पढ्न नपाएकी ‘शिक्षिका’

सिर्जना बुढाथोकी
सुर्खेत,२२ कात्तिक ।
दैलेखको गुराँस गाउपालिका–८ मा २०३५ सालमा मेरो जन्म भएको हो । म जन्मिएको परिवेशमा छोरीलाई पढाउने भन्ने हुँदैन थियो तर म एक भाग्यमानी छोरी हो जसले पढ्न पाएँ । छोरीलाई पढाउनुपर्छ भन्ने भएर पक्कै होइन भाईलाई रेखदेख गर्नका लागि स्कुल जान्थे म । भाईलाई स्कुलमा जाँदा आउँदा केहि समस्या हुन्छ कि भनेर बुवाले मलाई भाईको रेखदेखका लागि विद्यालय पठाउनुभएको थियो । पछि मैले मपनि भाईसंगै पढ्छु भनेपछि बुवाले घरमै पढ् भनेर बाह्रखरी ल्याईदिनुभएको थियो ।
बुवालेनै घरमा भाईलाई पढाउदा मलाई पनि संगै बसालेर पढाउनुभयो । मैले त्यो किताब घरमा पढेर कण्ठ पारेको थिएँ । पछि बुवाले मैले पढ्न देखाएको ईच्छा देखेर भाईसंगै विद्यालय पठाउनु भयो । विहान ५ बजे उठेर घरमा आमालाई काममा सघाएर मात्रै विद्यालय जानुपर्ने हुन्थ्यो । यसरीनै कक्षा ५ सम्म गाउँकै मालिका मावि छोटेपोखरामा पढेँ ।

विद्यालय पठाउन नचाहेको मेरो परिवारलाई मैले कक्षा एकदेखि पाँचसम्म पढ्दा विद्यालय प्रथम भएर उपहार दिएँ । मलाई सानैदेखि पढाईमा असाध्यै रुचि जागेको हो । हामी ४ बहिनी ४ भाई र आमाबुवा गरेर दश जनाको परिवार हो । गाईभैसी पाल्ने, खेतबारी सबै कुरा सम्हाल्नुपर्ने हामी सबैले । मैले कहिल्यै पनि बेलुकीको ८ बजेसम्म किताब हेर्न पाईन जति पढ्थे राति ८ बजेपछि पढ्थे ।
गाईवस्तु लिएर गोठालो जाने, पानीका मुहान टाढा हुन्थे पानी लिन जानुपर्ने घण्टौ लगाएर, साना भाईबहिनीको रेखदेख गर्नुपर्ने भएकाले पर्याप्त पढ्ने मौका पाउँदैन थिएँ, जत्ति म चाहन्थे । तर पनि सघंर्षका साथ पढे । मेरो घरको पारिपट्टी रहेको मामाको घरमा भाईहरु कतिबेलासम्म पढ्छन् भनेर बत्ति हेरेर प्रतिष्पर्धा गरेर पढे । बत्ति थिएन अझ टुक्की थियो। घरको छतका कडिमा डोरी बाँधेर कपालमा बाँधेर मैले पढेको हु।
मैले कहिल्यै पेटभरी खाना खाएन अनि कहिल्यै तातो अनि बाक्लो विस्तारामा बसेन । भोक अनुसार टन्न खाना खायो भने निन्द्रा लाग्छ अनि तातो हुने गरी विस्तारामा बसेर पढ्दा निन्द्रा लाग्छ भनेर त्यसरी पढेको । त्यसरी मैले कक्षा ६ देखि ८ सम्म अवलचिङ्गको विद्यालयमा पढे अनि ९ र १० कक्षा जोरेबाजको एक विद्यालयमा पढेर मैले राम्रो नम्बरका साथ एस.एल.सी पास गरे । मैले रातिमा दुई घण्टाभन्दा बढी कहिल्यै सुतिन।
किनकी दिउँसो विद्यालय, बिहान बेलुकी घरको कामले म रातिनै पढ्नुपर्ने बाध्यता थियो । एस.एल.सीपछि के गर्ने भन्ने सोच्दै गर्दानै मेरो मागी विवाह भयो । त्यतिबेला मेरो श्रीमानले मलाई माग्न आउनुभयो र मेरो परिवारले पनि सहर्ष स्वीकार गर्दै विवाह गरिदिए । मेरो परिवारमा दिदिबहिनीले नपाएको पढ्ने कुरा मैले पाएको थिए तर त्यो चाहना नसकिदै मैले विवाह गर्नुपर्ने अवस्था आयो ।
