दशैं बिदामा पनि लिमीका विद्यालय सञ्चालन

हुुम्ला,१७ असोज ।
गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका सामुदायिक विद्यालयमा दशैं बिदामा पनि पढाइ सुचारु रहेको छ । बौद्ध धर्मावलम्बी लामा समुदायको बसोबास हुने लिमीमा दशैं नमान्ने भएका कारण गाउँवासीको निर्णय अनुसार दशैंमा पनि विद्यालय सुचारु राखिएको हो ।
लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालयका निजी श्रोतका शिक्षक छिरिङ मिण्टा तामाङले दशैं बिदामा विद्यालयमा पढाइ भई रहेको बताए । लिमी बाहेकका अन्य १४९ विद्यालयमा असोज १० गतेबाट दशैं बिदा भई सकेको छन् ।

उनले गाउँवासीको साझा निर्णय अनुसार विद्यालय सुचारु राखिएको बताए । उक्त विद्यालयमा कक्षा पाँचसम्म अध्ययन हुँदै आएको र ४२ जना विद्यार्थीहरू छन् । निजी र सरकारी गरी विद्यालयमा सात जना शिक्षक रहे पनि तीन जना दरबन्दीका शिक्षक भने दशैं बिदामा घर जानु भएको छ । चार जना निजी श्रोतका शिक्षकहरूबाट विद्यालयमा पठन पाठन कार्य भई रहेको हो ।
लिमीकै अर्को गाउँ हल्जीको भृकुटी आधारभूत विद्यालयका शिक्षक फुर्वा तण्डुत तामाङले पनि विद्यालय हाल सुचारु रहेको बताए । उनि पनि निजी श्रोतको शिक्षक हुन । उक्त विद्यालयमा पनि दरबन्दीका सरकारी शिक्षक बिदामा गएका छन् । सो विद्यालयमा १२ जना विद्यार्थी छन् ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले गाउँमा दशैं नमनाउने भएका कारण विद्यालय बन्द नगरिएको बताए । उक्त गाउँमा सबै घरधुरी बौद्ध धर्मालम्बीहरुको बसोबास रहेको छ । उनले चाड नै नमान्ने भएका कारण विद्यालय बन्द गरेर पठन पाठन नगर्नु भन्दा दुबै गाउँवासीको सामूहिक निर्णय गरेर विद्यालय सञ्चालन गरिएको बताए ।
उनले लिमीका विद्यालयमा अन्य सार्वजनिक बिदामा पनि पढाई हुने गरेको बताउदै उवा बाली छर्ने र थन्क्याउने समयमा मात्र पन्ध्र÷पन्ध्र दिन विद्यालय बन्द गर्ने गरिएको बताए । लोसारमा भने तीन दिन ती विद्यालयहरू बन्द गर्ने गरिएको छ ।
लिमीका यी विद्यालयमा हिउँदको समय गरी निजी श्रोतका शिक्षकले वर्षमा एघार महिना पठन पाठन गर्ने गर्छन् । जब कि जिल्लाका अरू विद्यालयहरू हिमाली जिल्ला भएको कारण पुस पन्ध्रदेखी फागुन १ गतेसम्म हिउँदे बिदा गर्ने गरिन्छ । लिमीमा ऐन भन्दा खोलाको चैन ठूलो भन्ने मान्यतामा चल्ने गाउँ हुन ।
गोरखापत्र






