काम नगर्नेको ठेक्का तोडिँदै

सुर्खेत,२५ मंसिर ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाअर्न्तगत जाजरकोट–रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माणको काम सुरु भएको १० वर्ष बित्यो । तर ठेकेदार कम्पनीले काम नगरेपछि अहिले ठेक्का तोडिएको छ । २०६९ असार २९ गते वाईपी कन्ट्रक्सन ललिपुलसँग भ्याटसहित १४ करोड ८४ लाख रूपैयाँमा उक्त पुल निर्माणको ठेक्का सम्झौता गरिएको थियो ।
२०७३ चैत्र १० गतेसम्म १८ प्रतिशत काम गरेर २ करोड ७० भुक्तानीसमेत लिइसकेको उक्त कम्पनीले त्यसपछि काम गरेन । पुल समयमा नबन्दा पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै रुकुमपश्चिम जान सुर्खेतको सल्लीबजार हुँदै जानुपर्ने बाध्यता छ ।
कर्णाली राजमार्गअर्न्तगत दैलेखको जाक्सीखोला पुल निर्माणको जिम्मा सिरुवा÷सुनकोशी÷ कविर जेभीले २०७० सालमा लियो । उसले २०७१ सालमा ४ महिनामा सक्ने भन्दै उक्त ठेक्का लिएको थियो । तर १० वर्षसम्म पनि काम सकेन । पटकपटक पत्रचार गर्दासमेत निर्माण कम्पनीले वेवास्ता गर्न छाडेपछि डिभिजन कार्यालयले २०७८ भदौ ४ गते ठेक्का तोड्यो ।
यस वर्ष सडक डिभिजन कार्यालय सुर्खेतले समयमै काम गर्ने ठेकेदारका तीनवटा ठेक्का तोडेको छ । तोकेको समयमा काम नगरेको र पेश्की रकम दुरूपयोग गरेको भन्दै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाहीको पत्र पठाउँदै ठेक्का तोडेको हो ।
यस्तै सुर्खेतको भेरी नदीस्थित रामाघाटमा दशरथपुर जोड्ने पुल जेटसीजीई÷आईसी÷आषिस जेभीले २०७३ साल माघ ९ गते सम्झौता गरेको थियो । उसले २०७६ माघभित्र काम सक्नुपर्ने थियो । सम्झौता अवधिमा काम सम्पन्न नगर्दा बाध्य भएर ठेक्का तोडिएको कार्यालयले जनाएको छ । कार्यालयले पप्पु÷मल्ल जेभीसँगको सम्झौता तोडेको हो ।
कार्यालयका अनुसार ठेक्का तोडिएका कम्पनीहरूको पेश्की र जमानत फिर्ता हुँदैन । ‘ठेक्का सम्पन्न नगरेवापत त्यसको पेनाल्टी लगाइन्छ,’ सडक डिभिजन कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलले भने, ‘राज्यकै नीतिविपरीत हिँडेकाले ठेक्का तोड्नु परेको हो, लामो समयसम्म राज्यको बजेट र समयमा खर्च गरेका उनीहरूको फार्मलाई कालोसूचीमा राख्न पनि पत्राचार गरिएको छ ।’
ठेकेदारले समयमै काम नगर्दा विकास–निर्माणको लागत बढ्ने दैलेखका निर्माण व्यवसायी रूपक थापाले बताए । ‘एक÷दुई जना ठेकेदारका कारण समग्र निर्माण व्यवसाय क्षेत्रको बेइज्जत भएको छ,’ उनले भने, ‘ठेकेदारको लापरबाहीले केही ठाउँमा जनताले विकासको अनुभूति पनि गर्न सकेका छैनन् ।’
सडक डिभिजन कार्यालयले केही निर्माण कम्पनीहरूसँग ठेक्का रद्द गरे पनि पहुँचवाला निर्माण व्यवसायीको मनोमानी कायमै छ । कर्णाली राजमार्गस्थित दैलेखको जाक्सीखोला पुल निर्माणको जिम्मा लिएको सिरुवार÷सुनकोसी÷कवीर जेभीले पुल निर्माणको काम लामो समयदेखि अलपत्र पारेको छ । उसले २०६८ मा पुल निर्माणको ठेक्का लिएको थियो ।
पक्की पुल नबन्दा जाक्सीका बासिन्दाले वर्षायाममा ठूलो सास्ती खेप्नुपरेको आठबीस नगरपालिका–३ का महेन्द्र माझीले बताए । सडक डिभिजन कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलले ठेकेदारलाई छिटो काम गर्न ताकेता दिइरहेको बताए ।
कान्तिपुर





