२०८३ आश्विन १८ गते
×

Now Playing

८ कक्षामै २१ दिन अनशन बसेका थिए ‘गोविन्द बन्दी’

सुर्खेत, २५ चैत्र ।
अधिवक्ता गोविन्द शर्मा बन्दी संसद् बाहिरबाट मन्त्री भएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका बन्दी अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारका विज्ञ मानिन्छन् । नेपालमा रोम विधान अनुमोदन हुनुपर्छ भन्नेमध्येका एक बन्दी आफैँ विधेयक लैजाने मन्त्रालयको नेतृत्वमा पुगेका छन् ।

वि.सं. २०२४ सालमा दैलेखमा आमा कौशिल्यादेवी र बुवा वेदप्रसाद कोइरालाको सन्तानका रूपमा जन्मिएर एसएलसीसम्मको अध्ययन गरेका बन्दी कक्षा–८ मा पढ्दा नै जेल परेका थिए । विद्यालय सुधारको माग राखेर आन्दोलन गर्दा जेल हालेपछि उनी २१ दिनसम्म जेलमै अनशन बसेको उनकी श्रीमती अधिवक्ता रक्षा बस्यालले जानकारी दिइन् ।

एसएलसीपछि नेपालगन्ज झरेर महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएका उनी विद्यार्थी संगठनमा लागेर राजनीतिमा होमिएका थिए । स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुँदै महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिसम्म भएका उनी त्यसक्रममै पटक–पटक जेल परेका थिए । आईएल र बीएल दुवैको परीक्षा जेलबाटै दिएर उत्तीर्ण गरेका थिए ।

विद्यार्थीकालमा पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय भएर पटक–पटक जेल बसेका बन्दी पञ्चायतले समयमा चुनाव गर्न नदिएका कारण पाँच वर्षसम्म महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा बसेका थिए ।

कानुन व्यवसायीको लाइसेन्स लिएपछि नेपाल बार एसोसिएसनको राजनीतिमा सक्रिय भएका बन्दी बार एसोसिएसनको मध्यपश्चिमाञ्चल उपाध्यक्षसमेत भएर काम गरेका थिए ।

बार एसोसिएससनको जिम्मेवारीपछि उनले नेकपा (एमाले) को कानुन विभागमा बसेर पनि काम गरेका थिए । हङकङको युनिभर्सिटी अफ हङकङबाट अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका बन्दीले त्यसपछि डेनमार्कबाट ‘लिगल रिसर्च’सम्बन्धी अध्ययन गरेका थिए । सर्वोच्च अदालतले गठन गरेको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन समितिमा बसेरसमेत काम गरेका उनी न्यायपालिकाका विभिन्न अनुसन्धानमा संलग्न भएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर मन्त्रिपरिषद् विस्तार गर्दा गैरसांसदलाई पटक–पटक मन्त्री बनाउन नपाइने भन्दै दायर भएको रिटमा बन्दीले बहस गरेका थिए । उनी ओली सरकारविरुद्धको अभियानमा सक्रिय भएर लागेका थिए ।

उनले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अनुमोदनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई सहमत गराउन भूमिका निर्वाह गरेका थिए ।

व्याख्यात्मक घोषणाबाट अस्पष्ट विषयलाई प्रस्ट बनाउन सकिन्छ भन्ने विषयमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । वरिष्ठ अधिवक्ता शम्भु थापालाई पनि देउवा नेतृत्वमा सरकार बनेपछि मन्त्री बन्ने प्रस्ताव आएको थियो । त्यति बेला सत्तापक्षीय सबै दलले आग्रह गरे पनि थापा तयार भएनन् । तर, बन्दी भने नेकपा (एकीकृत समाजवादी)को गठनदेखि नै पार्टीमा आबद्ध भएका थिए ।

‘उहाँ नेकपा एकीकृत समाजवादीमा सुरु देखि नै आबद्ध हुनुभएको थियो । त्यसैले नेकपा एसकै सिफारिसमा उहाँ मन्त्री बन्नुभएको हो,’ अधिवक्ता थापाले भने, ‘एउटा पार्टीमा लागिसकेपछि मन्त्री बन्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्छ ।’ बन्दीका दुई छोरी छन् । जेठी छोरी अपेक्षा कोइराला कानुनमै स्नातकोत्तर गर्दै छिन् भने कान्छी छोरी दीक्षा कानुनमै स्नातक (बीएएलएलबी) अध्ययनरत छिन् । उनकी श्रीमती रक्षा बस्याल नेपाल बार एसोसिएसनको निवर्तमान उपाध्यक्ष हुन् । उनका आमाबुवा दुवै स्वर्गीय भइसकेका छन् ।

