नेपालगन्जमा १० करोड लागतमा कन्या क्याम्पस निर्माण

बाँके, २६ फागुन ।
नेपालगन्ज उपमहानगरपालिकाको १० करोड लगानीमा कन्या क्याम्पस निर्माण सम्पन्न भएको छ । उपमहानगरपालिकामा मधेसी र मुस्लिम समुदायका छात्राहरूको शिक्षामा पहुँच बढाउने उद्देश्यले सञ्चालित कन्या कलेजको झण्डै १० करोडको लागतमा कक्षा कोठासहित पूर्वाधार निर्माण गरिएको हो ।
कलेज सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तयारी अवस्थामा छ भने आगामी शैक्षिक सत्रमै कक्षा सञ्चालन गर्न विभिन्न विश्वविद्यालयसँग सम्बन्धनका लागि पहल थालिएको उपमहानगरपालिकाले जनाएको छ ।
‘पूर्वाधार निर्माणको काम सकिएको छ,’ नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाले भने, ‘आगामी शैक्षिक सत्रमै कक्षा सञ्चालन गर्न पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धनका लागि पहल थालिएको छ ।’
यसअघि मध्यपश्चिम विश्वविद्यालयमा आवेदन दिए पनि सम्बन्धन नपाउँदा क्याम्पस सञ्चालनमा ढिलाइ भएको थियोे । तर हाल पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिन सकारात्मक प्रतिक्रिया जनाएको कलेज सञ्चालक समितिका सदस्य रवीन्द्रकुमार कर्णले बताए ।
‘पूर्वाञ्चल विश्वविद्यालयले अब आउने शैक्षिक सत्रदेखि सम्बन्धन दिने आश्वासन दिएको छ,’ उनले भने, ‘सम्बन्धन पाए अब नयाँ भर्ना खुलेसँगै यसै शैक्षिक सत्रदेखि बीबीए, बीबीएस, बीएड, बीसीए, बीआईटी र एलएलबी तहको कक्षा सञ्चालन हुनेछ ।’
क्याम्पसमा पढाइ सुरु भए नेपालगन्जका छात्रालाई पहिलो प्राथमिकतामा राखेर भर्ना लिइए पनि जुनसुकै क्षेत्रका कन्या पढन पाउने बताइएको छ । यसले बीचमै पढाइ छाडने मुश्लिम र मधेसीलगायत छात्राहरूको उच्चशिक्षामा उल्लेख्य रूपमा पहुँच बढने अपेक्षा गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले मधेसी तथा मुस्लिम बालिकाको पहुँच बढाउन अघिल्लो वर्षदेखि नै सल्यानीबागमा कन्या माध्यमिक विद्यालय सञ्चालन गरिसकेको छ ।
त्यहाँ छात्राहरूको आकर्षण बढाउन विभिन्न कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीको उत्साहजनक रूपमा उपस्थिति बढेको नेपालगन्ज कन्या मावि सल्यानीबागका प्रधानाध्यापक बुधेशकुमार जैसवालले बताए ।
‘पहिलेपहिले विद्यार्थी पढन आउँदैन थिए,’ उनले भने, ‘विद्यार्थी आकर्षण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएपछि हाल छात्राको आकर्षण बढेको छ ।’ अहिले सो विद्यालयमा पाँच सय बढी विद्यार्थी अध्ययन गर्न आउने गरेको विद्यालयले जनाएको छ ।
उपमहानगरपालिकाले यहाँ पढन आउने विद्यार्थीलाई साइकल वितरण गरिसकेको छ भने विद्यार्थीहरूलाई पढाइप्रति आकर्षित गराउन सिलाईटाई मेसिनलगायत विभिन्न सामग्री वितरण गर्ने योजना अघि सारेको छ ।
नेपालगन्ज–४ का वडाध्यक्ष सफिक बेहना विद्यार्थीको उपस्थिति बढाउन वडावाट समेत विभिन्न कृयाकलाप गरिएको बताउँछन । विद्यालयमा आवश्यक पर्ने संरचना निर्माणका साथै विद्यार्थी आकर्षित गर्ने खालका योजनामा नेपालगन्ज उपमहानगरपालिकाका साथै वडा कार्यालयले विशेष चासो लिएपछि अहिले विद्यालयको स्वरुप फेरिएको उनको भनाइ छ ।
नेपालगन्जमा खासगरी मुस्लिम समुदायका बालिका मदरसामा पढेपछि माथिल्लो कक्षा पढ्न अरु विद्यालयमा नजाने गरेको पाइएको छ । त्यस्ता छात्रालाई नेपालगन्ज कन्या माध्यमिक विद्यालयमा पढ्ने वातावरण मिलाएपछि छात्राहरूको आकर्षण त्यसतर्फ बढेको छ ।
हाल १० कक्षासम्म पढाइ हुने सो विद्यालयलाई कक्षा १२ सम्म पढाउने लक्ष्य छ । त्यहाँबाट उत्तीर्ण हुने छात्रा र उच्चशिक्षा अध्ययन गर्न चाहने अन्य छात्राहरूलाई कन्या कलेजमा पढ्ने व्यवस्था मिलाउन लागिएको हो ।






