संघर्ष र सफलता : अपाङ्गताले  नरोकेको उद्यमशीलता

सिर्जना बुढाथोकी

सुर्खेत,१९ मंसिर ।

दुर्घटनापूर्ण बाल्यकालः

जाजरकोटको छेडागाडमा जन्मिएकी म सबै कुरामा पूर्ण भएर जन्मिएकी हुँ । पाँच दाजुभाईकी एकमात्रै बहिनीका रुपमा जन्मिएकी म जन्मेको केहि घण्टामै आगोमा  जल्नुपर्याे । यो मेरो चाहना थिएन न कि मेरी आमाको । तर, दुर्घटना भनौं या दुर्भाग्यवश भएको यो घटनाले मेरा दाँहिने हातका ४ औला जले अनि अरु शरिर जल्न नपाउँदै आमा आइपुगेपछि बाँचे ।

तर म नाबालक भएकैले होला मलाई आफु जन्मदै यस्तै जन्मिए भन्ने लाग्छ । अहिले त सोच अनि व्यवहारमा परिवर्तन नआएको त्यो ठाउँमा ३१ वर्षअघि कस्तो थियो होला । मेरी आमाले म जन्मेको केहिबेरबाटै काम अनि घरधन्दा गर्नुपरेकै कारण म जलेकी हुँ ।

तातो होला भनेर भान्साकोठाको चुलोको छेउमै ओछ्यान्मा छोडेर एकै छिन काममा निस्किएकी मेरी आमा आउँदा म अपाङ्ग भैसकेकी थिएँ । अस्पतालपनि नजिकै नभएका कारण मेरो उपचार जडिबुटीले नै भएछ । तर भगवानको कृपाले म बाँचे र त आज यत्ति गर्न सकेकी छु।

मैले मेरी आमालाई कहिल्यै फुर्सदमा बसेको देखिन् । सधैं एउटै समयमा उठ्ने, भान्सादेखि बाहिरका हरेक काम, छोराछोरीको रेखदेख, गाईवस्तुको ध्यान गरेर आधारातमा सुतेको देखेको छु। छोरीलाई पढाउनु हुँदैन भन्ने सोच भएको ठाउँ अनि परिवेशमा जन्मिएकी म घरव्यवहार, गाईवस्तु र घाँसदाउराका काममा आमालाई सघाउँथे ।

मेरा दाजुभाई भने पढ्न जान्थे । मलाई पनि पढ्ने ठूलो ईच्छा थियो । म पनि साँइलो दाईसंगै विद्यालय जान्थे र बुवालाई कर गरेर म पनि पढ्छु भनेर विद्यालय जान थाले । ६ वर्षको उमेरमा म फेरि अर्को दुर्घटनामा परें । दोश्रो दुर्घटना, भीरबाट लडे र मेरो ढाडमा गम्भिर चोट लाग्यो ।

त्यसपछि म करिब ६ महिना विस्तारामै पल्टिनुपर्ने अवस्था आयो । मेरो ढाडमा अहिले पनि ठूलो खत छ, लडेको घाउको । उपचारपछि निको भएपनि जन्मिदै हातका औला गुमाएँकी म अझ लडेर ढाडमा त्यसरी चोट लाग्दा म अहिले पनि कुनै समय उठ्नै सक्दिन, ढाड दुःखेर ।

तर मेरो समाजले देवीदेउता रिसाएर यसलाई यस्तो भएको, देउता लागेको भनेर मलाई वचन सुनाउँथे । निको भएपछि मैले ९ वर्षको उमेरदेखि फेरि कक्षा तीनमा नाम लेखाएर पढ्न थाले । कक्षा तीनमा मैले अ…आ..ई…इ बाट पढ्न सुरु गरे । त्यसरी पढ्दै गए र मेरो बुवा व्यापारका लागि भन्दै सुर्खेत आउनुभयो ।

सुर्खेतको वीरेन्द्रनगरमा मेरो बुवाले कपडा पसल खोल्नुभयो र दाजुभाई संगै मपनि पढ्नका लागि सुर्खेत आइपुगे । वीरेन्द्रनगर आएपछि मैले पढ्दै जाँदा मैले अमर ज्योति मा.वि नेवारेमा मैले कक्षा १२ पास गरे । त्यसपछि मैले बिहे गरे ।

