हिमालपारिको गाउँ लिमीमा हिमपात, जनजीवन प्रभावित

हुुम्ला,२१ असोज ।
दुई दिनदेखि लगातार परेको वर्षापछि नाम्खा गाउँपालिका –६ हिमालपारिको गाउँ लिमीमा हिमपात सुुरु भएको छ । बिहीवार रातिबाट हिमपात सुुरु भएको स्थानीयले बताए ।
लिमी हल्जी गाउँका स्थानीय छिरिङ मेष्टा तामाङले रातिबाट सुुरु भएको हिमपात अहिले पनि जारी रहेको बताए । दुुई दिन लगातार वर्षा भएको भए पनि बिहीबार रातिबाट हिमपात भइरहेको उनले जानकारी दिए ।
अहिलेसम्म आधा फिट हिउँ जमेको छ उनको भनाइ छ । हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । लिमीका तीन वटै गाउँ तील, हल्जी र जाँङमा हिउँ परेका कारण सेताम्मे देखिएका छ । हिउँ परिरहेका कारण चिसो बढेको हुँदा तापक्रम माइनसमा झरेको स्थानीयले बताएका छन् ।

लिमीका यी गाउँ चार हजारदेखि चार हजार दुुई सय मिटर उचाइमा छन् । स्थानीयले बाक्लो हिमपात परिरहेको कारण हिउँ कति पर्छ भनेर अहिले नै भन्न नसकिने बताएका छन् । अघिल्लो हिमपातले क्षति गरेको बालीलाई किसानहरुले भित्र्याउने क्रम अन्तिम चरणमा रहेको बताएका छन् ।
हिउँ परेपछि अग्ला पाटनमा पालनका लागि लगिएका चौंरीगाईलाई समस्या भएको छ । त्यसैगरी तील गाउँ जोड्ने लिमी कर्णाली नदीमाथि बन्दै गरेको गाडी चल्ने काठेपुलको निर्माणकार्य पनि रोकिएको छ । त्यसैगरी लाप्चा, तुम्लिङ, ताक्ची क्षेत्रमा पनि हिमपात भइरहेको छ ।
लिमी जाने बाटो पर्ने पाँच हजार मिटर अग्लो न्यालुु लेकमा पनि बाक्लो हिमपात जमेको कारण सडक अवरुद्ध भएको छ । यसैबीच प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले हिल्सा, यारी, लिमीको सुुनखानीमा पनि हिमपात भइरहेको बताए । तीनै स्थानमा प्रहरी चौकी छ ।
हिमपात भएपछि प्रहरीलाई समेत कठिन भएको उनले बताए । यी क्षेत्रमा यस वर्षको यो दोस्रो हिमपात भएको उनले बताए । यसअघि असोज पहिलो हप्ता लिमीमा हिमपात भएको थियो । त्यसैगरी सदरमुुकाम सिमकोटको अग्ला हिमालमा पनि हिमपात भइरहेको छ ।
गोरखापत्र






