वीरेन्द्रनगरमा चार्जिङ्ग स्टेशन निर्माण शुरु

पुनम वि.सी.
सुर्खेत, २७ भदौ ।
विद्युतीय गाडी रिचार्ज गर्न नेपाल विद्युत प्राधिकरणले वीरेन्द्रनगरमा दुई वटा चार्जिङ्ग स्टेशन निर्माण प्रक्रिया शुरु गरेको छ । वीरेन्द्रनगर नगरपालिकास्थित बसपार्क क्षेत्रमा चार्जिङ्ग स्टेशन निर्माण शुरु गरिएको हो । यो नै कर्णाली प्रदेशको पहिलो चार्जिङ्ग स्टेशन हुनेछ ।
नेपालभर ५१ स्थानमा चार्जिङ्ग स्टेशन निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य अनुसार सुर्खेतमा पनि दुई वटा चार्जिङ्ग स्टेशन निर्माण हुदैछन् । सिटी बसपार्क परिसरमै दुई वटा चार्जिङ्ग स्टेशन निर्माण थालनी गरिएको हो । एउटा चार्जिङ्ग स्टेशनमा ठूला बससहित तीनवटा सवारी साधनले एक साथ चार्ज गर्न सकिन्छ ।
प्रत्येक चार्जिङ्ग स्टेशनमा १ सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिनेछ । चार्जिङ्ग स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु समेत राखिने नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी भोलानाथ शर्माले जानकारी दिए ।
चार्जिङ्ग स्टेशन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनसँग ठेक्का सम्झौता भएको थियो । निर्माणको ठेक्का पाएको उक्त कम्पनीले वीरेन्द्रनगरको बसपार्क क्षेत्रमा चार्जिङ्ग स्टेशनका लागि सामाग्री ल्याईसकेको छ । नेपालभर ५१ वटा चार्जिङ्ग स्टेशन निर्माणका लागि उक्त कम्पनीसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

विद्युतीय सवारी चार्जिङ्ग पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सबै प्रदेशमा चार्जिङ्ग स्टेशन निर्माण कार्य भईरहेको शर्माले जानकारी दिए । सबै प्रदेशका मुख्य राजमार्ग, बसपार्कलगायतका स्थानमा चार्जिङ्ग स्टेशन निर्माण सुरु गरिएको छ । कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा नब्बे पैसा र बसहरुमा एक रुपैयाँ बीस पैसा लागत बराबर प्रति किलोमिटर विद्युत खपत हुन्छ ।
चार्जिङ्ग स्टेशन मार्फत चार्ज गर्दा सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तिमा आधा घण्टादेखि एक घण्टासम्ममा पूर्ण चार्ज हुने शर्माले जनाए । उनले भने,‘आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत् वातावरणमैत्री यातायात प्रणालीको विकासका चार्जिङ्ग स्टेशन स्थापना गर्न लागिएको हो ।’
‘नेपाल भरका सबै स्टेशन काठमाडौंबाटैको कन्ट्रोल हुनेछन् ।’
चार्जिङ्ग स्टेशनका विषयमा थप जानकारी दिदै उनले भने,तीन सय वटाभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ्ग स्टेशनको सफ्टवेयर राखिनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।’
कर्णालीका तीन जिल्लामा सम्भाव्यता अध्ययन
कर्णालीको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्रदेशमा चार्जिङ्ग स्टेशन निर्माणका लागि सम्भाव्यता अध्ययन तयारी थालेको छ । सुर्खेत, दैलेख र सल्यानमा चार्जिङ्ग स्टेशन निर्माणका लागि प्रदेश सरकारले बजेट समेत विनियोजन गरेको छ ।
मन्त्रालयको योजना महाशाखाका ईन्जिनियर प्रेमबहादुर वलीले भने, ‘चार्जिङ्ग स्टेशनको सम्भाव्यता अध्ययनका लागि यस आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कर्णालीका कुन कुन स्थानमा चार्जिङ्ग स्टेशन निर्माण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन हुनेछ ।’ सम्भाव्यता अध्ययनको नतिजा अनुरुप चार्जिङ्ग स्टेशन निर्माण गरिने प्रदेश सरकारको योजना छ ।
कर्णालीमा वर्षेनी सवारी साधनहरूको चाप बढिरहेको छ । यसले इन्धन खपत पनि बढाएको छ । विद्युतिय सवारीसाधनमा आर्कषण तथा पेट्रोलियम पदार्थको परनिर्भरता न्युनिकरण गर्न चार्जिङ्ग स्टेशन निर्माण कार्य महत्वपुर्ण हुनेछ । अहिले कर्णालीमा ३३ केभीए प्रसारण लाइन चालु अवस्थामा छ । कोहलपुर–छिञ्चु हुँदै जाजरकोट, डोल्पा सडक खण्ड, छिन्चु, सुर्खेत–दैलेख हुँदै कालिकोट–जुम्ला–रारा सडक चालु अवस्थामा छन् ।
त्यस्तै दाङ–सल्यान हुँदै रुकुम पश्चिम जोड्ने सडकसमेत सञ्चालनमा रहेको छ । सवारी साधनको चापको अवस्था हेरेर आगामी वर्ष चार्जिङ्ग स्टेशन निर्माण गर्ने मन्त्रालयको योजना छ । कर्णालीमा ठूला विद्युतका आयोजनाहरू समेत निर्माण प्रक्रियामा छन् । यसकारण चार्जिङ्ग स्टेशन निर्माण कर्णालीमा उपयुक्त ठानिएको छ । जगदुल्ला जलविद्युत आयोजना (१०६ मेगावाट), नलगाड जलविद्युत् आयोजना (३१७ मेगावाट), ताक्सुगाड जलविद्युत आयोजना (६ मेगावाट), रारा जलविद्युत आयोजना लगायतका आयोजनाहरु निर्माण चरणमा छन् ।






