परम्परागत धानेको राडीपाखी व्यवसायबाट परिवार पाल्नै धौधौ

मुगु , २२ भदौ ।
छायाँनाथ रारा नगरपालिका–१४ का चन्द्रलाल बुढाको रोजगारी भनेकै भेडा, बाख्रापालन व्यवसाय हो । उनि भेडा र बाख्राको उन हरेक वर्षको चैत र असोज महिनामा उन सङ्कलन गर्छन । उनि मात्र होइन यहाँका अधिकांश स्थानीयको आयस्रोत नै यही हो ।
उनबाट आफूहरूले परम्परागत सीपको प्रयोग गरेर राडीपाखी बनाउँदै आएको उनको भनाइ छ । तर पछिल्लो समय यो व्यवसाय सङ्कटमा परेको उनि बताउछन । ‘यही राडीपाखी व्यवसायबाटै हामीले हातमुख जोहो गर्दै आएका छौँ तर अहिले यो व्यवसायबाट परिवार पाल्न पनि गाह्रो हुँदै आएको छ ।’

परम्परागत प्रविधिबाट राडी, पाखी र फेरुवा बनाउँदा समय बढी लाग्ने तर त्यसको आधारमा मूल्य नपाएको उनको भनाइ छ । ‘परम्परागत प्रविधिले काम गर्दा समय धेरै खर्च हुन्छ तर हामीले सामान्य ज्यालाको खर्च राखी बजारमा प्रति राडी र पाखीको ६ हजारदेखि सात हजार रुपियाँसम्म बिक्री गर्दै आएका छौँ । फेरुवा, लिउँको पाँच हजारदेखि ६ हजार रुपियाँसम्म बिक्री गर्दै आएका छौँ,’ उनले भने ।
बुढा जस्ता व्यवसायीको व्यवसायका लागि अनुदानमा सहयोग गर्नेगरी जिल्लामा रहेका सरकारी तथा गैर सरकारी निकायले विभिन्न आधुनिक प्रविधि मैत्री कार्यक्रम सञ्चालन गर्दै आएको बताए पनि ग्रामीण भेगका कृषकले उक्त कार्यक्रमको महसुस गर्न पाएका छैनन् । परम्परागत रूपमा राडीपाखीको व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई आधुनिकीकरण र प्रवद्र्धन गर्न स्थानीय तथा प्रदेश सरकारले प्रविधिमा सहयोग गर्नुपर्ने स्थानीय प्रेमलाल बढुवालको सुझाव छ ।
स्थानीय समाजसेवी जङ्गल बुढाले कृषकलाई रोजगारीमा टेवामिल्ने उद्देश्यले उन्नत प्रविधिका सामाग्रीहरू स्थानीय सरकार र प्रादेशिक कार्यालयबाट सहुलियतमा उपकरण उपलब्ध गराएमा स्थानीयलाई रोजगारीमा टेवा मिल्ने बताउछन ।
युवालाई समेत यो व्यवसायमा आकर्षित गर्न सके रोजगारीको लागि खाडीमा जाने बाध्यताबाट रोक्न सकिने उनको भनाइ छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका प्रमुख कृष्णबहादुर बोहराले परम्परागत रूपमा राडीपाखीको व्यवसाय गर्नेका लागि प्रदेश सरकारबाट प्रत्येक वर्ष २० लाख रुपियाँ आधुनिक प्रविधिका सामग्रीका लागि अनुदान रकम उपलब्ध गराउँदै आएको बताए । प्रदेश कार्यालयको कार्यविधि अनुसार समूह, सहकारी, व्यक्तिगत फर्मलाई अनुदानका सामग्रीहरू हस्तान्तरण गरिएको छ ।
गाेरखापत्र





