चार हिमाली जिल्लामा निर्वाचन सामग्री ढुवानी

हुम्ला,२० कात्तिक ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि चारै किसिमका मतपत्र र निर्वाचन सामग्री कर्णालीका चार जिल्लामा ढुवानी भएको छ। सडक यातायात नजोडिएको कर्णालीका हिमाली हुम्ला र डोल्पालगायत जुम्ला र मुगुमा पनि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेतदेखि ती सामग्री र मतपत्र ढुवानी भएका हुन्।
कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले शनिबारसम्म चारवटै हिमाली जिल्लामा मतपत्र र निर्वाचन सामग्री पुगेको बताउनुभयो। उहाँले शुक्रबार बेलुका र शनिबार बिहान डोल्पा र हुम्ला जिल्लामा सेनाको हेलिकोप्टरबाट मतपत्र र निर्वाचन सामग्री पुगेपछि सडक यातायात सहज नभएका सबै जिल्लामा पुगेको जनाए । विशेष गरी यी दुई जिल्लामा मतपत्र पुगेपछि अब सहज भएको जानकारी दिए ।

यसअघि जुम्ला र मुगु जिल्लाका लागि पनि हेलिकोप्टरबाट मतपत्र र निर्वाचन सामग्री ढुवानी भइसकेको छ। उहाँले पैदेशका अन्य छवटा जिल्ला कालीकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम र सुर्खेतमा पैदल मार्गबाट ती सामग्री गाडीबाट पठाइएको बताए । निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र र ५८ प्रकारका सामग्री प्रदेशका सबै जिल्लामा पुग्ने पुगिसकेपछि निर्वाचनको तयारी करिब करिब पूरा भएको उहाँको भनाइ छ। प्रदेशका हिमाली जिल्लामा हेलिकोप्टर चार्टर गरेर मतपत्र पु–याइएको छ।
यसैबीच हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकृत श्यामबहादुर रानाले निर्वाचनका लागि आवश्यक पर्ने १५० पेटी मतपत्र र ४३ प्रकारमा निर्वाचन प्रयोजनका सामग्री जिल्लामा आइपुगेको जानकारी दिए । उनले सबै प्रकारका मतपत्र मुख्य निर्वाचन अधिकृत र निर्वाचन सामग्री निर्वाचन कार्यालयमा राख्ने व्यवस्था मिलाइएको जानकारी दिए । यसअघि नेपालगञ्जबाट हवाई जहाजबाट मतदान शिक्षासम्बन्धी सामग्री जिल्लामा आएको र हाल मतदाता शिक्षा कार्यक्रम जिल्लाका ४४ वटै वडामा लागू भइसकेको छ।
गोरखापत्र






