चितवनमा भेटियो नयाँ चरा

चितवन २५ जेठ
चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो ।
छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्बिर लिएका थिए । नयाँ चरा भेटिएपछि चराविज्ञ हेमसागर बरालसहितको विज्ञ समूह मंगलबार चितवन आएर थप अध्ययन गरेको थियो ।
बिडारीका अनुसार मंगलबार पनि चरा भेटिएको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन्। यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ ।
फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउँछन् । यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ । चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ । स्रोत ः सेतोपाटी





