विकास माग्न पाँच दिनकाे यात्रा

सुर्खेत, २२ भदौ।
हुम्लाको चङ्खेली गाउँपालिका–२, दार्माकी मोतीसरा शाहीसहित पाँच जनाको टोली विकासको माग गर्दै आइतबार सुर्खेतस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आइपुगेको छ। टोली पाँच दिन लगाएर विकास माग्नका लागि मन्त्री भेट्न प्रदेश राजधानी सुर्खेत आएको हो। कर्णाली प्रदेशका १० वटै जिल्लाबाट जनताले निर्वाचित गरी पठाएका प्रतिनिधि पटक–पटक मन्त्री भए तर कर्णालीभित्रको ‘कर्णाली’ले भने विकासजस्तै मन्त्री पनि देख्नै मुस्किल छ।
यहाँको दूरदराजका नागरिक आफूले पठाएका जनप्रतिनिधि भेट्न र विकास माग्न प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमै धाउनुपर्छ, टोली प्रमुख मोतीसराले भनिन। “मन्त्रीलाई पहिलो पटक भेटियो,” मोतीसराले थपिन, “यसअघि सार्वजनिक कार्यक्रममा एक पटक मात्र देखेकी थिएँ ।

कर्णाली सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही मोतीसराका छिमेकी गाउँका हुन । उनि मन्त्री बनेको झन्डै १० महिना भयो। केही समयपहिले सार्वजनिक कार्यक्रमका लागि मुगुको सोरु गाउँपालिका जाँदा मन्त्री शाही एक पटक उनिहरूको गाउँमा पनि पुगेका रहेछन्र । त्यतिबेला चङ्खेलीका बासिन्दाले आफ्ना कुरा सुनाउन पाएनछन्। गाउँमै पुगेका मन्त्रीसँग विकास माग्ने समय नपाएपछि मोतीसरासहितको टोली अहिले मन्त्रालय आएको हो। दुई घण्टाको प्रतीक्षापछि उनिहरूले मन्त्रीलाई भेट्ने पालो पाए। उनिहरू भन्छन “हामी यति टाढा निकै भरोसा बोकेर आएका छौँ। आशा छ, हाम्रा कुराको सुनुवाइ हुनेछ।”
आइतबार मन्त्री शाहीको कार्यकक्षमा भेटघाट गर्नेहरूको भीड थियो। हुम्लाका मात्र नभई मुगु र कालीकोटबाट पनि थुप्रै टोली मन्त्री भेट्न आइपुगेका थिए। तीमध्ये धेरैजसो कृषक हुन्। आफ्नै ठाउँतिरका मन्त्री भएका बेला कृषिका लागि केही सहयोग पाइएला कि भन्ने आशाले आएको मोतीसराले अगाडि भने मन्त्रीले कृषिका योजना सञ्चालनका लागि सहयोग गर्ने बचन दिएका छन।
मन्त्री शाहीले दार्मा बजार र सलीसल्ला बजारमा तरकारी सङ्कलन केन्द्र स्थापना गरिदिने प्रतिबद्धता जनाए । चङ्खेली गाउँपालिका–२, दार्माका किसान निर्वाहमुखी खेती गर्छन्। सरकारी अनुदान र प्रोत्साहन नपाएपछि यहाँ कृषिउपजको थुप्रै सम्भावना भए पनि व्यावसायिक खेती हुन सकेको छैन।
दार्माका बासिन्दालाई व्यावसायिक कृषि गर्न निकै समस्या छ। सडक सुविधा छैन। खानेपानीको त्यस्तै दु:ख छ। स्वास्थ्य चौकी पुग्न दुई घण्टाको बाटो हिँड्नुपर्छ। स्वास्थ्य संस्था नपुग्दै बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता छ। मन्त्री शाहीले दार्मावासीका समस्याको हल गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पाँच दिनको बाटो छिचोलेर विकास माग्न प्रदेश राजधानी झरेका हुम्लाका महिलाहरूलाई उनले भने “तपाईंहरूलाई निराश बनाइनेछैन, त्यहाँ गर्न सकिने कृषिका कार्यक्रम केही न केही सञ्चालन गरिनेछ।”
दार्माका महिला आपसमा मिलेर सामूहिक फलफूल खेती गर्ने योजनामा छाै । त्यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक र प्राविधिक सहयोग आवश्यक छ। अनुदानका कार्यक्रम पाए काम गर्न सहज हुने उनिहरूको अपेक्षा छ। महिलाको बाँझो जमिनको उपयोग गरेर स्याउ र ओखर खेती गर्ने सोच छ। यही योजना लिएर पाँच वर्षसम्म स्थानीय सरकारसँग धाएका उहाँहरूले त्यहाँबाट भने सहयोग नपाएको बताए । आँगनको सरकारले बेवास्ता गरेपछि दार्माका महिलाहरू अहिले प्रदेश सरकारसँग गुनासो सुनाउन र विकास माग्न आइपुगेका हुन ।
गाेरखापत्र






