लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान : शहरमा गोष्ठी, गाउँघरमा भयावह

सिर्जना बुढाथोकी
सुर्खेत, २४ मंसिर ।
१६ दिने लैंगिक हिंसाविरुद्धको अभियान शनिबारबाट सकिंदै छ । यसबीचमा वीरेन्द्रनगरका ठूला–ठूला होटेलमा हिंसाविरुद्धको विभिन्न कार्यक्रमहरु भएपनि गाउँमा भने यस्ता कार्यक्रमको प्रभाव परेन । अभियानको अवसरमा तामझामका साथ वीरेन्द्रनगरमा कार्यक्रम चलिरहँदा सुर्खेतको पञ्चपुरीमा एक महिलाको आफ्नै श्रीमानले घाँटी काटेर हत्या गरे ।
पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय एक पुरुषले आफ्नै श्रीमती मीना आलेमगरको हँसियाले घाँटी छिनालेर हत्या मात्रै गरेनन्,प्रहरीसामु नै पुग्नका लागि प्लाष्टिकमा टाउको बोकेर बजार डुले ।

मान्छेको टाउको बोकेर हिँडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । त्यसलगत्तै ती पुरुषलाई प्रहरीले बाटैबाट नियन्त्रणमा लियो । उनले श्रीमतीको छिनेको टाउको प्लाष्टिकमा बोकेर हिँडेको तस्विर सामाजिक सञ्जालमा भाइरल भयो ।
महिला हिंसाविरुद्ध आवाज उठाउने विभिन्न संघ संस्था तथा व्यक्तिहरुले उक्त घटनाको घोर भत्र्सना गर्दै विज्ञप्ति पनि सार्वजनिक गरे । तर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नै चलिरहेको बेला यस्ता घटना हुनुले कार्यक्रमको प्रभावकारितामाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ । मृतक मीनाकी आमा हरिकलाले आफ्नो छोरीको मृत्यु नै महिला हिंसाको कारण भएको बताउँछिन् । ‘कता कता के के कार्यक्रम हुन्छन् हामीलाई के थाहा
’
उनले भनिन्, ‘महिला हिंसाविरुद्ध आवाज उठाउने को को हुनुहुन्छ, अब मेरो छोरीको न्यायका लागि आवाज उठाइदिनुहोला, बजारका होटलमा कार्यक्रम गरेर मेरो छोरीले कसरी न्याय पाउली र महिला तथा बालबालिकाको क्षेत्रमा आवाज संस्थाकी निशा पौडेलले पञ्चपुरी घटनाका कारण आफूहरुमाथि विभिन्न लाञ्छना लागिरहेको बताइन् । उनले पञ्चपुरी क्षेत्रमा काम गर्ने आफ्ना कर्मचारीको ज्यान समेत जोखिममा रहेको बताइन् ।
‘अहिले त्यहाँका केही नागरिकले तिमीहरुको पनि टाउको काट्नुपर्छ भनेर धम्की दिइरहेका छन्,’ उनले भनिन्, ‘ महिलामाथि हिंसा भइरहेको घटनामाथि हामीले आवाज उठाउँदा हामीमाथि धम्की आउने कुराले हाम्रो सुरक्षा कसरी हुने भन्ने कुरा उठेको छ, तर यति हुँदा हुँदै पनि हामीले मीनाको न्यायका लागि आवाज उठाइरहेका छौँ ।’
पञ्चपुरी घटनाले अब महिला हिंसाविरुद्ध हुने कार्यक्रमहरुलाई व्यापक रुपमा गाउँ–गाउँमा पु¥याउनुपर्नेतर्फ सबै लाग्नुपर्नेमा पौडेलले जोड दिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी सुरज कार्कीले पनि प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादकै कारण घट्ना निम्तिएको हुनसक्ने बताएका छन् ।
