युग पुरुष नारायण गोपाल

सुर्खेत,१९ मंसिर ।

यो सम्झिने मन छ म बिर्सुं कसोरी तिमी नै भनिदेउ हे जाने निठुरी… ।

कुनैबेला सुगम संगीत कार्यक्रममा अत्याधिक श्रोताबाट फर्माइस हुने गीतहरु मध्ये नारायण गोपालको स्वरमा बज्ने एउटा गीत हो यो । देशमा जतिबेला टेलिभिजन थिएन । जतिबेला मोबाइल फोन, नेट इन्टरनेट, वाइफाइ जस्ता शब्दावली पनि सायद कसैलाई थाहा थिएन ।

त्यति बेला सूचना, समाचार, चेतना जागरण र मनोरञ्जन सबैको एउटै साधन थियो रेडियो नेपाल । रेडियो नेपाल र नारायण गोपाल एक अर्काका पूरक जस्तै मानिन्थे त्यस बखत । रेडियो नेपालबाट बज्ने सुगम संगीतका गीत सबै उत्कृष्ट थिए तर नारायण गोपालका गीतमा नै हुरुक्क हुन्थे सारा श्रोता ।

ऊनी गायक मात्र थिएनन्, संगीतमा गहिरो चेतना भएका संगीतकार पनि थिए, गीत कवितामा अक्षर शब्द शब्दको शक्ति छाम्ने र बुझ्ने सामर्थ्य भएका साहित्यकार पनि थिए । क्षेणिक चल्ने सस्ता गीतमा उनले कहिल्यै रुचि लिएनन् । चलचित्रका समेत गरेर संख्यामा लगभग एकसय ४० वटा गीत गाए , ती गीतका आयतन उचाइ र गहिराईमा जान भेटाउन र पुग्न सक्ने सामर्थ्य कसैको देखिदैन ।

नारायण गोपालको संगतमा भिजेका वरिष्ठ साहित्यकार तथा सर्जक प्रकाश सायमीका अनुसार आधुनिक गीतमा नारायण गोपाल बिनाको सुगम संगीत पूर्ण हुनै सक्दैन त्यसैले संगीत क्षेत्रमा ऊनी एउटा युग पुरुष हुन, नारायण गोपाल अघिको समय र नारायण गोपाल पछिको समय भनि भविष्यले सांगीतिक फाँटको युगलाई दुई कालमा विभाजन गर्ने छ ।

त्यतिबेला सर्जक सबैले समय लगाएर सिर्जना गर्थे, तब त्यो बलिरहन्थ्यो उज्यालो छरिरहन्थ्यो चीरकाल सम्म । संगीतका धरोहर नारायण गोपाललाई आदर्श मान्ने र उनका गीतबाट प्रेरणा लिने कुनै गायकहरु गीतको नजिक नजिक पुग्छन् उस्तै उस्तै गाउँछन तर दुरुस्तै गाउन कसैको पनि स्वर पुग्दैन, कण्ठ नलिले साथ दिदैन ।

त्यसैले गायकीमा स्वर नै उनको बरदान हो । धर्तीमा उनी गाउनैका लागि जन्मेका हुन् । नारायण गोपालको आवाजमा गीत रेकर्डिङ गराउन सर्जक हरु लालयित हुन्थे, तँछाडमछाड गर्थे मरि मेट्थे । किनकि उनले गाएको गीत शिखरमा पुग्थ्यो सदाबहार हुन्थ्यो ।

कवि सिध्दीचरण श्रेष्ठको त्यही गीत पहिला पनि कोही कसैले गाइसकेका थिए । त्यसमा जब आफ्नो मौलिकता हालेर नारायण गोपाल चिच्याए– मेरो प्यारो ओखलढुंगा मेरो प्यारो ओखलढुंगा …। तब सिद्धिचरण श्रेष्ठ जुरुक्क चर्चाको आकाशमा उचालिए ।

ओखलढुंगा जिल्लाको पहिचान देशैभरी फिजारियो, त्यस्तो ताकत थियो स्वरसम्राटको गायकीमा । शाब्दिक आभासले मानवीय समवेदनालाई मुसार्न पुग्छन् उनका साहित्यिक गीतहरू । प्राज्ञिक चेतनाका गायक भएकाले उनी शब्दको गहिराईमा चुर्लुम्म डुब्थे ।

उनका तमाम गीतमा संगीत भरेका वरिष्ठ संगीतकार दीपक जंगमका अनुसार नारायण गोपालको आवाजमा गीत रेकर्डिङ गराउनका लागि दरबारबाट दीपकलाई खबर आयो । गीतका लागि संगीतको प्रशस्त ताल र धुन बनाएर सुनाउँदै राजी गराउन प्रयत्न गरे ।

