बर्सेनि घट्दै अदुवा उत्पादन

सल्यान,२३ मंसिर ।
शारदा नगरपालिका–१४ माल्नेटाका किसान ज्ञानबहादुर घर्तीले ७ रोपनी जग्गामा अदुवाखेती गरिरहेका छन । गत वर्ष ८० क्विन्टल अदुवा उत्पादन गरेका उनले करिब ५ लाख रुपैयाँ आम्दानी गरे । त्यसअघि एक सय क्विन्टल अदुवा उत्पादन गरेका उनले यो वर्ष भने ६० क्विन्टल मात्र अदुवा उत्पादन भएको बताए ।
‘रोगकिराको प्रकोप हो या सिँचाइको समस्या, केही बुझ्नै सकिएको छैन,’ उनले भने, ‘उत्पादन बढ्नुको साटो बर्सेनि घटिरहेको छ ।’उनका छिमेकी बुद्धिराम गिरीले गत वर्षर् ५ रोपनी जग्गामा ६५ क्विन्टल अदुवा उत्पादन गरे भने अघिल्लो वर्ष ८० क्विन्टल ।
तर अदुवा उत्पादनबाट गत वर्ष ४ लाख रुपैयाँ आम्दानी गरेका उनले यो वर्ष ५० क्विन्टल मात्र उत्पादन गरे । ‘माल्नेटाको पहिचान नै अदुवा हो, अरु अन्नबाली लगाउन छोडेर अदुवामा लगानी बढाइरहेका थियौं,’ उनले भने, ‘अदुवा उत्पादनमा भएको गिरावटले सबै किसान निराश बन्दै गएका छौं ।’
देशभरि सबैभन्दा राम्रो बोसे अदुवा उत्पादन हुने माल्नेटाका करिब ४ सय किसान परिवारले व्यावसायिक अदुवा खेती गरिरहेका छन् । यसपालि कम्तीमा २० प्रतिशत अदुवा उत्पादन घटेको गिरीले बताए । उनका अनुसार वैशाख–जेठमा खडेरी परेका कारण पनि अदुवा उत्पादन घटेको हो । उनले खडेरीका कारण टुसाहरू सुकेका कारण अदुवा उत्पादन कम भएको बताए ।
अहिले बिक्री गर्ने समय भएकाले माल्नेटाका सबै किसान खनेको अदुवा सफा गर्ने र ग्रेडिङ गर्ने काममा व्यस्त छन् । केहीले बीउ भण्डारणको कामसमेत गर्दै आइरहेका छन् । यस वर्ष माल्नेटाको अदुवा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा बिक्री भइरहेको अर्का किसान ओपिराम घर्तीले बताए । उनका अनुसार उत्पादित अदुवा प्रशोधन केन्द्र सुर्खेतमा जाने भएकाले बजारको समस्या भने छैन ।
अदुवा उत्पादनमा आएको गिरावटका कारण किसानमा निराशा छाएको अर्का किसान मेगराज घर्तीले बताए । उनका अनुसार अदुवा उत्पादन हुने गाउँमा डाँडामा भएकाले सिँचाइको अभावका कारण सधैं आकाशेपानीको भर पर्नुपर्ने बाध्यता भएको छ ।
‘वर्षा पर्याप्त भएको साल राम्रै उत्पादन हुन्छ, वर्षा धेरै नभए उत्पादन कम,’ उनले भने, ‘वर्षा पर्याप्त नभए रोगकिराको प्रकोप पनि देखिने गरेको छ ।’ अदुवाको उत्पादन घट्दै जाँदा जीविकोपार्जनमा समस्या देखिन थालेको उनले बताए ।
उनका अनुसार माल्नेटाका सबै घरमा अदुवा खेती हुन्छ । माल्नेटाबाट मात्रै बर्सेनि झन्डै २ करोड रुपैयाँको अदुवा बाहिर जाने गरेको उनले जानकारी दिए । तर यसपालि उत्पादन घट्दा करिब ४० लाख रुपैयाँ घट्ने देखिएको उनको भनाइ छ ।
प्रशोधन केन्द्र र कोल्ड स्टोरको अभावका कारण किसानलाई तत्कालै अदुवा बिक्री गर्नुपर्ने बाध्यता छ । बीउ राख्नलाई पनि परम्परागत शैली अपनाउनुपरेको स्थानीय कुलबहादुर बिकले बताए । ‘
कोल्ड स्टोरको व्यवस्था भए बेमौसममा बिक्री गर्न सकिन्थ्यो, जसले गर्दा राम्रो भाउ पाइन्थ्यो,’ उनले भने, ‘तर भण्डारणको व्यवस्था नहुँदा उत्पादन भएको १÷२ महिनाभित्रै सबै अदुवा बिक्री गरिसक्नुपर्छ ।’ उनले बिक्री नहुने डरले सस्तोमा खरिदकर्तालाई अदुवा बेच्नुपर्ने बाध्यता भएको गुनासो गरे ।
कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेतले समयमै वर्षा नहुँदा बर्सेनि अदुवाको उत्पादन घटिरहेको बताए । उनका अनुसार भर्खर अदुवा भित्र्याउने सिजन सुरु भएकाले यो वर्ष कति अदुवा उत्पादन भयो भन्नेबारे तथ्यांक आएको छैन ।
उनले यो वर्ष अघिल्लो वर्षभन्दा करिब १० प्रतिशत उत्पादन घटेको हुन सक्ने अनुमान गरे । सल्यानमा यो वर्ष १ हजार ७ सय ५० हेक्टरमा किसानले अदुवा लगाएका छन् । गत वर्ष २८ हजार ५ सय ५९ मेट्रिक टन उत्पादन भएको थियो ।
कान्तिपुर






