कर्णालीमा रोकिएन बालविवाह

सुर्खेत,२३ मंसिर ।
कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७८÷७९ मा सुत्केरी हुन नसकेर १७ जना महिलाको मृत्यु भएको छ। त्यसमध्ये पाँच जना २० वर्षमुनिका थिए। कर्णाली प्रदेशमा बालविवाहका कारण कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ।
![]()
सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य शाखाकी कम्युनिटी नर्सिङ अधिकृत कविता खत्रीले बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको बताए । उनले भने , “कर्णालीको मातृ मृत्युको तथ्याङ्क हेर्ने हो भने डरलाग्दो छ। शारीरिक र मानसिक रूपमा परिपक्व नभई कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी आउन सकेको छैन।”
उनले भने , “बच्चा जन्माउन नसकेको अवस्थामा ज्यान नै जाने घटना धेरै छन्। बच्चा जन्माउन सफल भएका कतिपय आमाको पछि पाठेघर खस्ने, अन्य शारीरिक समस्या देखापर्ने हुन्छ।” कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाउने व्यवस्था गरेको छ। यसलाई रोक्न सरकारी तथा गैरसरकारी संस्थाबाट अभियान सञ्चालन भए पनि बालविवाह न्यूनीकरण हुन सकेको छैन।
कर्णालीमा ५२ प्रतिशत बालविवाह हुने गरेको सरकारी तथ्याङ्क छ। गरिबी, अशिक्षा र पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बालविवाह बढ्दो छ। जनचेतनामूलक कार्यक्रम भइरहे पनि अपेक्षित रूपमा बालविवाह न्यूनीकरण हुन सकेको छैन। उमेर नपुग्दै बालविवाह गरेको पाइए अभिभावकलाई राखेर सम्झाइ बुझाइ गरेर बिहे रद्द गर्ने गरिए पनि लुकिछिपी बाल विवाह भइरहेको बताइन्छ।
कर्णालीमा कम उमेरमै आमा बन्नेको सङ्ख्यामा धेरै छ। कर्णालीमा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा कलिलो उमेरमा आमा हुनेको सङ्ख्यामा कमी आएको देखिन्न। २०७६ यता कर्णालीमा गर्भवती हुनेको तथ्याङ्कअनुसार १६ हजार ७०१ जना २० वर्षमुनिका छन्।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा पाँच हजार ३२८ जना २० जना, २०७७÷७८ मा छ हजार २० जना र २०७८÷७९ पाँच हजार ३५३ जना २० वर्षमुनिका छन्। कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा आमा र बच्चा दुवैको ज्यान जोखिममा रहेको कम्युनिटी नर्सिङ अधिकृत खत्रीको भनाइ छ।
समाजमा बालविवाह भइरहे पनि प्रहरीसम्म भने कम उजुरी आउने गरेको छ। प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा साढे दुई वर्षको अवधिमा ३७ वटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७७÷७८ मा २० वटा, २०७८÷७९ मा ११, २०७९÷८० मा छवटा उजुरी बालविवाह दर्ता भएका हुन्।
अभियन्ता रचना सुनारले बालविवाह भए पनि गाउँघरमा अधिकांश लुकाइने गरेको बताए । बालविवाहका कारण महिलाको विवाह दर्ता नहुने, बालबच्चाको जन्मदर्ता नहुने र उनीहरू हिंसामा पर्न गरेको उनको भनाइ छ । बालविवाह न्यूनीकरण गर्न सचेतनासँगै अभिभावकले आफ्ना छोराछोरीको मनोविज्ञान बुझेर उनीहरूको शारीरिक मानसिक परिवर्तनलाई सन्तुलनमा राख्नुपर्ने उनले बताए ।
सामाजिक सुरक्षा तथा महिला विकास महाशाखाका प्रमुख अनिता ज्ञवालीले कर्णालीमा बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउने तयारी थालेको बताए । उनले बालविवाह न्यूनीकरण गर्न प्रदेश सरकारले ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरीको’लगायत छात्रवृत्तिलगायतका सचेतनाका कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ।
गोरखापत्र