टेर्दै नटेरे पछि जंगम, नारायण गोपालकी श्रीमतीसँग गुहार माग्न पुगे । आफ्नी जीवनसँगिनी समेतको अनुरोध नकार्न नसकी उनले बल्ल दरबारको त्यो गीत गाए । केही बर्षको अन्तराल पछि सुर्खेतको विशेष कार्यक्रममा नारायण गोपालले अरु गीतसँग दरबारको त्यो गीत पनि गाए, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा…… ।

हरेक गीतमा संवेदना छ, स्वरको भाव यस्तो लाग्छ मानौं आँखाभरी आँसु भरेर कर्महारा कोही दुखियाले एकान्तमा मन फुकाइ मर्म गाइरहेको छ । यो गीत सकिएपछि आफ्नो मन थाम्न नसकी गीतकार चाँदनी शाह उठेर हात जोड्दै नारायण गोपालका सामु पुगि भन्छिन्, “यो गीत गाएर तपाईंले मेरो चर्चा शिखरमा पु¥याउनु भएको छ, म अति कृतज्ञ छु।“

उनी कवियत्री चाँदनी शाह मात्र थिइनन् गद्दीसिन राजाकी रानी ऐश्वर्य शाह पनि थिइन् । त्यसपछि उनको गायकीको चर्चा र महत्त्व राज्य स्तरमा पनि चल्न थाल्यो तर उनले कसैप्रती लगाव झुकाव र प्रवाह राखेनन् ।तब सन्की अटेरी र अन्तरमुखी स्वभावका घमण्डी व्यक्ति हुन कि भन्ने पनि बुझिन आउँछ ।

छुस्की चाकडी चाप्लुसी पटक्कै मन नपराउने नारायण गोपालमा आफ्नै चुलिदो लोकप्रियता र चर्चालाई पनि महत्त्व नदिने प्रवृत्ति देखिन्छ । स्वरसम्राटको उपाधी पनि उनलाई हजम भैरहेको थिएन । राष्ट्रिय नाचघरमा दस बर्षसम्म नारायण गोपालको सामिप्यमा रहेर काम गरेका वरिष्ठ मादलवादक तथा सुर्खेती रंगकर्मका शिर्ष पुरुष प्रेमदेव गिरीका अनुसार गीत संगीतमा अद्वितीय क्षमता हुँदाहुँदै पनि नारायण गोपाल नियमित अभ्यास र साधनमा लिप्त हुने गरेको पाइएन ।

कामको गुणस्तरमा ध्यान दिने, निकै परिश्रम गर्ने र काम सकिएपछि फेरि सेलाउने प्रवृति थियो । त्यसो हुँदाहुँदै पनि कहिलेकाहीँ अभ्यासमा लामो समय खर्च गर्ने गरेको पनि देखिन्थ्यो । कसैको सल्लाह सुझावमा त्यति रुचि नलिने आफ्नो मुड अनुसार चल्ने र बुझ्न नसकिने स्वभाव थियो ।

बाँचुन्जेल आफ्नो मेहनत र कर्म बाहेक दुनियाँसँग कुनै लिनु दिनु नभए पछि स्वाभिमानका धनीहरु प्राय सन्की र घमण्डी स्वभावका झैं हुँदारहेछन् । गीत छनोटमा कसैसँग सम्झौता नगर्ने असल बानीले गर्दा आफ्ना विपक्षी र केही विरोधीहरुलाई पनि उनको बेजोड स्वर र अपरिमेय आवाजको गुरुत्वले खिचेर तरल पारिदिंदो रहेछ।

मेहनतमा उनी कति डुब्थे भन्ने एउटा अनौठो घटना छ । आफुले दिएको गीत कस्तो बन्दैहोला भनी बुझ्नका लागि सोध्दै खोज्दै एकदिन नारायण गोपालको घर गएछन राष्ट्रकवि स्वर्गीय माधव घिमिरे । त्यहाँ उनी भेटिएनन्, कहाँ गएछन् त ? लमजुङतिर । किन गएछन ? त्यही गीतको लागि मर्स्याङ् दी नदिको सुसाहट सुन्न ।

अचम्मित भएर फर्केछन घिमिरे । अर्को कुनै एक दिन बिहानीपख आफ्नै आँगनमा चिया खाइरहदा एकाएक रेडियोमा उनकै गीत पो बजेछ – आजै र राति के देखेँ सपना मै मरि गएको, बतास बिना हाँगाको फूल भूइं झरी गएको । मर्स्याङ्दी नदि नरमाइलो सुसाइ रहेको, कहाँ हो कहाँ बादल भित्र म रोइ रहेको…. । घिमिरे किन आश्चर्य चकित परेछन भने, आफ्नो गीत त्यति राम्रो बन्ला भनेर पटक्कै सोचेका रहेनछन् ।