‘आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेको र श्रीमतीलाई शंका गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको छ,’ उनी भन्छन्, ‘सोही कारणले विवादसमेत भइरहेको रहेछ केही दिनबाट विवादकै कारण घट्ना भएको प्रहरीको अनुमान छ ।’वर्षेनी महिला हिंसाविरुद्धका विभिन्न औपचारिक कार्यक्रमले हिंसाको चपेटामा परेका महिलामाथि प्रभाव पार्न नसकेको देखिएको छ ।
महिला सशक्तिकरण मञ्चका कार्यक्रम संयोजक लक्ष्मी जिसीले आफूहरुले महिला हिंसाविरुद्धका कार्यक्रमलाई गाउँ केन्द्रित गरेको दाबी गरिन् । उनले पञ्चपुरी घटनाले गर्दा यस्ता खालका कार्यक्रमको आवश्यकता अझै बढी गाउँ क्षेत्रमा परेको पनि बताइन् ।
‘गाउँमा महिला हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम नभएका होइनन्,’ उनले भनिन्, ‘तर सबै कार्यक्रमको प्रभाव नपरेको पनि हुन सक्छ तर महिला हिंसाको बारेमा र यस्ता खालका अभियानका बारेमा अहिले धेरै जानकार भइसकेका छन् ।’ यति हुँदा हुँदै पनि महिलामाथि शंकाकै भरमा हत्या हुनु दुःखद भएको उनको भनाइ छ । महिलाहरु आर्थिक रुपमा बलियो र आत्मनिर्भर पनि हुनुपर्नेमा जिसीको जोड छ ।
सामाजिक विकास मन्त्रालयकी महिला तथा बालबालिका अधिकृत अनिता ज्ञवालीले संघीयतापछिको संरचनामा गइसकेपछि हरेक कार्यक्रम सदरमुकाम केन्द्रीत हुनपर्ने बताइन् । उनका अनुसार सदरमुकाममा सबै क्षेत्रका मानिसहरुको उपलब्धता हुने भएकाले यस्ता खाले धेरैजसो कार्यक्रम सहर बजारमा हुने गरेका हुन् ।
‘यसो भन्दै गर्दा हामीले गाउँमा कार्यक्रम गरेका छैनौँ भन्न मिल्दैन,’ उनले भनिन्, ‘हामीले गाउँ–गाउँमा पनि महिला हिंसा विरुद्धका जनचेतनामुलक कार्यक्रम धेरै ग¥यौँ तर खराब मानसिकता भएका व्यक्तिको सोच त केही गरी परिवर्तन गर्न सकिँदैन ।’ कर्णाली प्रदेश प्रहरीका अनुसार सुर्खेतमा महिलामाथि हुने हिंसा झनै अत्यधिक छ ।
प्रहरी तथ्याङ्कअनुसार कर्णालीका दशवटै जिल्लामध्ये सुर्खेतमा महिला हिंसाका सबैभन्दा धेरै उजुरी दर्ता भएका छन् । सुर्खेतमा आर्थिक वर्ष २०७५÷०७६ मा चार सय ६६, आ.व २०६७÷०७७ मा तीन सय ५३, २०७७÷०७८ मा पाँच सय ४४ वटा महिला हिंसाका घटना भएका छन् ।
चालू आर्थिक वर्षको चार महिनामा एक सय ७८ वटा उजुरी दर्ता भइसकेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हिंसामुक्त समाज बनाउने अभियानमा स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
उनले स्थानीय तहका जनप्रतिनिधिहरुले महिला हिंसा र अपराध न्यूनीकरणमा भुमिका निर्वाह गर्न सके गाउँ केन्द्रीत अभियानले पनि सार्थकता पाउने बताए । मुख्यमन्त्री शाहीले हिंसा र अपराध न्यूनीकरणका लागि शिक्षाको खाँचो रहेको बताए । उनले व्यक्ति र समाजलाई शिक्षित बनाउन सके हिंसा न्यूनीकरण हुँदै जानेमा पनि जोड दिए ।