यसकारण मन्त्री बने दैलेखका गोबिन्द बन्दी
२०७० सालको संविधानसभा चुनावमा दैलेखबाट सांसद बन्न चाहेका गोबिन्द बन्दी निकै समय उतै बसे । दैलेखको नारायण नगरपालिका कुईकानका स्थायी बासिन्दा बन्दीलाई त्यतिखेर नेकपा एमालेले पाँच जना उम्मेदवार सिफारिस गर्दा पाँचौ नम्बरमा नै राखेपछि दुईवटा क्षेत्रमात्रै भएको दैलेखबाट उनले सांसदको टिकट पाउन सकेनन् ।

त्यसपछि राजनीतिक गतिविधिबाट टाढै रहेका बन्दीको भूमिका बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको विषय सार्वजनिक भएपछि एकाएक बढ्यो ।

उक्त प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन जान नपर्ने माहोल मिलाउनका लागि बन्दीले खेलेको भूमिकाको गुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले यसपालि तिरेका हुन् ।

नेपालको संविधानले सामान्यतया सांसद मात्र मन्त्री हुने व्यवस्था परिकल्पना गरेको छ । तर धारा ७८ मा गैर सांसदलाई पनि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । तर यसरी नियुक्त भएका मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । मन्त्री बन्दी संघीय संसदको सदस्य बन्ने एउटा बाटो भने खुला नै छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यको एक पद रिक्त छ । यदि सरकारले उनलाई राष्ट्रियसभाा सदस्य मनोनित गरेमा उनी ६ महिनापछि पदमुक्त हुनुपर्ने अवस्था आउने छैन ।

यद्यपि प्रधानमन्त्री देउवासँग बन्दीलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेपछि मात्र मन्त्री नियुक्त गर्ने विकल्प थियो । तर उनले त्यो बाटो नरोज्दा संविधानको व्यवस्था दुरुपयोग गरेको देखिएको संविधानका जानकारहरु बताउँछन् ।

वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले गठबन्धन सरकार पनि पूर्ववर्ती केपी ओली सरकारकै बाटोमा गएको टिप्पणी गरे । ‘यो अपवादको कुरा हो । राज्यलाई आवश्यक प¥यो भने गर्न सक्ने कुरा हो । सामान्यतया, सहज अवस्थामा यस्तो गर्नु उपयुक्त होइन ।

सांसदहरु नै मन्त्री बन्नुपर्ने हो । कुनै बेला अप्ठ्यारो पर्यो, त्यो भन्दा बाहेक अर्काे हुन सकेन भने गैर सांसदलाई मन्त्री बनाउने हो,’ बिडारीले भने, ‘यो प्रचलन बेठीक हो । जे ओलीजीले गर्नुभयो, त्यही यो सरकारले नगरेको भए हुन्थ्यो भन्ने लागेको छ ।’

बन्दी मन्त्री नियुक्त हुँदासम्म कानुन न्याय तथा संसदीय मामिलामन्त्री नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सम्हालिरहेका थिए । बन्दी मन्त्री नियुक्त भएपछि बडु उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सारिएका छन् ।

२०४३ सालमा एमालेको विद्यार्थी संगठन अनेस्ववियुबाट महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा स्ववियु सभापति भएका बन्दी त्यसपछि भने सक्रिय राजनीति छोडेर वकालतमा लागेका थिए । अन्तर्राष्ट्रिय कानुन र संक्रमणकालीन न्यायका विषयमा दख्खल राख्ने बन्दी पछिल्लो पटक माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग नजिक थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विघटनको विपक्षमा वकालत गरेका बन्दी त्यसबेला पनि मन्त्री बन्ने चर्चा चलेको थियो । तर त्यतिबेला नेकपा एकीकृत समाजवादीभित्र गैरसांसदलाई मन्त्री बनाउन नहुने भन्दै विरोध भएपछि अध्यक्ष नेपाल पछि हटेका थिए । योसँगै बन्दी मन्त्री बन्ने विषय पनि सेलाएको थियो ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गराउन ब्याख्यात्मक घोषणा लेख्ने विषयमा उनले तत्कालीन गठबन्धन र सरकारलाई सहयोग गरेका थिए । नेताहरुका अनुसार, एमसीसी सम्झौता संशोधन नभएसम्म अनुमोदन गर्न नसकिने एकीकृत समाजवादी पार्टीको निर्णय परिमार्जन गरेर ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णयमा अध्यक्ष नेपाललाई पु¥याउन बन्दीले गरेको ‘कन्भिन्स‘ले भूमिका खेलेको थियो ।

