हिमपातले कर्मचारी खटाउन चुनौती

डोल्पा, १८ कात्तिक ।

हिमपातले बाटो अवरुद्ध भएका उपल्लो डोल्पाका विभिन्न मतदान केन्द्रमा मतदान कर्मचारी खटाउन निकै चुनौती भएको छ ।  असोजको अन्तिम साताको वर्षासँगै भएको हिमपातले अवरुद्ध सडक नाका अझै खुल्न सकेको छैन।

मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीका अनुसार माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुन्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिकाको तिन्जे, छार्काताङसोङ गाउँपालिकाको छार्कामा पर्ने मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था नभईकन मतदान कर्मचारी पठाउन सकिने अवस्था छैन ।

उपल्लो डोल्पामा पर्ने तीनवटा गाउँपालिकामा रहेका मतदान केन्द्रमा पुग्न सदरमुकाम दुनैदेखि पैदल हिँड्दा एक साता लाग्छ। माथिल्लो डोल्पाका मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाउन सम्बन्धित निकायमा हेलिकोप्टरको व्यवस्था गर्न खबर पठाइसकिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताउनुभयो।

यसैबीच उपल्लो डोल्पामा रहेका ३० वटा मतदान केन्द्र सुरक्षा दृष्टिकोणले अत्यन्तै संवेदनशील भएकाले सुरक्षा व्यवस्थालाई बलियो बनाउन जिल्ला सुरक्षा समितिमा छलफल भइरहेको निर्वाचन अधिकृत सुवेदीले बताए ।

उत्तरी सीमामा चीनसँग जोडिएका उपल्लो डोल्पाका केही मतदान केन्द्रमा विगतका निर्वाचनका बेला मतदाता आफूले मतदान गर्न नपाउने तथा वारेसमा एक÷दुई जनाले मात्र मतदान गर्ने गरेको बताइन्छ। सो घटनालाई रोक्न निर्वाचन टोलीले गम्भीर रूपमा विश्लेषण गरिरहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए ।

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि डोल्पामा ६६ वटा स्थायी र दुईवटा अस्थायी गरेर ६८ वटा मतदान केन्द्र छन्। डोल्पामा मतदाता सङ्ख्या २२ हजार ७७४ छ। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्नका लागि डोल्पामा चार सय जना कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

गोरखापत्र

हिमपातले कर्मचारी खटाउन चुनौती

YUGAAWHAN NATIONAL DAILY (2079-07-18)

हिमपातले कर्मचारी खटाउन चुनौती

मार्सीधानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!