ।
एक बर्षअधि एमाले र माओवादी पुरानै अवस्थामा फर्कदा एमालेतिर लागेका उनी केही महिना नवित्दै पुनः माओवादीमै फर्किएका थिए । उनी अब एमाले प्रवेश गर्छन् वा स्वतन्त्र बस्छन् त्यो केहीदिन कुर्नैपर्ने हुन्छ ।
दल फेरबदलले चुनावी नतिजामा प्रभाव पर्न सक्ने
२०७४ सालको स्थानीय निर्वाचनमा कर्णालीमा एमाले पहिलो, माओवादी केन्द्र दोस्रो र नेपाली काँग्रेसले तेस्रो स्थान ल्याएका थिए । एमालेबाट २७ प्रमुख, ३१ उपप्रमुखसहित एक हजार चारसय तीन जनाले चुनाव जितेका थिए । तर एमालेको त्यो शक्ति अहिले छैन ।
एमाले विभाजनपछि तीनसय ५२ जना जनप्रतिनिधिले एमाले छोडेर एकीकृत समाजवादीमा लागेका छन् । त्यसपछि पनि केही जनप्रतिनिधिहरु माओवादीमा प्रवेश गरेका छन् । एमालेको राम्रो प्रभाव भएका सल्यान, डोल्पा, दैलेख र कालीकोटका धेरै जनप्रतिनिधिहरुले एमाले छोडिसकेका छन् ।
त्यस्तै अघिल्लो निर्वाचनमा २५ प्रमुख र २६ उपप्रमुखसहित एकहजार एकसय ४४ जना जनप्रतिनिधि जितेको माओवादीको अवस्था पनि राम्रो छैन । माओवादीबाट सांसद बनेका दैलेखका धर्मराज रेग्मी, सुर्खेतका ठम्मर विष्ट, हुम्लाका पूर्वसांसद छिमी दोर्ची लामालगायतले पार्टी परित्याग गरिसकेका छन्् ।
२५ प्रमुख, २२ उपप्रमुखसहित एकहजार २० जनप्रतिनिधि जितेको काँग्रेकोे अवस्था पनि सन्तोषजनक छैन । एमाले र माओवादीको तुलनामा पार्टी छोड्ने काँग्रेसका जनप्रतिनिधिहरुकम छन् ।
दल अदलबदल गरेका जनप्रतिनिधिले प्रभाव पार्न सके तुलनात्मक रुपमा एमालेलाई बढी क्षति हुनेछ । माओवादीलाई क्षतिको सम्भावना उत्तिकै छ । काँग्रेसको आन्तरिक विवाद मथ्थर भए उसलाई क्षति कम हुनसक्ने देखिन्छ ।