दुर्घटना र अपांगताको दुर्दान्तः

विवाहपछि मेरो श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जानुभयो । लगानीसम्म ऋण गरेर जानुभएको मेरा श्रीमान् काममा हुँदा दुर्घटनामा पर्नुभयो । दुर्घटनाका कारण मेरो श्रीमान्को हातमा गम्भिर चोट लाग्यो र उहाँले एक वर्षसम्म हस्पिटलमै बस्नुभयो ।

त्यसपछि हल्का हात चल्ने भएपछि नेपाल फर्किनुभयो । आफु  अपाङ्गता भएकै कारण श्रीमानलाई वैदेशिक रोजगारमा कमाउनकाज गर्न पठाएका श्रीमान् त्यसरी उल्टै घाइते भएर रित्तै हात फर्किदा मेरो झनै चिन्ता बढ्यो । हाम्रो एउटा सन्तान छोरा पनि छ तर उसको पनि आँखा कमजोर छ ।

जन्मिदै आँखामा समस्या भएर जन्मिएको मेरो छोराले माइनस ५ को पावर भएको चश्माको सहारा लिइरहेको छ ।  त्यसपछि मैले अब केहि गर्नैपर्छ भनेर कृषि गर्ने योजना बनाएँ ।

कृषिमा प्रवेशः

माइतीमा बस्दै आएकी म सबैसंग मिलेर च्याउ व्यवसाय शुरु गरे । च्याउसंगै सिजनमा तरकारी खेती पनी गर्न थाले । बेर्ना पनि उमारेर बेच्न थाले । शुरुमा हल्का रुपमा गरेको व्यवसायलाई दर्ता गरे तुल्सी कृषि तथा पशुपंक्षी फर्म नामक वीरेन्द्रनगर १२ पदमपुरमा ।

त्यसपछि प्रदेश सरकारको कृषि अनुदानबाट ३२ हजार पहिलो पटक आर्थिक सहयोग पाएँ । त्यसमा आफ्नो लगानीसहित डेढ लाखको लगानी गरेर एउटा टनेल गराएँ । त्यसपछि फेरि कृषि विकास निर्देशनालयबाट ५० हजार रुपैयाँ अनुदानस्वरुपको आर्थिक सहयोग पाएँ ।

त्यसमा आप्नो पनि लगानी थपेर मैले ३ वटा टनेल बनाए र व्यवसाय अगाडि बढाउँदै लगें । त्यसपछि फेरि कृर्षि विकास निर्देशनालयबाट एक लाख रुपैया पाएँ, अनुदानमै । अहिले मैले मेसिन, ड्रम, ६ वटा टनेल राखेर दुई कठ्ठामा च्याउ खेती गरिरहेकी छु।

गर्मीको समयमा २० देखि २२ दिनमा च्याउ खाने हुन्छ भने चिसोको समयमा ४५ दिनभित्रमा खानका लागि तयार हुन्छ । मैले च्याउसहित १२ कठ्ठा जग्गा लिजमा लिएर धानपनि लगाउँछु वर्षामा । त्यसपछि हिउँदका समयमा हुने तरकारी पनि लगाएर बेच्ने गरेको छु।

मेरो माइतीका ५ दाजु, ५ भाउजू, मेरो श्रीमान् सबैले मलाई सहयोग गरिरहनुभएको छ । बिहानै स्कुटीमा राखेर तरकारी बेच्न जान्छौ मेरो परिवारका दुई जना । पालै पालो जान्छौ बजारभरी घर घरमा तरकारी बेच्नका लागि । च्याउबाट एक सिजनमा एकलाख खर्च कटाएर डेढलाख चोख्खै आम्दानी हुन्छ एउटा टनेलबाट ।

एउटा टनेलमा वर्षमा ३ पटक च्याउको खेती हुन्छ । ९ लाख त एक सिजनमा कमाई हुन्छ हाम्रो । अहिले मेरो माइतीको मलाई काममा सघाउनु हुने दाजुभाउजू, छोराछोरी, भदाभदैनी सबै जनाको खान, लत्ताकपडा, विद्युत, पानी, घरखर्च, औषधीउपचार सबै मैलेनै हेरीरहेको छु।