मर्स् याङ्दीको सुसाहटलाई यहाँ कथ्य र लेख्य शब्दबाट उजागर गर्नै सकिदैन, त्यो त आफ्नै आत्माले अनुभूत गर्ने हो । त्यसैका लागि सुन्नु परेको थियो मर्स्याङ्दि नदिको सुसाहट किनकि सांगीतिक इतिहासमा एउटा अमर गीत जो तयार हुनु थियो । हाम्रो समाजका गीतहरु यस्ता हुन्छन, कुनै कालखण्डमा चर्चाको शिखरमा पुग्छन् विस्तारै ओर्लन्छन,ओझेल पर्छन। ओझेल परेका गीतलाई फेरि केही नयाँ गीतले उछिन्छ्न छोपिदिन्छन पुरिदिन्छन।

तर नारायण गोपालका गीतहरु कहिल्यै पुराना हुँदैनन् र उचाइलाई पनि कसैले भेटाउदैनन, किनकि त्यो गीत मात्रै नभएर साहित्यको एउटा भण्डार हो । जहाँ शब्द र भावसँग अत्यन्त गहिरो आत्मीय सम्बन्ध छ, तब त ती सबै गीतहरु कालजयी छन । उ नको जादुमय आवाजमा घन्कने त्यस्ता कालजयी गीत रच्ने सर्जकहरु को हुनन् ?

जसका ओजनदार र गहकिला शब्दले मान्छेको हृदय स्पर्श गर्छन, जसको शब्द शक्तिले मस्तिष्कमा हलचल ल्याउँछन र शब्द गठनले अलौकिक आनन्द दिन्छ्न । साधारण जो कोहीले यस्ता गीत सजिलै लेख्ने सामर्थ्य राख्दैनन् । साहित्यका प्रखर र दिग्गज विद्वानहरुबाट प्रस्फुटन भएका हुन अनमोल ती शब्द मोतीहरु । संगीतका महारथीहरुले अत्यन्त मेहनत पूर्वक उचित संगीत भरेर गीतलाई सशक्त पारिदिएका छन ।

तब मर्मज्ञ शब्द र बेजोड संगीतबाट बनेका शक्तिशाली गीतहरूले श्रोताको मन मस्तिष्कमा अजर अमर बनेर निरन्तर राज गरिरहेका छन।– म त लालीगुराँस भएछु वनैभरी फुलिदिन्छु मनैभरी फुलिदिन्छु। लाइदिने कोही भैदिए सिउँदोभरी फुलिदिन्छु, हेरिदिने कोही भैदिए नानीमा पनि फुलिदिन्छु….।

जसले जीवन गायो, जीवनको मर्म गायो, देश गायो समय गायो नेपाली संगीत आकाशमा गुन्जियो । झरेको पात झैं भयो उजाड मेरो जिन्दगी निभेको दीप झैं भयो उदास मेरो जिन्दगी …। निधारमा स्वरसम्राट नारायण गोपालले आफ्नो भाग्य फेर्न सके या सकेनन् तर संगीतको समय फेरे, एक स्वर्णिम युग स्थापित गरि छोडे ।

बि.सं.१९९६ को असोज १८ गते काठमाण्डौ किलागलमा जन्मेका नारायण गोपाल गुर्वाचार्यले दार्जिलिङकि सुकन्या पेमला लामासँग प्रेम बिबाह गरे तर दाम्पत्य जीवनमा कुनै जायजन्म हुन सकेन । २०४७ मङ्सिर १९ गते मृगौलाका कारण नारायण गोपाल दिवंगत भएपछि पति वियोगको पीडा खेप्दै केही बर्ष एकान्त सम्झनामा विताएर पेमलाले पनि धर्तीबाट बिदा लिइन् ।

नेपालीको मन मस्तिष्कमा बज्ने कर्णप्रिय र मर्मस्पर्शी गीतका झंकार नै उनका सन्तान भएर बाँचिरहेका छन हाम्रो धर्ती आकाशमा । बि.स.२०४७ पछि जन्मेका श्रोताहरुको नारायण गोपालसँग भौतिक संबन्धको कतै कल्पना नै रहन्न तर गीतको माधुर्यताले आत्मीय संबन्ध कायम रहि रहेको छ ।

यो पुस्तालाई समेत मोहित पारेर खिचिरहेका छ्न गीतरुपि साहित्यका ती स्वर्णिम कृतिले । उनका गीत सुनेर कोही तृप्त हुँदैनन्,त्यसैले त हाम्रो मन मनमा संधै सम्मानित छन युग पुरुष स्वरसम्राट नारायण गोपाल । कहिले सम्म रहला यो सम्मान ? जहिलेसम्म पहाडका पाखा पखेरामा फुलिरहन्छन् लाली गुराँस ।

जहिले सम्म सुसाइ रहन्छ मर्स्याङ्दी नदि । जहिले सम्म अविरल बगि रहन्छन कोसी गण्डकी र कर्णाली । ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस….।

युग पुरुष नारायण गोपाल

  संघर्ष र सफलता : अपाङ्गताले  नरोकेको

युग पुरुष नारायण गोपाल

प्रहरीद्वारा घरेलु मदिरामा कडाइ

Leave a comment

Your email address will not be published. Required fields are marked *