सिमकोटले थाल्यो रैथाने बाली पठाउने तयारी

हुम्ला,२५ कात्तिक ।
हुम्लाको सिमकोट गाउँपालिकाले रैथाने बालीको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्न सो गाउँपालिकाले आफ्नो क्षेत्रमा ती बालीको उत्पादनको तथ्याङ्क लिन थालेको हो ।

सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले खाद्य कम्पनीसँग भएको सम्झौताअनुसार आफ्नो क्षेत्रमा उत्पादन हुने चारवटा रैथाने बालीको तथ्याङ्क लिन सुरु भएको जानकारी दिए । काठमाडौँको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र सिमकोट गाउँपालिकाबीच असोजमा चिनो, फापर, सिमी र कागुनो खरिद बिक्रीको सम्झौता भएको थियो।

सो सम्झौतामा सिमकोट गाउँपालिकाले रैथाने बाली सङ्कलन र बिक्री गर्ने तथा खाद्य कम्पनीले ती बाली खारिद गर्ने उल्लेख छ। सम्झौतामा खरिद बिक्री गरिने रैथाने बाली अन्नको परिणाम उल्लेख नभएकाले जतिसक्दो धेरै अन्नबाली पठाउने तयारीमा गाउँपालिका रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताए ।

यी चारवटै रैथाने बाली सिमकोट गाउँपालिकामा राम्रो उत्पादन हुने गरेको छ। उनले दशैँतिहार सकिए पनि निर्वाचनमा कर्मचारी खटनपटन भएका कारण निर्वाचन सकिएलगत्तै किसानसँग खरिद प्रक्रिया अगाडि बढाइने बताए । हाल सिमकोट गाउँपालिकाले चारैवटा बालीको उत्पादन परिणाम लिने कार्य सम्पन्न गरेको छ।

उनले अब चाँडै खाद्य कम्पनीको हुम्ला शाखासँग मूल्य निर्धारण गर्ने र लगत्तै खरिद कार्य सुरु हुने बताए । मूल्य तय भएपछि कति परिणाम बिक्री गर्ने भन्ने पनि गाउँपालिकाले यकिन गर्नेछ। गाउँपालिकाको कृषि शाखाका संयोजक नेत्रबहादुर शाहीले चारवटै बाली लगाइएको क्षेत्रफल र उत्पादन परिणामको विवरण लिने कार्य भएको  बताए ।

गाउँपालिकाका अनुसार आठवटा वडा रहेको सिमकोट गाउँपालिकामा यस वर्ष चिनो चार हजार ४२९ रोपनीमा खेती गरेर आठ लाख ६४ हजार केजी उत्पादन भएको छ भने एक हजार २५७ रोपनीमा लगाएको फापर दुई लाख २६ हजार २६० केजी, तीन हजार २३५ रोपनीमा लगाएको सिमी एक लाख ६५ हजार केजी उत्पादन भएको छ।

त्यस्तै अर्को महत्वपूर्ण तर लोपोन्मुख रैथाने बाली कागुनो ६२५ रोपनीमा लगाइएको थियो भने यसमा एक हजार ४०६ केजी उत्पादन भएको छ । शाहीले चारवटै बालीको खरिद परिणाम यकिन भएपछि सिमकोटको उत्पादनले नपुगे अन्य गाउँपालिकाबाट पनि खरिद गर्न सकिने बताउँदै पहिलो प्राथमिकतामा सिमकोट गाउँपालिकाका किसानबाटै लिइने बताए ।

गोरखापत्र

सिमकोटले थाल्यो रैथाने बाली पठाउने तयारी

मतदानका दिन अशक्त र ज्येष्ठ नागरिकले गाडी

सिमकोटले थाल्यो रैथाने बाली पठाउने तयारी

आज यि स्थानमा हिमपातको सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!