अपाङ्गताले छेकेन काम गर्नः

अपाङ्गता भएकै कारण हामीले हेपिने र मागेर खाने, अर्काको भरमापर्ने जस्ता कारणले पनि समस्या झन् बढेको अनुभूति हुन्छ मलाई । किनकी हामी कुन किसिमको समस्यामा छौ त्यो भन्दा बाँकी काम त गर्न सक्छौ नि । शारिरीक रुपमा अपाङ्गता भएका नागरिक त भयौ तर हामी मानसिक रुपमा हुनुहँुदैन भन्ने लाग्छ मलाई ।

म र मेरो श्रीमान् शारिरीक रुपमै अपाङ्गता भएका भयौ तर हामीले कृषि फर्म चलाई रहेका छौ, काम गरिरहेका छौ । अहिले हामी सक्षम भएका छौ । म अपाङ्गता संघसंग पनि आवद्ध छु, महिला तथा बालबालिकाको समस्यामा सहयोगका लागि पनि हिड्छु, फर्मको सबै आम्दानी, खर्च हरेक मैले नै हेर्दै आईरहेको छु।

कामसंगै मैले मलाई सघाउने मेरो परिवारलाई हरेक समस्यामा सहायता गरिरहेकी छु। मैले बाहिरको मान्छे राख्नुपर्ने अवस्था छैन मेरो धेरै ठूलो परिवार भएकाले हामी साथमा रमाएर काम गरिरहेका छौ । मैले आजसम्म मेरा दाजुभाउजुको मन दुखाएको छैन र त आज १५ वर्ष भयो म माइतीमा अटाएकी छु।

आत्मनिर्भरताका लागि भावी योजनाः

मैले मेरो फर्मलाई अगाडि बढाएउन अब थप योजनापनि बनाएकी छु। अब १० कठ्ठा जग्गा लिजमा लिएर लोकल कुखुरा पालनका लागि तयारी गरिरहेकी छु। मैले अब लोकल कुखुरा पालेर अण्डा उत्पादन गर्दै अण्डामा पनि हाम्रो वीरेन्द्रनगर हुँदै पूरै कर्णालीलाई आत्मनिर्भर बनाउन लागि पर्छु।

हाम्रो मुख्य समस्या भनेको बजारको समस्या हो । बजारमा माग धेरै छ तर उत्पादक र उपभोक्ताको बीचमा हुने विचौलियाका कारण हामीले मूल्य र उपभोक्ताले सस्तोमा वस्तु पाउने अवस्था छैन ।

त्यसैले मैले व्यापारका लागि खरिद गर्न आउनेलाई आफ्नो उत्पादन बेच्दिन् ।  म आफै उपभोक्ताको घरघरमा गएर बेच्ने गर्छ । किनकी मैले गरेको मेहेनतको फल र उपभोक्ताले पाउनुपर्ने सहुलियत विचौलियाका लागि होइन जस्तो लाग्छ मलाई ।

मैले विचौलियालाई २ सयमा बेच्छु भने उसले उपभोक्तालाई ३ सयमा बेच्छ हो यहि घटाउनका लागि मैले उपभोक्तासम्म गएर २ सय ५० मा दिंदा हामी उत्पादक र उपभोक्ताको फाइदा हुन्छ जस्तो लाग्छ मलाई ।  अपाङ्गता भएपनि बलले मात्रै होइन बुद्धिले पनि काम गर्न सकिन्छ भन्ने लाग्छ । जसको उदाहरणका लागि अझै धेरै गर्नु छ मलाई ।

  संघर्ष  र सफलता  : अपाङ्गताले  नरोकेको उद्यमशीलता

बाँकेमा बेपत्ता दुईको शव फेला

  संघर्ष  र सफलता  : अपाङ्गताले  नरोकेको उद्यमशीलता

युग पुरुष नारायण गोपाल

Leave a comment

Your email address will not be published. Required fields are marked *