हामी यस्तो समयमा जन्मिएका अनि हुर्किएका थियौ की आमाबुवाले जे भन्यो त्यहि मान्नुपर्ने थियो । परिवारको निर्णयलाई स्वीकार्दै मैले विवाह गरे । विवाहपछि मेरो पढाई रोकियो । छोरीलाई त पढाउनु हुदैन भन्ने बेलामा जन्मिएकी म बुहारीलाई पढाउने भन्ने त कल्पनासम्मको कुरा हुँदैन थियो । हाम्रो संयुक्त परिवार सासूससुरा, जेठाजु सबै भएको थियो । दुई वर्ष हामी पनि संगै भयो अनि पढाई बन्द भयो । घरधन्दा, मेलापात, गोठालो गरेरै दिन विते । विवाह भएको दुई वर्ष पछि मेरो श्रीमानले अब तिमी पढ्नुपर्छ भन्नुभयो अनि हामी सबै परिवार अलग अलग भयौ ।
मलाई लिएर मेरो श्रीमानले सुर्खेतको शिक्षा क्याम्पसमा कक्षा ११ मा भर्ना गरिदिनुभयो । मैले एघारमा त रेगुलर क्याम्पस गएर पढे तर कक्षा १२ मा गएपछि मैले अब पढाईसंगै कामपनि गर्नुपर्छ भन्ने मनसाय बनाएर गाँउमै रहेको विद्यालयमा स्थानीय स्तरबाट (गा.वि.स) पढाउन थाले । त्यो समयमा तीन हजार तलब पाउँथे । मलाई क्याम्पसमा पढ्ने पैसा बनाउँथे ।
त्यसपछि मेरा छोरीहरु जन्मिए । मेरा तीन छोरी छन् । छोरीहरु हुर्काउदै पढ्न पढाउन समस्या भयो अनि मैले पढाई छोडे । तर जागीर छोडिन किनकी श्रीमानको पनि जागिर थिएन घरमा कोहि त केहि गर्ने हुनुपर्ने हुन्छ । मैले विद्यायमा पढाउदै गर्दा वि.सं. २०५९ सालमा नियुक्ति पाएँ । शुद्ध दरबन्दीमा नियुक्ति पाएर पढाए । संघर्ष त कति गरियो शब्दमा अटाउँदैनन् ।
जगिर गर्दै गाउँमै घर बनाइयो किनभने काम उतै गर्ने भएकाले सहजताका लागि । वि.सं. २०७३ सालमा सुर्खेतमा घर बनाएँ । अहिले हामी यतै बस्छौ । मेरो वि.सं. २०७५ सालमा स्थायी नियुक्ति पाएँ । अहिले म नेरा मावि चिसापानी सुर्खेतमा पढार्ई रहेकी छु। मेरो श्रीमान जसले संघर्षमा साथ दिनुभयो उहाँकै कारण म सफल भएको अनुभूति गरेकी छु।
उहाँले दिनुभएको साथले नै म र मेरा छोरीहरु अहिले सक्षम भएका छौ । अब छोरीहरु पनि ठूला भैसके । मैले पूरा गर्न नसकेको पढ्ने इच्छा अब मेरा छोरीहरुले नै पूरा गर्छन् भन्नेमा म ढुक्क छु। मेरो दुःख अनि संघर्ष उनीहरुले पनि देखेका छन् । सकेसम्म उनीहरुलाई कुनै कुरामा कमी अनि दुःख दिन चाहन्न । हामीले भोगेका अभाव उनीहरुलाई पर्न दिन्न भनेरै दुःख गरे ।
मैले कति अभिभावकत्व निभाउन सके त्यो भविष्यले देखाउने छ तर मैले उनीहरुको सहि इच्छा कहिल्यै मारेको छैन् । मैले भोकै पेट र आधा निन्द्रामा पढेर गरेको संघर्षले आज म सफल भएको छु।