एमसीसीको विषयमा हुने गठबन्धन दलका हरेकजसो छलफलमा बन्दी समेत सहभागी भएका थिए । एमसीसी अनुमोदनलाई सहज पारेर गठबन्धन जोगाउन भूमिका खेलेकाले अहिले उनलाई मन्त्री बनाइएको गठबन्धनकै नेताहरु पनि बताउँछन् ।

नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बन्दी सत्ता गठबन्धनका साझा मन्त्री हुन् । ‘गठबन्धनका सबै दलको साझा व्यक्तिका रुपमा उहाँ मन्त्री बन्नुभएको हो । त्यसैले उहाँलाई मन्त्री बनाउने निर्णय हाम्रो मात्रै होइन,’ खतिवडाले भने, ‘गठबन्धनको मन्त्री भएकाले उहाँ साझा हो भनेर सम्झिनपरयो ।’

अहिले प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका २३ सांसद छन् । सरकारमा राज्यमन्त्री सहित ५ जना मन्त्री छन् । समाजवादीभित्रै मन्त्री हुन योग्य अरु पनि नेताहरु छन् भन्दै प्रश्न उठ्दै आएको पनि छ । तर बन्दी नै मन्त्रीको हुनुको कारण अध्यक्ष नेपालसँग उनको पारिवारिक सम्बन्धले पनि भूमिका खेलेको छ भनिन्छ ।

बन्दी नेपालका सम्धी समेत रहेका सांसद सोमप्रसाद पाण्डेका साढुभाई हुन् । यस हिसाबले उनको पनि माधव नेपालसँग नाता जोडिएको छ । ‘खासगरि बालुवाटार केसमा उहाँले माधव कमरेडलाई जोगाउने सन्दर्भमा धेरै काम गर्नुभएको थियो ।

अख्तियारमा माधव नेपाललाई बयान दिन जान नपर्ने माहौल बनाउनका लागि महाभारत गर्नुपर्यो । त्यो सबै मिलाउने काम चाहिँ बन्दीले गर्नुभएको हो’ बन्दी निकट स्रोतले भन्यो, ‘माधव कमरेड उहाँको यो गुन कुनै न बेला तिर्न चाहनुहुन्थ्यो अहिले उपयुक्त मौका परयो ।’

बन्दीलाई मन्त्री बनाउनुमा संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउने सत्तारुढ दलको चाहना पनि भएको जानकारहरु बताउँछन् । प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन विषयलाई छिट्टै किनारा लगाउन चाहेको बताइरहेका छन् । तर माओवादी अध्यक्ष प्रचण्डले यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा बन्दीलाई नियुक्त गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव स्वीकार गरेका थिएनन् ।

त्यसबेला द्वन्द्वकालीन मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न बन्दीको हात रहेको बुझाइ प्रचण्डको थियो । संविधानविद विपिन अधिकारी संविधानअनुसार नै ६ महिनाका लागि मन्त्री नियुक्त गर्न सकिने भएपनि किन नियुक्त गरियो भन्ने कारण चाहिँ खुल्नुपर्ने बताउँछन् । ‘व्यक्तिगत रुपमा बन्दीजी सक्षम र जिम्मेवार हुनुहुन्छ,’ अधिकारीले भने, ‘संसद र सरकारको आँचोखाँचो पूरा गर्नका लागि विशेष परिस्थितितिको माग अनुसार यसरी मन्त्री नियुक्त गरिन्छ । ‘उहाँजत्तिको विज्ञ व्यक्तिलाई ल्याउनुको व्यावसायिक कारण पछि स्पष्ट होला ।’

८ कक्षामै २१ दिन अनशन बसेका थिए ‘गोविन्द बन्दी’

नेत्रहिन युवा संघ नेपालको साधारणसभा

८ कक्षामै २१ दिन अनशन बसेका थिए ‘गोविन्द बन्दी’

कर्णाली प्रदेशका प्राविधिक क्षेत्रमा १३३ जना जागिर

Leave a comment

Your email address will not be published. Required fields are marked *