घरभित्र भेटियाे राज गोमन

रुकुम पूर्व, २२ भदौ ।
रुकुम पूर्व सिस्ने गाउँपालिका –६ छिप्रिदहको एक घरभित्र भेटिएको राज गोमन ९किङ कोब्रा० सर्पलाई नियन्त्रणमा लिई सुरक्षित स्थानमा छाडिएको छ । सिस्ने –६ छिप्रिदहको घरभित्र मङ्गलबार साँझ राज गोमन नामक सर्प भेटिएको हो ।
सर्प देखेपछि घरपरिवार र स्थानीयले डिभिजन वन कार्यालयमा खबर गरेका थिए । डिभिजन वन कार्यालयका प्रमुख जितेन्द्रसिंह खड्काको कमाण्डमा खटेको टोलीले सर्पलाई जीवितै उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । सर्प अनुमानित १० फिट लामो र ५ किलो तौलको रहेको खड्काले बताए ।

किङ कोब्रा तराईमा बढी पाइने भए पनि २ हजार २ सय मिटर उचाइसम्म बाँच्न सक्ने र वातावरणीय प्रभावले पहाडी क्षेत्रमा पनि पाइन थालेको डिभिजन वन कार्यालयका रेञ्जर विश्व केसीले जानकारी दिए । राज गोमन सर्प रुकुम पूर्वमा सम्भवत: पहिलो पटक देखापरेको हुनसक्ने केसीले बताए ।
सर्पलाई भेटिएको स्थानदेखि १ किलोमिटर पर जङ्गलमा लगेर छाडिएको छ । “यो निकै विषालु सर्प हो, सर्पलाई कुट्ने, जिस्क्याउने गरिएन भने कसैलाई केही गर्दैन । सुरक्षित छाडिदिँदा आफ्नै बाटो जान्छ” केसीले भने ।
गाेरखापत्र






