मालिकाको ड्रागन फुट उत्पादन तथा विक्रि सुरु

सुर्खेत, १९ असार ।
वीरेन्द्रनगर–१२ नेवारेमा रहेको मालिका कृषि तथा ड्रागन फुड फर्मले व्यवसायीक उत्पादन सुरु गरेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक व्यवसायीक ड्रागन फ्रुटको उत्पादन सुरु भएको छ ।

एक वर्ष अघिदेखी शुरु गरिएको फर्मले उत्पादन गरेको ड्रागन फ्रुट बजारमा पठाउन थालिएको छ । असार महिनाबाट उत्पादन बजार पठाउन थालिएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले फर्मले सञ्चालन गरेको ड्रागन फ्रुट फर्मको निरीक्षण गरी उत्पादनको शनिवार उद्घाटन गरेका छन् ।
फर्ममा पुगेका मन्त्री शाहीले यस्तै पौरखी व्यक्तिहरुका कारण कृषि क्षेत्र व्यवसायीक हुने बताएका छन् । उनले ड्रागन फ्रुट उत्पादनपछि विक्रीको समस्या नहुने तर समस्या भएमा सरकारले सहजिकरण गरिदिने आश्वासन दिएर फर्केका छन् ।

हालसम्म एक कुण्डल ड्रागन फ्रुट विक्री गरिएको सञ्चालक पद्मा रावत बुढाले जानकारी दिइन् । ‘सुरुवातीमा उत्पादन भएको ड्रागन विक्रीका लागि बजार खोजिराख्नु परेको छैन्, फर्मबाटै विक्री भइरहेको छ,’ बुढाले भनिन्, ‘उत्पादन वृद्धि भएमा बाहिर लैजानु पर्ने अवस्था छैन, तर बजारसम्म लैजानु पर्ने अवस्था आएमा त्यसको तयारी पनि गरिरहेका छौं ।’

बुढाका श्रीमान वीरबहादुर बुढाले दुई वर्षअघि नै ड्रागन फ्रुट खेतीको विरुवा ल्याउन भारत गएको बेला कोराना संक्रमणभई उपचारको क्रममा निधन भएको थियो । श्रीमान् वीरबहादुरको निधन भएपछि फर्म सञ्चालनको जिम्मेवारी पद्माले सम्हालिरहेकी छन् । करिव ७० लाखको एकल लगानीमा भाडाको २८ कठ्ठा जमिनमा फर्मले ड्रागन फ्रुटको खेती गरेको हो ।
‘भारतको गुजरातबाट ल्याइएर लगाइएको बेर्नाले व्यवसायीक उत्पादन दिन थालेको छ,’ बुढाले भनिन्, ‘यसलाई व्यवसायीक बनाउन लागिपरेको छु ।’ ड्रागन फ्रुटले वर्षमा चार पटक उत्पादन दिन्छ । एक सिजनमाप्रति बोटले न्यूनतम पाँच केजीका दरले १३ हजार केजी उत्पादन दिने अपेक्षा फर्म सञ्चालक बुढाको छ ।

एक सिजनमा १३ हजारका दरले वर्षमा ५२ हजार किलो ड्रागन फ्रुट उत्पादन हुनेमा अनुमान गरिएको छ । ड्रागन फ्रुटको प्रति केजी आठ सय रुपैयाँमा बजारमा विक्रि भैरहेकोछ । भाडाको जग्गामा हाल दुई हजार ६ सय ड्रागन फ्रुट लगाइएको छ । ड्रागन फ्रुट बिक्रीसँगै विरुवा पनि विक्री गर्ने फर्मको लक्ष्य रहेको बुढाको भनाई छ । एक पटक लगाइएको ड्रागन फ्रुटले १५ देखी २० बर्षसम्म उत्पादन दिने गरेको छ ।







राजु चाैधरी
04th Jul 2022उत्पादन गर्न सफल भएकाेमा बढाइ छ । तर प्रति केजी रू १२०० अत्याधिक महगाे भयाे । जिल्लामा अन्त उत्पादन भएन भनेर कालाबजारी गर्नु पनि त भएन नी । तपाँइकाे उत्पादन कसैले १० दिन नखाइ दिए के हुन्छ ?